कुन शीर्ष नेताको भाइटीका कहाँ ?

कुन शीर्ष नेताको भाइटीका कहाँ ?

काठमाडौं : तिहारको अन्तिम दिन आज भाइटीका। तिहार हिन्दु नेपालीको महान चाड भए पनि पछिल्लो समय क्रान्तिकारी नेताहरुले समेत सांस्कृतिक रुपमा अर्थ्याउँदै मनाउन थालेका छन्।

हेरौं, यसपालिको भाइटीका कुन राजनीतिक दलका नेताले कहाँ र कसरी लगाउँदैछन्ः 

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपालिको तिहार आफ्नै निवास खुमलटारमा मनाएका छन्। उनले त्यहीँ भाइटीका लगाउनेछन्।

‘उहाँले भाइटीका लगाउनु हुनेछ। तर, औपचारिक रुपमा केही भनिएको छैन। पारिवारिक भेटघाट र पार्टीगट भेटघाट त भइहाल्छ,’ दाहालका प्रेस संयोजक विष्णु सापकोटाले उकेरासँग भने।

शोक परेकाले पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीले भने यस पटक भाइटीका लगाउने छैनन्। उनले दशैंको टीका पनि लगाएनन्। त्यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि शोक परेका कारण यस पटक भाइटीका लगाउने छैनन्। उनीहरु दुवैका भाइ बितेका छन्। 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं कोटेश्वरस्थित आफ्नै निवासमा भाइटीका लगाउनेछन्। नेपालका एक दिदी र दुई बहिनी छन्। ‘उहाँलाई निवासमै दिदीबहिनीहरुले भाइटीका लगाइदिनुहुन्छ। अन्य कामहरु खास हुँदैनन्, पारिवारिक भेटभाट हुन्छ,’ नेपालका स्वकीय सचिव मोहन गौतमले उकेरासँग भने।  

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पनि काठमाडौंमा भाइटीका लगाउनेछन्। उनका एक दिदी र एक बहिनी छन्। ‘उहाँले निवास कोटेश्वर वा दिदी बहिनीको निवास टोखामा भाइटीका लगाउनुहुन्छ। अन्य पार्टीगत कुराहरु त्यो दिन खासै हुन्न होला,’ डा. भट्टराईका स्वकीय सचिव रोशन पोखलेरले भने। 

पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादीका नेता झलनाथ खनालले स्वास्थ्य जोखिमका कारण यस पटक भाइटीका लगाउने छैनन्। ‘मेरो हालैमात्र मिर्गौला प्रत्यारोपण गरिएकाले कम्तीमा २ महिनासम्म म अरुको सम्पर्कमा आउन मिल्दैन। स्वास्थ्यका दृष्टिकोणले जोखिम भएकाले भाइटीका नलगाउने निर्णय गरेको छु। सम्पूर्ण नेपालीमा दीपावलीको शुभकामना दिन चाहन्छु,’ खनालले उकेरासँग भने। 

कात्तिक २०, २०७८ शनिबार ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।