अनलाइन रियालिटी शो ट्यालेन्ट हन्टले पायो तीन विजेता

अनलाइन रियालिटी शो ट्यालेन्ट हन्टले पायो तीन विजेता

काठमाडौँ : अनलाइन रियालिटी शो डिजी पे टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ ले विजेता प्राप्त गरेको छ।

ट्यालेन्ट हन्टमा नौ प्रतिस्पर्धीले बाजी मारेका छन्। १ सय २० प्रतियोगीबिच कडा प्रतिस्पर्धा हुँदै करिब तीन महिनादेखि यो शो सञ्चालन भइरहेको थियो। गायन, अभिनय र नृत्य गरी तीन विधा प्रत्येकबाट तीन–ती नजना विजेता घोषित भएका हुन्।

आयोजकका अनुसार गायन विधातर्फ काठमाडौँ रातोपुलका अभिषेक बराइली विश्वकर्मा प्रमुख विजेता बन्न सफल भएका छन्। दोस्रो मधुमारा विराटनगरकी मनीषा पोखरेल र  माङ्सेबुङ इलामका छोट्लुङ हाङ लिम्बु तेस्रो भए।

अभिनय विधातर्फ काठमाडौँ मैतीदेवीका विनोद चौधरी विजेता भए। जनकपुरका सुदीप पटेलले दोस्रो र काठमाडौँ कालिमाटीका सिद्धार्थ सिंह तेस्रो भए।

नृत्य विधामा दार्चुला खलङ्गाका रमेश तिंकरी विजेता भए। काठमाडौँ जोरपाटीकी रेणुका तामाङ दोस्रो र झापा बिर्तामोडकी मौनता प्रसाईँ तेस्रो भइन्।

तीन वटै विधाका प्रमुख विजेताले भारतस्थित टी सिरिज स्टेज वर्क्स गुहावटीमा काइजेन इन्कका तर्फबाट १० लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार प्रत्येक प्रमुख विजेताले शतप्रतिशत छात्रवृत्ति, दोस्रो स्थान हासिल गर्ने प्रत्येकले ७५ प्रतिशत छात्रवृत्ति र तेस्रो स्थान हासिल गर्ने प्रत्येकले ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन्। विजेताहरूले सङ्गीत, नृत्य वा अभिनय प्रशिक्षणमा छात्रवृत्ति पाउनेछन्। विजेता तथा प्रतिस्पर्धीले उपाधिसँगै प्रायोजकहरूबाट आकर्षक उपहारहरू समेत प्राप्त गर्ने आयोजकको भनाइ छ।

कात्तिक २१, २०७८ आइतबार १९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।