आउने निर्वाचनमा एमालेले एक सिट पनि ल्याउँदैन : नेता चौधरी

आउने निर्वाचनमा एमालेले एक सिट पनि ल्याउँदैन : नेता चौधरी

चौधरीले भने, '१६५ वटा निर्वाचन क्षेत्रमध्ये एमालेको कुनै पनि स्थानमा सिट आउने छैन।'

चौधरीले समानुपातिकतर्फ भने एमालेले १०–१२ सिट ल्याउन सक्ने बताए। उनले एमालेलाई 'ओली कम्पनी'को संज्ञा समेत दिए। 

चौधरीले आउँदो निर्वाचनमा ओलीबाहेक सबै कम्युनिष्ट पार्टी एक हुने दावी समेत गरे। 'कम्युनिष्टहरूबीच एकता वा मोर्चा हुन्छ', उनले भने, 'यस्तो एकतामा केपी ओली हुने छैनन्।'

कम्युनिष्टहरूबीच एकता गर्ने र सकेसम्म उपेन्द्र यादव नेतृत्त्वको जनता समाजवादी पार्टीसँग पनि सहकार्य गरेर निर्वाचनपछि सबैभन्दा ठूलो पार्टी बन्ने गरी अघि बढिरहेको उनले बताए। 

उनले अहिलेको सत्ता गठबन्धन निर्वाचनसम्म मात्र नभई निर्वाचनपछि पनि कायम रहने बताए। 'जबसम्म हामीले योग्यता, क्षमता निर्माण गर्न सक्दैनौं, तबसम्म यो गठबन्धन कायम रहनेछ', चौधरीले भने।

उनले एमालेका नेताहरूमा कम्युनिष्ट विचारप्रतिको विचलनले नेपालको कम्युनिष्ट आन्दोलन अफ्ठयारोमा परेको पनि बताए। 
नेता चौधरीले नेकपा (एकीकृत समाजवादी) स्थापना नभएको भए नेपालको कम्युनिष्ट आन्दोलन समाप्त हुने अवस्थामा पुगेको बताए। 

उनले भने, 'आज एकीकृत समाजवादी निर्माण गरेर समाप्त हुन लागेको आन्दोलनलाई फेरि पनि हामीले सेभ गरेका छौं।’

नेता चौधरीले घनश्याम भुसाललगायत केही नेताहरूले केही समय बाटो बिराएर ओली नेतृत्त्वको पार्टीमा रहे पनि उनीहरू छिट्टै एकीकृत समाजवादीमा फर्कने दावी गरे। 

'अहिले उहाँहरू रनभुल्ल भएर ओली पार्टीमा हुनुहुन्छ', उनले भने, 'एमालेको महाधिवेशनअगाडि नै घनश्याम दाईहरू समाजवादीमा आउनुहुन्छ।'

सर्वोच्च अदालतमा भइरहेको विवादका बारे पनि उनले मुख खोले। 'बाहिर आए जस्तो सेटिङ, बार्गेनिङको कुरा साँचो हो भने प्रधानन्यायाधीशले पदबाट राजीनामा दिनुपर्छ, होइन भने न्यायालयप्रति यसरी लाग्नु हुँदैन', उनले भने। 

उनले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्केपछि दृष्टिकोण बनाउने बताए।
 

कात्तिक १७, २०७८ बुधबार १४:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।