क्रिकेट छोडेर हिरो बन्न हिँडेका अमृत जो क्यामेराको फ्रेममै अटाएनन्

क्रिकेट छोडेर हिरो बन्न हिँडेका अमृत जो क्यामेराको फ्रेममै अटाएनन्
तस्बिर : कृष्पा श्रेष्ठ

धरान बजारमा जन्मिएका अमृत ढुंगाना सानैदेखि क्रिकेट खेल्थे। आफूसरहका अरू खेलाडीको तुलनामा उनी राम्रै पनि खेल्थे। खेल्दै-जित्दै जाँदा क्षेत्रीय स्तरको क्रिकेट खेलाडी बनिसकेका थिए अमृत।

अन्डर-१९ क्रिकेट छनोटको समयमा उनी सहभागी भएनन्। उनका धेरै साथीहरू अन्डर-१९ टिममा छनोट भए। स्थानीय रेडियो र पत्रपत्रिकामा साथीहरूको नाम बज्न थाल्यो। क्रिकेट खेल्न छाडेकोमा अमृतलाई सुरुमा त नरमाइलो लाग्यो। तर मन बुझाए, मेरो पनि अवश्य दिन आउने छ।

रुचि हुँदाहुँदै पनि उनले क्रिकेट त्याग्नुको एउटै कारण थियो, घामले डढेर कालो भइएला भन्ने डर। सानैदेखि बलिउड र हलिउडको प्रभावमा हुर्केका थिए अमृत। बलिउड र हलिउडका हिरोहरू गोरा, सर्लक्क परेका देखिन्थे।

टेलिभिजनका पर्दामा चिटिक्क परेका कलाकार देख्दा उनको मनमा आफू पनि फिल्मको हिरो बन्छु भन्ने रहर पलायो। दिनभर घाममा दौडधुप गरेर क्रिकेट खेल्दा छाला कालो होला र हिरो नबलुँला भन्ने डर थियो।

नाटक के हो थाहै थिएन

धरानमा केही फिल्म हल बनेका थिए। पढ्नुपर्ने भएकाले हलमा फिल्म हेर्ने साइत खासै जुरेन। त्यसैले अमृतको फिल्म हेर्ने पर्दा टेलिभिजन थियो। भारतीय च्यानलहरूमा हेरेको अभिनयले उनको मनमा हिरो बन्ने चाह पैदा गरिदियो। नेपाली फिल्मको पहुँचमा भने अमृत बाल्यकालमा पुग्न सकेनन्। पुगे पनि उनलाई नेपाली फिल्मले खासै तान्न सकेनन्।

धरानमा अभिनय सिक्ने ठाउँ थिएन। त्यसैले उनको ध्यान जसरी पनि काठमाडौँ हानिने थियो। तर विडम्बना १२ कक्षासम्म उनले धरानमै पढ्नुपर्ने भयो।

अमृतको मनमा १२ कक्षासम्मको पढाइ कहिले सिद्ध्याऊँ र काठमाडौँमा अभिनय सिकौँ भन्ने थियो। धैर्यताका साथ १२ कक्षाको परीक्षा दिए। नतिजा पनि आयो। साथी–सँगी सबै पास भए, उनी मात्रै फेल। कम्प्युटर साइन्स लिएर पढेका अमृतलाई १२ कक्षामा एउटा विषय लाग्यो। जसले गर्दा काठमाडौँ आउन झनै ढिला भयो।

पूरक परीक्षा दिए। तर फेरि पनि कटाउन सकेनन्। अमृत भन्छन्, ‘साथीहरू सबै आ–आफ्नो क्षेत्रतिर लागिसकेका थिए। मेरा लागि सबैभन्दा बोरिङ समय त्यही थियो।’

विषय लागेर दिक्क बनेका बेला उनले नेपाली फिल्म ‘कागबेनी’, ‘लुट’ हेर्ने मौका पाए। यी फिल्मले उनलाई नेपाली फिल्ममा केही गरेर देखाउने हुटहुटी चल्यो।

तेस्रो पटकमा उनले १२ कक्षाबाट छुटकारा पाए। काठमाडौँ आउने र हिरो बन्ने सपनाको नजिक पुगेजस्तो लाग्यो।

अमृत भन्छन्, ‘अभिनय सिक्ने भनेर काठमाडौँ त आएँ तर अब गर्ने के। बाटो नै बिराए जस्तो भयो। यो कुरा परिवारलाई थाहा थिएन।’ त्यसपछि परिवारका सदस्यले गोल्डेनगेट कलेजमा इन्भाइरोमेन्ट साइन्समा भर्ना गरिदिएको उनी सुनाउँछन्।

लामो समयसम्म उनले मेलो–मेसो नै पाएनन्। कलेजमा इन्टर कलेज प्याजेन्ट कार्यक्रमको आयोजना हुने भयो। प्याजेन्टमा अमृतको कुनै चासो थिएन। कलेजका सबैले यो ग्ल्यामर फिल्ड हो भनेपछि उनी पनि सहभागी भए।

त्यही प्याजेन्टमा अमृतले मनोरञ्जन क्षेत्रका केही मानिसलाई भेट्ने मौका पाए। उनीहरूसँग अभिनय सिक्न कहाँ पाइन्छ भनेर सोध्दा सबैले थिएटर देखाए। अमृत भन्छन्, ‘मलाई थिएटर भनेको थाहै थिएन।’

पहिले फिल्म हल मात्र देखेका अमृत अभिनय सिक्ने चक्करमा शिल्पी थिएटरको हल देखेर अचम्ममा परे। त्यो थिएटर फिल्म हलजस्तो चमकधमक थिएन। अँध्यारो, अजीवका चिजबिज भएको थिएटर देखेर अमृतको दिमाग घुम्यो।

सुनिल पोखरेल बने अभिनयका गुरु

अभिनय सिकेरै छाड्ने उनको प्रतिबद्धता थियो। त्यसैले शिल्पीमा अभिनय सिक्नेबारे सोधपुछ गरे। तर उनी ढिला पुगेछन्। कक्षा सुरु भइसकेको र नयाँ कक्षाका लागि ६ महिना पर्खनुपर्ने थिएटर सञ्चालकले जानकारी दिए। अरू ठाउँ कहाँ छ अभिनय सिक्ने भन्दा उनलाई मण्डला थिएटर पठाइयो।

अनामनगरमा भएको मण्डला पुग्दा त्यहाँ नाटक चलिरहेको रहेछ। ‘नाटकको कक्षा केही महिनापछि मात्रै सुरु हुन्छ। बरु नाटक हेर्न आउनुहोस्,’ मण्डलाले उनलाई निम्तो दियो।

अजीवको चिज हेर्न जान मनले मानेन। अमृतले भने, ‘मैले सोचेको कुरा थिएटरमा केही थिएन, त्यसैले नाटक हेर्न गइनँ।’

केही महिनापछि उनलाई मण्डलाले फोन गर्यो, अभिनय सिक्ने भए अडिसनमा आऊ। २० देखि २५ जना मात्रै पढ्न पाउने भएकाले अडिसनमा छनोट हुनुपर्ने थियो। उनी मण्डलाको प्राङ्गणमा उभिए।

नाटकका चिरपरिचित पात्र सुनिल पोखरेल लामो समयको विश्रामपछि नाटकमा फर्किएका थिए। उनैले पढाउने भनेपछि थिएटर बुझ्न चाहने, नाटकमा रुचि भएकाहरू सबै आँगनमा थुप्रिएका थिए। मण्डलाको तेस्रो ब्याच भए पनि सुनिल पोखरेलले पढाएको त्यो नै पहिलो ब्याच थियो।

सबै मानिसले सुनिल पोखरेलको खुबै तारिफ गरेको सुने अमृतले। तर उनलाई सुनिल को हुन् थाहै थिएन। भर्खरै ‘कबड्डी’ फिल्म प्रदर्शनमा आएकाले अडिसनमा लिन बसेका राजन खतिवडालाई भने अमृतले चिन्न सके।

अडिसनमा अमृतले स्कुल जान नमान्ने बच्चाको अभिनय गरे। केही प्रश्नको उत्तर पनि दिए।

अडिसनको झन्डै १५ दिनपछि छनोटमा परेको खबर आयो। उनी निकै खुसी भए साथमा दुःखी पनि। किनभने, छनोटमा परेकाले अभिनय सिक्न २० हजार रुपैयाँ खर्च गर्नुपर्थ्यो।

कलेज ड्रेस लगाएर थिएटरतिर

अमृतका अभिभावकलाई छोरो पढाइका अलवा के गरिरहेको छ, थाहा थिएन। उनको ‘हिरो’ बन्ने रुचिबारे परिवार पूर्ण रूपमा अनभिज्ञ थियो।

पढाइ गरिरहेको एउटा विद्यार्थीलाई २० हजार कसरी जुटाउने भन्ने समस्या आइलाग्यो। त्यतिबेला उनी स्नातक पहिलो वर्षका विद्यार्थी थिए।

घरमा अभिनयका लागि पैसा माग्ने वातावरण पनि थिएन। किनभने, नाटकको कक्षा पनि बिहानको समयमा थियो अनि कलेज पनि। उनी काठमाडौँमा सानो ममीको घरमा बस्थे। ‘उहाँहरू अलि कडा हुनुहुन्थ्यो। अभिनय सिक्न लागेको कुरा भन्ने हिम्मतै आएन,’ अमृतले सुनाए।

यो कुरा अमृतले विदेश गएको एक जना साथीलाई सुनाए। पहिलो र दोस्रो किस्ता १०/१० हजारका दरले बुझाउनुपर्ने थियो। साथीले पहिलो किस्ताको पैसा पठाइदियो। अमृत नाटकको विद्यार्थी बने।

अमृत बिहान घरबाट कलेजको ड्रेस लगाएर निस्कन्थे। झोलामा किताबको सट्टा नाटक सिक्दा लगाउने कपडा हुन्थ्यो। नाटकको कक्षा सकिएपछि फेरि उनी कलेजको ड्रेस लगाउँथे र कलेज छुट्ने समय मिलाएर घर पुग्थे।

यसरी अमृतले स्नातक दोस्रो वर्षको परीक्षा कलेज नगएरै दिए। वर्षभरि कलेज नगए पनि यो कुरा उनको परिवारले कानोकान खबर पाएन। निजी कलेज भए पनि गोल्डेनगेटले कक्षामा अनुपस्थित भएको कुरा परिवारलाई सुनाइदिएन। उनले कलेजको कडा नियम नहुनुको भरपुर फाइदा उठाए।

खोला हल्लाउन पाउँदा खुबै गरेँ जस्तो लाग्यो

नाटकको कक्षा सकियो। लगत्तै दसैँ पनि आयो। दसैँ मनाउन अमृत धरान गए। दसैँ लगत्तै विद्यार्थीले प्रस्तुत गर्ने नाटक ‘जार’ को रिहर्सल थियो। तर उनको कलेज तिहारसम्म बिदा थियो। उनलाई फसाद पार्यो।

अमृतले नाटक सिकिरहेको कुरा घरमा थाहा नदिएकोबारे गुरु सुनिल पोखरेलले थाहा पाएका थिए। उनैले घरमा जसरी पनि भन्नुपर्छ भनेर दबाब दिइरहेका थिए। त्यसैले अमृतले घरमा फोन लगाएर बाबुको कुराकानी सुनिल पोखरेलसँग गराइदिए।

अमृतले भने, ‘सुनिल सरले केटाको इन्ट्रेस्ट छ, राम्रो गर्छ भनेर अलि बढी नै प्रशंसा गरेर बाबालाई भनिदिनुभयो। परिवारका मानिस छाँगाबाट खसेजस्तै हुनुभयो।’

परिवारले सजिलै अमृतको हिरो बन्ने चाहना स्वीकार गर्यो। उनले भने, ‘मेरो परिवारले स्वीकार गर्छ भन्ने थाहा थियो। तर भन्न मात्रै सकिरहेको थिइनँ।’

जार नाटकमा अमृतको भूमिका एउटा पासिङ सिन र खोला हल्लाउने थियो। एउटा मात्रै संवाद थियो। धेरै खोला हल्लाउने काम नै थियो। ‘त्यही खोला हल्लाउन पाउँदा पनि आफूले खुबै गरेँ भन्ने भएको थियो,’ अमृतले हाँस्दै भने, ‘नाटकबारे केही थाहा नपाएको मान्छेले धेरै कुरा थाहा पाउँदा म त ठुलो मान्छे भएँ भन्ने लाग्दो रहेछ। खोला हल्लाउने काम गर्दा केके न गरिरहेको छु जस्तो भयो।’

अमृतका सहपाठी थिए, लक्ष्मी बर्देवा, अनुपम शर्मा, केनिपा सिंह, विजया कार्की, अंकित खड्का लगायत कलाकार। साइकोलोजीका डाक्टरहरू समेत थिएटर बुझ्न आएका थिए। उनीहरूका बीचमा म आफैँ भने कार्टुन जस्तै थिएँ। उनी भन्छन्, ‘म त यो के हो, त्यो के हो भनेर हरेक कुरा सोधिरहन्थे। अरू सबै जान्ने थिए।’

भाग्यले साथ दियो

विद्यार्थीले बनाएको पहिलो नाटक ‘जार’ खुब चल्यो। त्यसपछि दोस्रो नाटकमा काम गर्ने मौका पाए अमृतले, ‘कोही किन बरबाद होस्’।

दोस्रो नाटकमा उनले शम्भु सरको भूमिका निभाए। उक्त नाटकमा सुनिल पोखरेलसँगै रंगमञ्च पनि बाँड्न पाए। गुरुकुल बन्द भएको लामो समयपछि सुनिल पोखरेल रंगमञ्चमा त्यही नाटकमार्फत फर्किएका थिए। त्यसैले पनि त्यो नाटक सबैका लागि विशेष थियो।

पहिलो नाटक जति नै चले पनि पत्रपत्रिकाले अमृतको नाम लेखेन। ‘लगायत अन्य कलाकारहरू’ मा पर्थे उनी। तर दोस्रो नाटकमा भने अमृतको पनि नाम आउन थाल्यो, पोखरेलसँगै विजय बराल, अमृत ढुंगाना लगायत अन्य कलाकारहरू।’

‘कतिपय पत्रिकाले भने अमृत मात्रै लेखिदिन्थे, थर लेख्दैनथे। अरूले थाहा नपाए पनि अमृत भनेको मैँ हुँ भनेर मक्ख पर्थेँ,’ उनले सुनाए।

नामको सन्दर्भ अलि लामै व्याख्या गरे अमृतले। म्युजिक भिडियो, फिल्म लगायतमा मुख्य कलाकारको मात्रै नाम लेख्दा फरक पर्दैन। अन्य कलाकारको तुलनामा मुख्य कलाकारले नै धेरै मिहिनेत गरेको हुन्छ। तर नाटकमा भने मुख्य कलाकार मात्रै हैन, खोला हल्लाउनेले पनि उत्तिकै मिहिनेत गरेको हुन्छ, जति मुख्य भूमिकाको मानिसले गरेको हुन्छ।

दोस्रो नाटकमा पत्रिकामा नाम नै आएपछि झनै उत्साह बढ्यो अमृतको। तेस्रो नाटक सुनिल पोखरेलकै निर्देशनमा ‘प्यालेस अफ म्युजियम’ गरे। त्यहाँ उनको भूमिका पहाड हल्लाउने थियो। ‘सोलो प्रस्तुति भएकाले एक जना मुख्य भूमिकामा र दुई जना पहाड हल्लाउने गरी तीन जना कलाकार थिए। त्यसैले त्यो नाटकपछि पनि पत्रिकामा नाम आएको थियो,’ उनले भने।

क्यामेराको फ्रेममा अटाउन नसक्दा

तेस्रो नाटकपछि अमृत ‘योर स्टाइल’ नामको प्रोडक्सन हाउससँग ठोकिन पुगे। मण्डलामा नाटक सिकेको भन्ने थाहा पाएर नै योर स्टाइलको टोलीले अमृतसँग भेटेको थियो।

फिल्मको हिरो बन्न आएको मान्छे, बल्ल क्यामेरामा अभिनय गर्न पाइँदैछ भनेर उनी खुसी भए। तर त्यहाँ पनि उनको खुसी धेरै समय टिकेन। रंगमञ्चमा सबै आफ्नै जसरी उफ्रिपाफ्री गरेर अभिनय गरेका अमृत क्यामेराको फ्रेममा अटाउन सकेनन्।

अमृतले क्यामेरा त देखेका थिए तर क्यामेरासँगको अभिनय कस्तो हुन्छ थाहा थिएन। पहिलो पटक क्यामेरा फेस गर्दाको अनुभव उनले सुनाए, ‘सिनमा मुख्य पात्र बैंक लुट्न जान्छ। लाइनमा बस्छ बस्छ, तर पालो आउँदा बैंक बन्द हुन्छ।’

थोरै दृश्य मात्रै भएकाले एकै दिन दुई वटा सिन खिच्ने तयारी थियो। अमृतले १५९ फ्रेमको साइजमा आफूलाई राख्नै सकेनन्। निर्देशकले जति बुझाउँदा पनि उनी फ्रेमभन्दा बाहिर पुगिहाल्थे। एक घण्टामा सकिने काम खिच्न पुरै एक दिन लाग्यो।

अर्को दृश्य खिच्ने समयमा निर्देशक रिसाएर हिँडे। ताल न बेतालको कलाकार ल्याएको भन्दै उनी फन्किएका थिए। क्यामेरा मेन भने अमृतको अभिनय सहेर बस्न बाध्य भयो। किनभने ऊ पनि सिकारु थियो।

निर्देशक रिसाएर हिँडेपछि क्यामेरा मेन र अमृत मिलेर अर्को दृश्य पनि खिचे। भोलिपल्टै भिडियो युट्युबमा सार्वजनिक भयो तर त्यसले भ्युज नै कमाउन सकेन।

‘मलाई आफू निकै विद्वान छु भन्ने लागेको थियो,’ अमृतले भने, ‘भिडियो बाहिरिएपछि परिवारबाटै आलोचना आयो। मेरो दिदीले सबैभन्दा बढी आलोचना गर्नुभयो।’

त्यत्रो समय सिकेर पनि केही गर्न सकिनँ जस्तो लाग्यो। त्यो रात निद्रा परेन उनलाई। भोलिपल्ट युट्युब च्यानलका सञ्चालक नितिन चन्दसँग काम सिकाउन आग्रह गरे। नितिन त्यो समयमा म्युजिक भिडियोमा निकै व्यस्त थिए। अमृत नितिनको असिस्टेन्ट भएर काम गर्न थाले।

‘लाइट बोक्नेदेखि म्युजिक भिडियोको स्पिकर बोक्नेसम्मका काम गरेँ,’ उनले त्यो समय सम्झँदै भने, ‘कलाकारले कसरी क्यामेराका लागि अभिनय गर्ने रहेछन् भनेर सिक्ने मौका त्यही समयमा पाएँ।’

अनि भाइरल भएँ

त्यही समयमा योर स्टाइलले एउटा नयाँ कन्सेप्ट ल्यायो, डेटिङ युएन पार्क। यसैमा खेलेको भिडियोले अमृत रातारात भाइरल भए। भिडियो भाइरल हुन थालेपछि पैसा पनि कमाउन थाले।

भिडियो भाइरल बन्ने बित्तिकै उनले सगरमाथा टेलिभिजनमा एउटा शो होस्ट गर्ने मौका पाए, रोड हन्स। अन्य काम पनि तीव्र गतिमा अगाडि बढे। काम सुरु भएको झन्डै एक वर्षमा उनी फिल्म ‘सायद २’ मा अनुबन्ध हुन पुगे।

‘पहिलो पटक फिल्ममा काम पाएपछि उत्साह खुब बढेको थियो,’ अमृत भन्छन्, ‘तर मेरो फिल्म सुरु हुन नपाउँदै अब फिल्म क्षेत्र पाँच वर्षका लागि डुब्यो भन्ने कुरा उठ्न थाल्यो। किनभने, त्यो समयमा भूकम्प गएको थियो।

२०७२ सालको भूकम्पले फिल्म क्षेत्र मात्रै हैन, आफूलाई समेत हतोत्साही बनाएको उनको भनाइ छ। भूकम्प लगत्तै भारतले नाकाबन्दी पनि लगायो। छोटो समयमा फिल्मसम्म पुगे पनि बाधाहरू उनको बाटोमा धेरै आए।

नाकाबन्दीको समयमा पनि काम गर्न भने छाडेनन्। त्यो समयमा पेट्रोल पाइएन। ‘इडिटरको साइडमा बसेर मेरो चौथो भिडियो आफैँले इडिट गरेको थिएँ,’ उनले भने, ‘मसँग अप्सन थिएन।’

सायद २ पछि लगत्तै उनले ‘जय श्री धाम’ फिल्ममा काम गर्ने अवसर पाए।

एक वर्षमा स्नातक पास

यता पढाइ गन्जागोल थियो। सबै कक्षामा विषय लागेर खात परेका थिए। घरमा पढाइलाई निरन्तरता दिन निकै कर गरिरहेका थिए।

अमृतले जयश्री धामको काम सकेपछि आफूलाई एक वर्ष जति फिल्मबाट टाढा बनाए। त्यो बीचमा उनले यति पढे, एकै वर्षमा सबै कक्षामा थुप्रिएका विषयहरू पास गरे। यसरी हेर्दा उनले एक वर्षमै चार वर्षे स्नातक पास गरे।

फेरि फिल्ममा फर्कने वातावरण बनाउँदै गर्दा कोभिड आयो। फिल्म बाहेक अन्य क्षेत्रहरूमा पनि हात हाले उनले। भने, ‘बिर्तामोडमा रेस्टुरेन्ट खोलेको छु। यहाँ पनि साथीहरूसँग मिलेर कपडाको व्यवसाय गर्न लागेको छु। आफैँले निर्देशन गरेर युट्युबका लागि भिडियोहरू बनाइरहेको छु।

यतिबेला अमृत मास्टर्स सेकेन्ड सेमेस्टर अध्ययन गरिरहेका छन्। कमेडी जनरामा काम गरेर भाइरल भए पनि उनको रुचिको क्षेत्र त्यो थिएन। त्यसैले आफ्नै प्रोडक्सन खोलेर मन लागेका काम गरिरहेका छन्। तर उनको हिरो रहर अझै बाँकी छ। अझै हिरो बन्ने सङ्घर्षमै छन् अमृत।

कात्तिक २१, २०७८ आइतबार २०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।