प्रदेश १: गुट नमिल्दा सरकारको ठूलो दल कांग्रेस तेस्रो वरियतामा
इटहरीः प्रदेश १ मा मंगलबार नयाँ सरकार गठन भयो। नेकपा (एकिकृत समाजवादी)को संसदीय दलका नेता राजेन्द्र राई प्रदेश १ को तेस्रो मुख्यमन्त्री नियुक्त भए।
प्रदेश सभाको चौथो र गठबन्धनको तेस्रो ठूलो दलका नेता राईले केन्द्रीय समीकरणअनुसार मुख्यमन्त्रीको अवसर पाएका हुन्। उता गठबन्धन दलहरूमध्ये सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने तेस्रो वरियतामा खुम्चिएको छ।
यसअघि प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेस अहिले सत्ता साझेदार बनेको छ। प्रदेश १ को मुख्यमन्त्री पाउनुपर्छ भनेर आवाज उठे पनि कांग्रेसको आन्तरिक गुट नमिल्दा तेस्रो वरियतामा चित्त बुझाउनु परेको हो।
यसअघि निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको सरकार अल्पमतमा परेसँगै नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालालाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै स्थानीय नेताहरूले दबाब सृजना गरेका थिए।
कोइराला पनि मुख्यमन्त्री हुने कसरतमा लागि परेका थिए। कांग्रेस प्रमुख सचेतक केदार कार्कीले जसरी पनि कोईराला मुख्यमन्त्री हुनुपर्ने भन्दै पार्टीभित्र दबाब बढाएका थिए।
कांग्रेस केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले निवासमा पत्रकार सम्मेलन गरेर जसरी पनि मुख्यमन्त्री कांग्रेसले पाउनुपर्ने बताए। अन्य प्रदेशमा वा केन्द्रीय सरकारको मन्त्रीमा हेरफेर गरेर भए पनि प्रदेश १ मा कांग्रेस नेतृत्त्वको सरकार बन्नुपर्ने अडान लिए।
सार्वजनिक कार्यक्रममार्फत नै प्रदेश १ लाई पार्टी सभापति शेरबहादुर देउवाले कमजोर बनाउन खोजेको उनले आरोप लगाए।
तथापि प्रदेश १ को दोस्रो र गठबन्धन मध्येको पहिलो ठूलो दल कांग्रेस मुख्यमन्त्री पाउनबाट चुक्यो। सरकारमा पनि तेस्रो वरियतामा कांग्रेसले चित्त बुझाउनु परेको छ।
दोस्रो ठूलो दलका नेता इन्द्र बहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री सहित दोस्रो वरियतामा छन्। आङ्बोले शेरधन राई नेतृत्त्वको सरकारमा पनि सोही मन्त्रालय सम्हालेका थिए।
त्यस्तै कांग्रेसबाट हिमाल कार्की भौतिक पूर्वाधार तथा विकास र केदार कार्की आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त भएका छन्।
चौथो दल जनता समाजवादीका जयराम यादव सामाजिक विकासमन्त्री र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्हाम्फे सामाजिक विकास राज्यमन्त्री भएकी छिन्।
गुटको खेल
पछिल्लो समयको पालिका अधिवेशनमा पनि प्रदेश १ मा संस्थापन इतर समूह बलियो देखिएको थियो। प्रदेश १ संसदीय दलको नेता कोइराला र प्रमुख सचेतक कार्की दुवै इतर समूहका हुन्।
संस्थापन समूहका दुई प्रभावशाली नेता ज्ञानेन्द्र बहादुर कार्की र विजय कुमार गच्छदारको जिल्ला सुनसरीका नेता हुन् कोइराला।
कोइराला मुख्यमन्त्री भए उनको प्रभाव बढ्ने र संस्थापन समूहका नेताहरूको प्रभाव घट्ने आँकलन सुरु भयो। प्रदेश सभापतिको दावी गरिरहेका कोइरालालाई बेलैमा रोकेर संस्थापन समूह बलियो बनाउने रणनीतिअनुसार नै गठबन्धनको तेस्रो दललाई मुख्यमन्त्री दिने सहमति भयो।
केन्द्रीय सहमति भन्दै कोइराला मुख्यमन्त्री बन्न पाएनन्। उता सरकारमा सामेल हुने विषयमा पनि कांग्रेसमा खटपट देखियो। मंगलबार दिउँसो १ बजेको लागि राखिएको शपथ ग्रहण कार्यक्रम कांग्रेसकै कारण ४ बजे मात्र सम्पन्न भयो।
कांग्रेसले कुन मन्त्रालय पाउने र कसको नेतृत्त्वमा जाने भन्ने विषयले विवाद बढायो। सांसद हिमाल कार्कीको नेतृत्त्वमा जानुपर्ने केन्द्रीय दबाब आयो। कोइरालाले प्रमुख सचेतक कार्कीको नेतृत्त्वमा सरकारमा जानुपर्ने अडान लिए।
लामो समयसम्म पनि कुरा नमिलेपछि हिमाल कार्कीकै नेतृत्त्वमा कांग्रेस सरकारमा सामेल भयो। केदार कार्कीलाई मन्त्रीमा पनि रोक्नुपर्ने संस्थापन पक्षको दबाबमा कोइराला अडिग रहे।
अन्ततः सरकारको मन्त्रीको रूपमा केदार कार्की पनि सहभागी भए। सरकार र मन्त्रीमा पनि वरियता नमिल्नुको प्रमुख कारण कांग्रेसभित्रको गुटबन्दी र जारी अधिवेशलाई लिइएको छ।
देउवा समूहका हिमाल कार्की र इतर समूहका केदार कार्की दुवै सरकारमा सामेल भएका छन्। हिमालकै नेतृत्त्वमा अन्य मन्त्री बनाउन सके इतर समूह कमजोर बन्ने आँकलन गरिएको थियो। तर कोइरालाले लामो समय अडान लिएपछि मन्त्री भए पनि बनाउने सहमति जुटेको हो।
कात्तिक १७, २०७८ बुधबार ११:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।