क्या फसाद ! तिहार आइसक्यो, बेमौसमी वर्षाले फुल्नै भ्याएन सयपत्री

क्या फसाद !  तिहार आइसक्यो, बेमौसमी वर्षाले फुल्नै भ्याएन सयपत्री
तस्बिर : विकाश पराजुली

बेमौसमी वर्षाले रुपन्देहीमा गरिएको पुष्प खेतीमा क्षति त पुग्यो नै बिरुवा हुर्कने समयमा बर्षात हुँदा बिरुवा बढ्ने समय लम्बियो। तिहारका लागि भनेर रोपेका फुल तिहारपछि मात्र फुल्ने भए।

तिहार सुरु भइसक्यो। तर फक्रिनुपर्ने फुल राम्ररी फक्रिएका छैनन्। भर्खर फुल्दैछन्।

जिल्लामा अहिले धेरै स्थानमा सामूहिक पुष्प खेती हुँदै आएको छ। त्यसमध्ये तिलोत्तमा र सैनामैनामा किसानले लगाएको फुल भर्खर खेतमा फुल्दै छ। कम लगानीमा राम्रो आम्दानी हुने भएपछि पुष्प खेतीमा आकर्षक भएका कृषकहरू अहिले निराश छन्।

बुटवल, तिलोत्तमा, रोहणी, देव दह, सैनामैना, लुम्बिनी, भैरहवा लगायतका क्षेत्रमा तिहार लक्षित सयपत्री र मखमली फूलको खेती गरिँदै आएकोमा यस वर्ष तिलोत्तमा ४ मा क्षितिज नमुना कृषक समूहले लगाएको सामूहिक पुष्प खेतीमा भर्खर मात्र फुल फुल्न थालेका छन्।

३ वर्ष देखि पुष्प खेती सुरु गरेको समूहले यस वर्ष १० हजार माला उत्पादन गर्ने लक्ष्य राखेको थियो तिहारमा। तर तिहारसम्म मुस्किलले ३० प्रतिशत मात्र फुल फुल्ने देखिएको समूहका सदस्य विष्णु प्रसाद न्यौपाने बताए। समूहले यस वर्ष डेढ बिगाहा क्षेत्रफलमा पुष्प खेती गरेको छ।

समूहकी अध्यक्ष नबिना भण्डारीले तिहारमा फुल धेरै नफुले पनि विवाहको समयमा फुल तयार हुने आशा देखाइन्। समूहले पुष्प खेतीसँगै च्याउ, आलु, तरकारी खेती गर्दै आएको छ। निरन्तर वर्षाका कारण फुलको बिरुवा बढ्न नसक्दा तिहारमा सबै बोटको फुल नफुलेको भण्डारीले बताइन्।

सैनामैनामा पुष्प खेती गर्दै आएका नरेन्द्र पाण्डेले पनि निरन्तर पानी पर्दा फुल फुल्न ढिला भएको बताए। उनले ८ कट्ठा क्षेत्रफलमा फुल खेती गरे पनि पानीका कारण राम्रो हुन नसकेको बताए।

लुम्बिनी प्रदेशमा यस वर्ष ५ लाख माला आवश्यक पर्ने पुष्प व्यवसायीहरूको अनुमान छ। १२ जिल्ला मध्ये ९ जिल्लामा उत्पादन भइरहेको फूलले प्रदेशमा ५० प्रतिशत मात्र योगदान गरेको छ भने बाँकी ५० प्रतिशत प्रदेश बाहिरका साथै भारतबाट आयात हुने फुलले मागको पूर्ति गर्ने गरेको पुष्प व्यवसायी सङ्घका लुम्बिनीका सदस्य रमेश पाण्डेले बताए।

लुम्बिनी प्रदेशमा रुपन्देही सहित पाल्पामा ४ वटा स्थानीय तह, गुल्मीको चन्द्रकोट, दाङको घोराई, तुलसीपुर, बाँकेको कोहलपुर, नेपालगन्ज, अर्घाखाँची, नवलपरासीमा व्यवसायी रूपमा पुष्प खेती हुँदै आएको छ।

कात्तिक १६, २०७८ मंगलबार १८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।