कृष्णले १६ हजार एक सय कन्यालाई श्रीमती स्वीकारेको उत्सव नरक चतुर्दशी

कृष्णले १६ हजार एक सय कन्यालाई श्रीमती स्वीकारेको उत्सव नरक चतुर्दशी

कार्तिक कृष्ण त्रयोदशीका दिन घर आँगनमा दीप प्रज्वलन गरेर कीटाणुको नाश गरेको भोलिपल्ट तिहारको दोस्रो दिन सुरु हुन्छ। कार्तिक कृष्ण चतुर्दशीको दिन यमपञ्चकको दोस्रो दिन हो।  

यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ भने काग तथा कुकुर तिहारको नामले समेत चिनिन्छ।

वैदिक सनातन परम्पराअनुसार काग र कुकुरलाई यमदूतको रूपमा लिइन्छ। जसले गर्दा नरक चतुर्दशीका दिन काग र कुकुरलाई अनेक किसिमका मीठा भोज्य पदार्थ दिएर सन्तुष्ट गराउने परम्परा रहेको छ।

हुन त वैदिक परम्परामा प्रत्येक दिन बलि ‘वैश्वदेव’ गरेर मात्र भोजन गर्नुपर्ने मान्यता छ। बलि वैश्वदेव भन्नाले भोजनका लागि घरमा पाकेको अन्न तथा खानपानमध्येबाट केही अन्न तथा खानपान चराचुरुङ्गी, पशु, कीटपतङ्गलाई छुट्याउनुपर्छ भन्ने शास्त्रीय विधान छ। त्यसैगरी केही अन्न हवन गर्नुपर्ने विधान छ। 

शास्त्रीय विधानअनुसार यो कर्म गृहस्थ जीवन जीउने व्यक्तिले प्रत्येक दिन गर्नुपर्ने हुन्छ जसलाई नित्यकर्मका नामले जानिन्छ।
यमपञ्चकमा यमराजको दूतको रूपमा रहेका काग र कुकुरलाई सन्तुष्ट गराए यमराज स्वयं सुन्तुष्ट भई अपमृत्यु (अकाल मृत्यु) हुन दिँदैनन् भन्ने पौराणिक विश्वास रहेको छ।

त्यसैले यमपञ्चकको दोस्रो दिन कुकुर र कागलाई मीठा खानपान गराउने तथा फूलमाला लगाइदिने, चढाउने चलन छ।
कतिपयको भनाइअनुसार तिहारको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार तथा लक्ष्मी पूजा, चौथो दिन गोवर्धन पूजा र पाँचौं दिनमा भाई पूजा गर्ने  चलन छ।

तर, शास्त्रीय मान्यताअनुसार नरक चतुर्दशीका दिन यमराजको दूतको रूपमा रहेका काग र कुकुरको पूजा गरिन्छ। यहाँ पूजाको अर्थ खानपान र उनीहरूप्रति गरिने व्यवहारको सन्दर्भमा लिनुपर्ने हुन्छ। 

काग र कुकुर यमराजका दूत भएका कारण उनीहरूलाई सन्तुष्ट गराएको अवस्थामा अपमृत्यु हुँदैन भन्ने शास्त्रीय विश्वास छ। 

कृष्णले १६ हजार एक सय कन्यालाई श्रीमती स्वीकारेको उत्सव नरक चतुर्दशी
यमपञ्चकको दोस्रो दिन (कार्तिक कृष्ण चतुर्दशी)लाई किन नरक चतुर्दशी भनियो भन्ने सन्दर्भमा विभिन्न पौराणिक वचनहरू पाइन्छन्।

जसमध्ये द्वापरयुगमा भगवान कृष्णले नरकासुर दैत्यलाई बध गरेको प्रसङ्गलाई लिने गरिएको पाइन्छ। 

कुनै समयमा देवताहरूलाई नरकासुरले ठूलो कष्ट दिएको थियो। अर्को शब्दमा भन्दा नरकासुरले त्यो समयमा आतङ्क नै मच्चाएको थियो।

यही क्रममा नरकासुरले देवता, सिद्ध, गन्धर्व तथा पृथ्वीमा रहेका विभिन्न राजाका १६ हजार एक सय कन्यालाई अपहरण गरी बन्दी बनाएको प्रसङ्गको वर्णन विभिन्न पुराणहरूमा पाइन्छ। 

पौराणिक कथनअनुसार श्रीकृष्णले नरकासुरलाई बध गरेपछि बन्दी बनाइएका ती १६ हजार एक सय कन्यालाई मुक्त गरे। 

नरकासुरको पञ्जाबाट मुक्त भएपछि ती सबै कन्याहरूले श्रीकृष्णलाई नै श्रीमान्का रूपमा वरण (श्रीमान् मानेको) गरेको प्रसङ्ग भागवत लगायतका पूराणहरूमा उल्लेख छ।

पौराणिक प्रसङ्गअनुसार भगवान श्रीकृष्णले यसअघि आठ वटा विवाह गरिसकेका थिए। नरकासुरले बन्दी बनाएका १६ हजार एक सय कन्याहरूले पनि कृष्णलाई नै श्रीमान् मानेका हुनाले श्रीकृष्णका १६ हजार एक सय आठ पत्नी थिए भन्ने पौराणिक कथन छ। 

यो द्वापर युगको प्रसङ्ग हो।

त्यो समयमा कसैले अपहरण गरेपछि कन्याहरू अपहरण गर्नेकै श्रीमती मानिन्थ्यो। जसलाई 'राक्षस विवाह'को सङ्ज्ञा धर्मशास्त्रीय ग्रन्थहरूमा दिइएको छ।

कृष्णले त्यो समयमा १६ हजार एक सय कन्यालाई श्रीमतीका रूपमा स्वीकार्नु त्यो समयमा आफैंमा क्रान्तिकारी कदम थियो। 

त्यसरी नरकासुरको बन्दीगृहबाट मुक्त भएको सन्दर्भको खुसीयाली तथा सामाजिक कुरीतिविरुद्धको श्रीकृष्णको क्रान्तिकारी कदमको खुसियालीमा दीपावली मनाउने चलनको थालनी भएको कतिपय विद्वानहरूको मत रहेको छ। 

तेल र जलमा लक्ष्मीको बास
नरक चतुर्दशीका दिन तिल तथा तोरीको तेल शरीरमा लगाएर स्नान गर्नुपर्ने धर्मशास्त्रीय विधान छ। यसरी तेल लगाएर स्नान गर्नाले नरकमा जान नपर्ने धार्मिक विश्वास रहेको छ। 

आयुर्वेदिक दृष्टिकोणले हेर्ने हो भने पनि तेल लगाएर स्नान गरेको अवस्थामा शरीरमा चिसो पस्न पाउँदैन। जसले गर्दा चिसोजन्य रोग लाग्न पाउँदैन। रोग भनेकै नरक हो। रोगरूपी नरकबाट रक्षा हुनु यो पर्वको देखिने फल हो। 

नरक चतुर्दशीका दिन त तेल र जलमा लक्ष्मी बस्ने धार्मिक विश्वास छ। त्यसैले जो व्यक्तिले यो दिन तेल लगाएर स्नान गर्छ त्यो व्यक्तिले नरक जानु पर्दैन भन्ने धार्मिक विश्वास रहेको छ।

यमराजको १४ वटा नाम लिएर यो दिन तिलयुक्त जलले यमराजको तर्पण गर्ने विधान पनि छ। यमराजलाई जनाउने १४ नाम यी हुन्ः
  ‘यमाय धर्मराजाय मृत्यवे चान्तकाय च।
  वैवश्वताय कालाय सर्वभूतक्षयाय च।।
  औदुम्बराय दध्नाय नीलाय परमेष्ठिने।
  वृकोदराय चित्राय चित्रगुप्ताय वै नमः।।’

यो श्लोकको अर्थअनुसार यमराज, धर्मराज, मृत्यु, अन्तक, वैवश्वत, काल, सर्वभूतक्षय, औदुम्बर, दध्न, नील, परमेष्ठि, वृकोदर, चित्र र चित्रगुप्तलाई नमस्कार छ भन्ने हुन्छ।

यमराजका १४ नामले प्रत्येक दिन स्नान गरिसकेपछि तर्पण गर्नुपर्ने शास्त्रीय विधान छ। तर, नरक चतुर्दशीका दिन विशेषगरी यो विधान गर्दा यमराज प्रसन्न हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ। 

यमराज प्रसन्न भएको अवस्था तथा नरिसाएको अवस्थामा अपमृत्यु हुँदैन भन्ने मान्यता छ। 

(वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक डा. खनालसँग उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित।)

कात्तिक १७, २०७८ बुधबार ०८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।