दाजुभाइको मिहिनेतले बनेको उद्योगी घराना ‘आवास ग्रुप’

दाजुभाइको मिहिनेतले बनेको उद्योगी घराना ‘आवास ग्रुप’

बुटवल : स्वदेशमा उद्योग सञ्चालन गरेर अब्बल बनेको उद्योगी घराना हो, ‘आवास ग्रुप’। रुपन्देहीमा विभिन्न स्थानमा ‘आवास ग्रुप’ले १५ वटा उद्योग सञ्चालन गरेको छ।

थैव परिवारका चार दाजुभाइले सुरु गरेको ‘आवास ग्रुप’ ले रोजगारी हजारौं व्यक्तिलाई सिर्जनाका गर्नुका साथै व्यापार घाटा घटाउन सघाइरहेको छ।

०००
वि.सं. २०१४ सालमा स्याङ्जा बिर्घामा ऋषिश्वर थैव कपडाको व्यापार गर्थे। बुबाको कपडा व्यापार देखेर हुर्केका पाँच छोराको मन पनि व्यापारमा गयो। बुबाले गरेको व्यापारलाई ठूलो घराना बनाउने सपना पाँच दाजुभाइ भुवन, यज्ञेश्वर, राजेश, विश्वेश्वर र महेश थैव स्कुले जीवनमै देखे।

ऋषिश्वर २०३७ सालमा गल्याङ झरे। त्यहाँ पनि उही व्यापारलाई निरन्तरता दिए। त्यो बेला माइला छोरा यज्ञेश्वरमा व्यापारको सोच आइसकेको थियो। बुबा र माइला छोराको सल्लाहमा जेठो छोरा भुवन २०४५ सालमा बुटवल झरे।

कपडा व्यापार बुबाले गरे पनि उनले निर्माणजन्य सामग्रीको व्यापार गर्ने भन्दै निर्माण हार्डवेयर सञ्चालन गरे। बुबाको गल्याङमा व्यापार चम्कियो। जेठो छोरा भुवनले बुटवलमा व्यापार सुरु गरे। ऋषिश्वर र माइला छोरा यज्ञेश्वरले बुटवल आएर सामानहरु लैजान्थे।

गल्याङमा भन्दा बुटवलमै व्यापार गरे अझ राम्रो हुने सोचेपछि परिवारै २०५६ सालमा बुटवल झ¥यो। ऋषिश्वरले अमरपथमै थैव वस्त्रालयको नामबाट कपडा पसल नै गर्न थाले भने माइला छोरा नयाँ योजना बनाउँदै व्यापारमा लागे।

त्यसपछि व्यापारका साथै उद्योगमा लगानी गर्ने योजना २०५८ सालमा बन्यो। त्यसपछि ‘आवास ग्रुप’को परिकल्पना गरियो। २०५८ सालमा विश्वेश्वर थैवले भैरहवामा फेन्सी पसल गर्थे। त्यही फेन्सीलाई उद्योगमा विस्तार गर्ने योजना थैव दाजुभाइमा बन्यो। फेन्सीलाई जुत्ता उद्योगमा रुपान्तरण गरेपछि थैव परिवार विधिवत रुपमा व्यापारबाट उद्योग क्षेत्रमा लाग्यो।

ती वर्ष चलेपछि जुत्ता उद्योग बन्द भयो। त्यो बेलासम्म थैव परिवारले केही व्यापारिक क्षेत्रमा लगानी गरिसकेको थियो। २०७० सालपछि भने उद्योग विस्तारमा ‘आवास ग्रुप’ले गति लियो। ‘अहिले हामी चार दाजुभाइले जिम्मेवारी बाँडेर उद्योगहरु चलाइरहेका छौं। दाजुभाइमध्ये काइँला विश्वेश्वरको मृत्यु भएपछि अहिले हामी चार भाइले नै उद्योग हेरिराखेका छौं,’ ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले भने।

अहिले ‘आवास ग्रुप’ अन्तर्गत सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानको नेतृत्व भुवन र राजेशले लिएका छन् भने यज्ञश्वर र महेशले उद्योग सञ्चालन जिम्मेवारी बहन गरेका छन्।

२०६४ सालमा उद्योग क्षेत्रमा प्रवेश गरे पनि ‘आवास ग्रुप’ले २०७० पछि उद्योगमा ह्वात्तै लगानी बढायो। अहिले ‘आवास ग्रुप’ अन्तर्गत आवास आल्मुनियम मणिग्राम, लक्ष्मी स्टिल कोटिहवा, सन फिटिङ औद्योगिक क्षेत्र, ज्याक्वार इन्डष्ट्रिज मणिग्राम, ट्याप्स एण्ड भल्ब मणिग्राम, आवास स्टिल एन्ड फर्निचर भुलही, एभरेष्ट फुड एण्ड बेभरेज कोटिहवा, ज्याक्वार पाइप एण्ड फिटिङस कोटिहवा, मयुर स्टिल इन्डष्ट्रिज भलुही, विलारी टेक्सटायल कोटिहवा, डुंगारी गार्मेट–भुलही, डुंगारी सुज भलुही, ज्याक्वार स्टिल कोटीहवा र मिराज इन्डष्ट्रिज कोटिहवामा सञ्चालन छन्।

त्यस बाहेक व्यापारतर्फ आवास मार्बल, आवास साडी, पञ्चरत्न ट्रेडिङ, आवास इम्पोट हाउस, एमएसआई ट्रेड लिंक सञ्चालनमा रहेका छन्।

प्रबन्ध निर्देशक महेश थैवका अनुसार उद्योगबाट प्राप्त आम्दानी नयाँनयाँ उद्योगमै लगानी भइरहेको छ। ‘जति आम्दानी गर्यो, लगानी बढाइरहेका छौं’, उनले भने। ‘आवास ग्रुप’ले हालसम्म करोडौं रुपैयाँ लगानी उद्योग क्षेत्रमा गरिसकेको छ। ‘लगानी कति छ, यथार्थ छैन, यो पारिवारिक लगानी हो’, ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले भने। थैव दाजुभाइमध्येका कान्छो भाइ महेशले ‘आवास ग्रुप’को नेतृत्त्वमा रहेर काम गरिरहेका छन्।

तिहार लगत्तै थप तीन वटा उद्योग सञ्चालनमा आउने उनले बताए। हालसम्म दुई हजारभन्दा बढीले रोजगारी ‘आवास ग्रुप’ बाट प्राप्त गरेका छन्। ग्रुपका प्रबन्ध निर्देशक महेश थैव उद्योग व्यापारमा मात्र होइन, विभिन्न सामाजिक संघ–संस्थामा रहेर काम गरिरहेका छन्।

रोट्याक्क क्लब अफ बुटवलका पूर्वअध्यक्ष, लायन्स क्लव अफ बुटवलका चार्टर प्रेसिडेन्ट, रुपन्देही उद्योग संघका पूर्वउपाध्यक्ष समेत भइसकेका थैव त्यस बाहेक रोटरी क्लब अफ बुटवल र बुटवल टुडे लगायत विभिन्न संघ–संस्थामा पनि आबद्ध छन्।

‘व्यापार–व्यवसाय मात्र होइन, सामाजिक उत्तरदायित्व बहनलाई जिम्मेवारी ठानेर सामाजिक कार्यमा पनि लागेको छु। यसले मलाई छुट्टै आनन्द दिन्छ,’ उनले भने।

उद्योगमा गुणस्तर प्राप्त
गुणस्तरीय सामानहरु उत्पादन गर्दै आइरहेको ‘आवास ग्रुप’ले सञ्चालन गरेका उद्योगहरुले उत्पादन गर्ने सामान नेपाल गुणस्तर चिह्न प्राप्त तथा आइएसओ सर्टिफाइड छन्। हेल्मेटको गुणस्तर चिह्नको लागि भने निरन्तर प्रयास गरे पनि अहिलेसम्म पाउन सकेका छैनन्।

उद्योगी थैवले आफ्नो उद्योगबाट उत्पादित हेलमेट तथा मोटरसाइकलमा लाग्ने अन्य पार्ट्सहरुको गुणस्तर मापन गरी नेपाल गुणस्तर चिह्न माग्न गुणस्तर तथा नापतौल विभागमा निवेदन दिएको झण्डै एक वर्ष बढी भए पनि केही प्रक्रिया अघि नबढेको बताए।

उत्पादित सामग्रीको नमुना, उत्पादनको विधि, गुणस्तरीयताको परीक्षण प्रमाणसहित विभागमा निवेदन दिए पनि विभागले अहिलेसम्म उत्पादनलाई नेपाल गुणस्तर चिह्न प्रदान नगरेको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारका नाम चलेका उद्योगबाट उत्पादित यति ब्राण्डका हेलमेट र लेगगार्डहरु गुणस्तरमा सजिलै प्रतिस्पर्धा गर्नसक्ने भए पनि त्यसको प्रमाणीकरण हुन नसकेको उद्योगी थैवको गुनासो छ। ‘मन त छ नि मेरा उत्पादनमा पनि नेपाल गणस्तर चिह्न ‘एनएस मार्क’ लागोस्। तर के गर्ने? सरकारसँग मापदण्ड र विधि नै छैन’, उनले भने।

स्वदेशी उद्योग प्रोत्साहन नीति जरुरी
स्वदेशी उद्योगमैत्री नीति तथा कानुन नभए पनि उद्योग क्षेत्रमा पहिलेको समयमा भन्दा अहिले लगानी बढेको छ। यसमा राज्यले उद्योगमैत्री नीति ल्याउन जरुरी रहेको उनले बताए।

कुनै समय बन्द, हड्ताल, चक्काजाम, लोडसेडिङका कारण उद्योग धरासायी बने भने राज्यको झन्झटिलो नीतिले सोचे अनुसारको लगानीका लागि उद्योगीहरू तयार नभएको उनको भनाइ छ।

नेपालमा उत्पादित सामग्रीहरू कम गुणस्तरीय, विदेशी सामग्रीसँग प्रतिस्पर्धा गर्नुपर्दा मूल्यमा फरक पर्ने र बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भएको उनले बताए। ‘कतिपय कच्चा पदार्थको भन्सार दरभन्दा तयारी सामानको भन्सार कम हुँदा नेपाली उद्योगहरू मारमा परेका छन्। यसमा सरकारको ध्यान जानु जरुरी छ’, उनले भने।

उनले सरकारले स्वदेशी ब्राण्डको पहिचान बनाउन स्वदेशी उद्योगीलाई प्रोत्साहन गर्ने नीति ल्याउन जरुरी रहेको समेत बताए।

तेस्रो पुस्ताले व्यवसाय सम्हाल्दै
दोस्रो पुस्ताले व्यवसाय सम्हाल्दै ‘आवास ग्रुप’ अहिले तेस्रो पुस्तामा छ। तेस्रो पुस्ताले पनि व्यवसाय सञ्चालनमा साथ दिइरहेको छ।

थैव दाजुभाइका छोराछोरीले कुनै न कुनै व्यवसाय हेरेका छन्। ‘दाजुहरूका छोराहरूले पनि उद्योग हेर्छन्। उनीहरूले पनि नयाँ योजनाका साथ व्यवसायलाई अगाडि बढाइरहेका छन्। आउने दिनहरुमा नयाँनयाँ उद्योगमा लगानी गर्ने सोचका साथ ‘आवास ग्रुप’ अगाडि बढेको छ’, उनले भने।

कात्तिक २१, २०७८ आइतबार ०८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।