कर्णालीमा गठबन्धन दलले मन्त्रीहरूको नाम पठाएनन् ,तिहारपछि मात्र सरकार विस्तार
सुर्खेत : कर्णाली प्रदेशमा गठबन्धन दलले मन्त्रीहरूको नाम नपठाउँदा मन्त्रिपरिषद् विस्तारको काम तिहारपछि मात्रै हुने भएको छ।
मङ्गलवार नै काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले मुख्यमन्त्रीको शपथ खाए पनि गठबन्धन सत्ता साझेदार दलले मन्त्रीहरूको नाम नपठाउँदा तिहारपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने नेपाली काँग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक हिमबहादुर शाहीले बताए।
‘मन्त्रिपरिषद् विस्तारका लागि सत्ता साझेदार दलहरूबिच छलफल गर्नुपर्ने र ती दलबाट मन्त्री बन्नेहरूको नाम नआएकोले तिहारपछि मन्त्रिपरिषद्को विस्तार गर्ने गरी मुख्यमन्त्रीज्यू लागि रहनु भएको छ,’प्रमुख सचेतक शाहीले भने, ‘नजिकै तिहार पनि आयो २० गते बिदा भएको र माओवादीसँग, समाजवादी दलहरूबिच के कति मन्त्रीहरू लिने भन्नेबारे होमवर्क गर्न समय लाग्ने भएकोले ढिला भएको हो।’
अहिले कुन पार्टीले कति मन्त्रालय पाउने भन्ने टुङ्गो नलागेको सचेतक शाहीको भनाई छ। कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र नेपाली काँग्रेस साझेदार दल हुन्।
कर्णाली प्रदेश सरकारमा एकीकृत समाजवादीले भने तीन वटा मन्त्रालयको दाबी गरेको छ। यसअघिका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन ‘फ्लोर क्रस’ गरी मन्त्री बनेका समाजवादीका तीन मन्त्रीको पद १५ गतेदेखि स्वतः सकिएको छ।
सत्ता साझेदार दलमध्ये काँग्रेसका ६, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ जना सांसद छन्। यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सभामुखसहित १३ जना सांसद छन्।
कात्तिक १८, २०७८ बिहीबार १८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।