बालरोग विशेषज्ञ डा. युवानिधिको उपचार अनुभूति : जब आमाको काखमै बच्चाको प्राण गयो
अस्पताल लैजाँदा-लैजाँदै बाटैमा बच्चाको मृत्यु भएका धेरै घटनाका साक्षी बनेका छन् बालरोग विशेषज्ञ डा. युवानिधि बसौला। समयमा अस्पताल पुर्याउन नसकेर बच्चा बचाउन नसकेका घटना सम्झेर निकै चिन्तित हुन्छन् उनी।
बाटैमा बच्चाको मृत्यु
डा. युवानिधिले मेडिकल अधिकृतको रुपमा पर्वत जिल्ला अस्पतालमा काम गर्दा बाटैमा बच्चाको मृत्यु भएको एउटा घटना सुनाए।
करिब पाँच महिनाको बच्चा बिरामी भएर पर्वत अस्पताल पुर्याइएको थियो। उनी ड्युटीमै रहेका बेला बिरामी बच्चा बुबा–आमाले उपचारका लागि लगेका थिए। बच्चालाई श्वास फेर्न कठिन थियो। निमोनियाको लक्षण थियो।
त्यहाँ उनले अक्सिजन दिने, बाफ दिने जस्ता प्राथमिक उपचार गरे। त्यहाँ पिआइसियु, एनआइसियु र विशेषज्ञ चिकित्सक लगायतको अभावका कारण थप उपचार गर्न सक्ने अवस्था नदेखेपछि डा. युवानिधिले बच्चालाई पोखरा रिफर गरे।
तर, लैजाँदा–लैजाँदै बच्चाको बाटैमा मृत्यु भयो। बच्चा बोकेर बुबाआमा पुनः पर्वत अस्पताल नै फर्किए। अस्पताल पुगेर डा. युवानिधिलाई बच्चाको अवस्था हेरिदिन अनुरोध गरे बुबाआमाले। डा. युवानिधिले बच्चा त हेरे। तर बच्चाको प्राण गइसकेको थियो।
उनले सुनाए, ‘बीच बाटोमै मृत्यु भएछ। फर्केर आउनुभयो। बच्चा हेर्र्यौं। मृत्यु भइसकेको छ लानूस् भन्यौं।’ बच्चाको मृत्युले बुबाआमा भावविह्वल भए। उनलाई बच्चाको मृत्यु भइसकेको सन्देश सुनाउन कठिन भयो। जुन दृश्यले डा. युवानिधिको आँखा रसाए। बच्चाको मृत्युको त्यो घटना सम्झँदा अहिले पनि उनको छाती चसक्क हुन्छ।
आमाको काखमा बच्चाको मृत्यु
केही महिनाअघि एक जना महिलाले चितवनको भरतपुर अस्पताल लाँदा बाटैमा बच्चाको मृत्यु भएको घटना डा. युवानिधिले सुनाए।
ज्वरो आएपछि चेपाङ समुदायकी महिलाले करिब तीन महिनाको बच्चा च्यापेर भरतपुर अस्पताल लगिछन्। उनी अस्पताल पुगेर आकस्मिक कक्ष अगाडि बसिछन्। ती महिलालाई बच्चा कोसँग, कसरी जँचाउने भन्ने पनि थाहा भएनछ। बच्चा गुम्स्याएर च्यापिछन् उनले। सोधखोज गरेपछि मात्रै बच्चा जँचाउन ल्याएको भनिछन्। डा. युवानिधिले बच्चाको स्वास्थ्य परीक्षण गरे। तर बच्चाको बाटैमा मृत्यु भइसकेको रहेछ।
ती महिलाले आफ्नै काखमा बच्चाको मृत्यु भएको पनि थाहा पाइनछन्। डा. युवानिधिले सुनाए, ‘बाटोमा श्वास फेर्दै थियो, दूध चुस्दै थियो भन्थिन्। तर बच्चाको काखैमा मृत्यु भइसकेको रहेछ।’
सानो बच्चाको उपचार संवेदनशील
साना बच्चाको उपचार गर्नु निकै संवेदनशील हुने अनुभूति सुनाउँछन् डा. युवानिधि।
नवजात शिशु अनभिज्ञ तथा अन्जान हुने भएकाले अभिभावक तथा बुबाआमाले भनेको लक्षणको आधारमा बच्चाको उपचार गर्नुपर्ने बाध्यता हुने डा. युवानिधिको अनुभव छ। थोरै मात्रै त्रुटि भए बच्चाको मृत्युको जोखिम बढी हुने उनले सुनाए। डा. युवानिधिले भने, ‘अलिकति त्रुटि भयो र उपचारमा ढिला भयो भने बच्चाको ज्यान जान सक्छ।
त्यसो त बालरोग विषयमा एमडी अध्ययन गर्नुपूर्व बच्चाको उपचार गर्न डा. युवानिधिलाई डर लाग्थ्यो।
एमबिबिएस तहको अध्ययन सकेर सरकारी चिकित्सक भई २०६३ सालमा पर्वत जिल्ला अस्पतालमा काम गर्दा बिरामी बच्चा अस्पताल आउँदा कसरी उपचार गर्ने भनेर चिन्ता थपिने गरेको अनुभूति सुनाए उनले।
त्यो बेला उनलाई बच्चाको उपचार सम्बन्धी आत्मविश्वास थिएन। डा. युवानिधिले सुनाए, ‘बच्चाको उपचारमा एमबिबिएसको अध्ययनले पुग्दैन।’ नवजात शिशु तथा बालबालिकाको उपचार गर्ने क्रममा केही भइहाले के गर्ने भन्ने चिन्ता लाग्थ्यो उनलाई। अर्कातर्फ, स्रोत–साधनकै अभावले बच्चाको उपचार गर्न नपाउँदाको चिन्ता त छँदै थियो। यस्तो समस्या अनुभूति गरेका उनले बालबालिकाले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नै बालरोग विषयको एमडी अध्ययन गरेको सुनाए।
डाक्टर जोडीको बचाएको बच्चा
चितवनमा डाक्टर जोडीको ११ सय ग्रामको बच्चा बचाएको क्षण पनि स्मरण गर्छन् डा. युवानिधि।
चितवनमा नै काम गर्ने डाक्टर जोडीको ११ सय ग्रामको तौलको जन्मिएको बच्चा करिब डेढ महिना अस्पतालमा राखेर उपचार गरेपछि बच्चाको तौल बढेर करिब १६ सय ग्राम भएपछि डिस्चार्ज गरेको उनले सुनाए। अहिले ती बच्ची ५ वर्षकी भएको र स्वस्थ भएको उनी बताउँछन्।
कंगारु मदर केयरको सुरुवात
करिब ३ वर्षअघि भरतपुर अस्पतालमा ‘कंगारु मदर केयर’को सुरुवात गरिएको छ, जुन नेपालकै पहिलो भएको उनको भनाइ छ।
बच्चाको तौल नपुगेको अवस्थामा कंगारु शैलीमा बच्चालाई आमाले छातीमा टाँसेर राख्ने विधि हो। यस्तो सेवाबाट तौल कम भएका धेरं नवजात शिशुको ज्यान बचेको उनले सुनाए।
उपचार गर्दागर्दैको बच्चा लिएर जान्छन्
घन्टौं मिहिनेत गरेर पनि बचाउन नसकेका घटना पनि धेरै भएको उनी बताउँछन्। कयौं बच्चाहरु त अस्पतालमा उपचार गर्दागर्दै बुबाआमा तथा अभिभावकलाई खान–बस्नको समेत खर्चको समस्या भएर बच्चा लिएर घर फर्कने गरेको उनले सुनाए। डा. युवानिधिले भने, ‘उपचार गर्दागर्दै बुबाआमाले बाध्यताले बच्चा लिएर जानुहुन्छ, त्यो बेला नराम्रो लाग्छ।
अध्ययन तथा जागिरः छनोटमा बच्चाको डाक्टर
युवानिधि चितवनको पटिहानीमा २०२९ सालमा जन्मिएका हुन्। उनले चितवनकै पटिहानीस्थित ‘अमर मावि’बाट २०४५ सालमा एसएलसी उत्तीर्ण गरेका हुन्।
उनलाई सानैदेखि डाक्टर बन्ने इच्छा थियो। त्यसैले एसएलसीपछि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (महाराजगञ्ज क्याम्पस) मा २०४६ सालमा एचए अध्ययन थालेका उनले २०४९ सालमा अध्ययन पूरा गरे।
एचए अध्ययनपछि उनले २०५० सालमा ‘एएमएस’ नामक फ्रेन्च आइएनजीओमा पर्वत जिल्लाको कुस्मा भन्ने ठाउँमा ट्युबरक्लोसिस (टिबी) र एचआइभी कार्यक्रमको प्रशिक्षकका रुपमा २०५३ सम्म तीन वर्ष काम गरे। त्यसपछि झापाको दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा करिब १५ महिना मेडिकल सहयोगिका रुपमा काम गरे। शरणार्थीहरुको चेक–जाँच तथा उपचार गर्नु उनको काम थियो।
झापापश्चात् २०५५ मा उनी सोलुखुम्बु जिल्ला पुगे। उनले २०५५ सालदेखि करिब दुई वर्ष सोलुखुम्बुको फाप्लुस्थित ‘सोलुखुम्बटेक्निकल स्कुल’मा संयोजकको रुपमा काम गरे। सोलुखुम्बुको सो मेडिकल स्कुलमा १८ महिने अनमी कोर्ष र १५ महिने सिएमए (अहेब) कोर्षको पढाइ हुन्थ्यो। १५ महिना सो विद्यालयमा बसेर दुई ब्याचमा करिब ७० जना स्वास्थ्य जनशक्ति उत्पादन गरेको उनले सुनाए।
सोलुखुम्बुको बसाइपछि उनले २०५६ मा छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि चिकित्साशास्त्र अध्ययन संस्थान (महाराजगञ्ज क्याम्पस)मा परीक्षा दिए। अध्ययनका लागि छनोट भएर उनी २०५६ सालमा एमबिबिएस अध्ययन गर्न थाले। डा. युवानिधिले २०६१ सालमा एमबिबिएस अध्ययन पूरा गरे।
एमबिबिएस अध्ययनपछि चिकित्सकका रुपमा २०६१ सालमा काठमाडौंको बौद्धस्थित ‘स्तुपा सामुदायिक’ अस्पतालमा मेडिकल अधिकृतको रुपमा २०६३ सम्म करिब १५ महिना काम गरे। त्यही बीचमा नै उनी लोकसेवा परीक्षामा उत्तीर्ण भई स्थायी सरकारी चिकित्सकका रुपमा जागिरे भए। डा. युवानिधिको २०६३ मा सातौं तहको मेडिकल अधिकृत चिकित्सकको रुपमा सरकारी जागिर सुरु भयो।
सरकारी जागिरे भएपछि उनको पहिलो पोस्टिङ पर्वत जिल्ला अस्पतालमा भयो। पर्वतमा काम गर्दा नै उनी आठौं तहमा बढुवा भए। डा. युवानिधिले पर्वत जिल्लामा २०६३ देखि २०६५ सम्म दुई वर्ष काम गरे। एचए अध्ययनपछि पनि उनी पर्वतमा काम गरेका हुनाले पर्वतमा उनलाई काम गर्न त्यति असहज भएन।
पर्वतपछि उनी काठमाडौंको ‘साङ्ला प्राथमिक स्वास्थ्य केन्द्र’ सरुवा भएर करिब चार महिना काम गरे।
उनलाई अध्ययनको भोक मरेकै थिएन। त्यसैले २०६६ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)मा बालरोग (पेडियाट्रिक) विषयमा एमडी (स्नातकोत्तर तह) अध्ययन सुरु गरे। उनले २०६९ मा एमडी अध्ययन पूरा गरी बाल रोग विशेषज्ञका रुपमा काम गर्न थाले। छात्रवृत्तिमा नै एमडी तहको अध्ययन गरेको सुनाए डा. युवानिधिले। उनी भन्छन्, ‘एचएदेखि सबै छात्रवृत्तिमा पढियो। अहिलेसम्म पैसा तिरेर पढेको छैन।’
उनले बाल रोग विषय छान्नुको अर्को कारण आफैं सानोमा बिरामी भएको अनुभूति पनि रहेछ। करिब पाँच वर्षको हुँदा कलेजो सम्बन्धी बिरामी परेर औषधि–उपचार तथा दस वटा सुई लगाएपछि बाँचेको उनी सुनाउँछन्। त्यसैले आफूले बालरोग विषय नै रोजेको डा. युवानिधिले बताए। बालरोगको उपचार संवेदनशील विषय रहेछ भन्ने लागेकाले पनि यो विषयको अध्ययन गरेको उनले सुनाए।
एमडी अध्ययनपछि करिब तीन महिना उनले कान्ति बाल अस्पतालमा काम गरे। त्यसपछि डा. युवानिधि २०६९ मा चितवनको ‘भरतपुर अस्पताल’ सरुवा भए। उनी त्यही बीचमा २०७० सालमा ९औं तहमा बढुवा भएर ‘कन्सल्ट्यान्ट पेडियाट्रिसियन’ भए। त्यसपछि उनको सरुवा हेटौंडा अस्पतालमा भयो। तर हेटौंडा सरुवा भए पनि चितवनमा नै काजमा काम गरे।
भरतपुरमा २०७० सम्म करिब १५ महिना उनले काम गरे। चितवनमा उनी ९ महिना मेडिकल अधिकृत र बाँकी ६ महिना ९औं तहमा बढुवा भएर कन्सल्ट्यान्टका रुपमा चितवनमा काम गरे।
भरतपुरपछि २०७१ मा सरुवा भएर झापाको भद्रपुर मेची अञ्चल अस्पताल गएर २०७२ सम्म करिब दुई वर्ष काम गरे। त्यो बेला मेची अञ्चल अस्पतालभरि नै उनी एक जनामात्रै सरकारी बाल रोग विशेषज्ञ भएको डा. युवानिधिले सुनाए। झापामा रहेकै बेला उनी दसौं तहमा बढुवा भए।
झापापछि सरुवा भएर २०७३ मा पुन डा. युवानिधि चितवनको भरतपुर अस्पताल नै फर्किए। त्यसयता साढे पाँच वर्षदेखि अहिलेसम्म उनी भरतपुर अस्पतालमा नै निरन्तर काम गरिरहेका छन्।
डा. युवानिधिले ‘न्युट्रेसन एन्ड डाइटेक्टिस’, ‘हेल्पिङ बेबी सर्भाइभ’ लगायत आधा दर्जन पुस्तक लेखेका छन् भने १५ भन्दा बढी उनका लेख प्रकाशित छन्। त्यसैगरी करिब तीन दर्जनभन्दा बढी विभिन्न तालिम लिएका छन्। अध्ययन तथा तालिमका सिलसिलामा भारत, चीन, थाइल्याण्ड, इन्डोनेसिया जस्ता मुलुक पुगेका छन् डा. युवानिधि।
कात्तिक २०, २०७८ शनिबार १७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।