मुगुमा नेपाल एयरलाइन्सकाे नियमित उडानले स्थानीयलाई सहज

मुगुमा नेपाल एयरलाइन्सकाे नियमित उडानले स्थानीयलाई सहज

सुर्खेतः मुगुमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नियमित उडान भर्न थालेपछि स्थानीयलाई सहज भएको छ। १९ महिनाअघि हप्तामा दुई वटा उडान गर्दै आएको निगमको जहाज विभिन्न कारण देखाएर उडान बन्द गरिएको थियो।

उडान बन्द भएपछि स्थानीयहरू मर्कामा परेका थिए। निजी कम्पनीका एयरलाइन्समामा पनि रारा जाने पर्यटकले ‘रिटर्न’ टिकट काट्दा स्थानीयहरूले टिकट पाउन सकेका थिएनन्।

जिल्लाको एक मात्र ताल्चा विमानस्थलमा आइतबारदेखि नेपालगञ्ज–ताल्चा नेपाल एयरलाइन्सकाे जहाजले उडान सुरु गरेको मुगुका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए।

‘विगतमा विभिन्न कारण देखाउँदै करिब १९ महिनासम्म निगमको जहाले उडान भरेन’, प्रमुख जिल्ला अधिकारी महतले भने, ‘पर्यटकका कारण स्थानीय यात्रुले निजी एयरलाइन्समा टिकट नपाएको समाचार आएपछि नेपाल वायु सेवा निगमसँग समन्वय गरेर आइतबारदेखि नियमित उडान भएको छ।’

नियमित उडान हुँदा स्थानीयले पनि टिकट पाएको प्रमुख जिल्ला अधिकारी महतले बताए। अन्य जहाजमा ६ हजार रुपैयाँसम्म भाडा भए पनि निगमको जहाजमा नेपालगञ्जदेखि रारासम्म ५ हजार ३ सय ३५ रुपैयाँ कायम गर्दा स्थानीय र बिरामीलाई सहज भएको उनको भनाइ छ।

लामो समयसम्म निगमको जहाज बन्द हुँदा तारा, समिट र सीता एयरले दैनिक ५ देखि ६ उडान गर्दै आएका थिए। यद्यपि, रारा आउने पर्यटकले रिटर्न टिकट लिने कारण आकस्मिक बिरामी, सुत्केरी र विद्यार्थीहरूले सास्ती भोग्दै आएका थिए।

निगमको जहाजले नियमित उडान भर्न थालेपछि पहिला जस्तो स्थानीयलाई टिकटको चिन्ता नभएको छायाँनाथ रारा नगरपालिका–३ का रतन खड्काले बताए। ‘पहिले जस्तो हप्तौं कुर्नुपर्ने बाध्यता हटेको छ, अहिले त भाडा पनि सस्तो। जहाज चढ्नका लागि हारगुहार पनि गर्न परेन’, उनले भने। 

मुगु–नेपालगन्ज समिटको १८ सिटे एउटा जहाज, ताराको १६ सिटे दुई वटा र सीताको पनि १६ सिटे दुई वटा निजी एयरलाइन्सका जहाजले दुई पटकसम्म उडान भर्दै आएका थिए।

उकेरामा प्रकाशित यसअघिकाे समाचार

कात्तिक १८, २०७८ बिहीबार ०८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।