निर्णायक मोडमा ढुलमुल हुँदा हारेका भीम : न मुख्यमन्त्री पद रह्यो न जिल्ला सङ्गठन

निर्णायक मोडमा ढुलमुल हुँदा हारेका भीम : न मुख्यमन्त्री पद रह्यो न जिल्ला सङ्गठन

गुट अदलबदलका कारण प्रदेश १ का शक्तिशाली नेता आचार्य अहिले निरीह देखिए। पार्टी विभाजन अगाडि माधव नेपाल र झलनाथ खनाल निकट रहेका उनी नयाँ पार्टी गठन अगाडि एक्कासि पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका थिए।

प्रदेश १ को मुख्यमन्त्री बन्न उनले नेपाल र खनालको साथ छाडेका थिए। मुख्यमन्त्री बन्ने उनको सपना त पुरा भयो तर लामो समय सरकार चलाउने योजनामा भने पराजित भए। उनलाई

एमाले छाडेर एकीकृत साजवादीमा लागेका राजेन्द्र राईले मुख्यमन्त्रीबाट विस्थापित गरे। उता १० बुँदे कार्यान्वयन नहुँदा जिल्लामा उनी निकट नेताहरू पाखा लाग्दै गएका छन्। उनी आफ्नै पार्टी एमालेमा एक्लिँदै गएको देखिन्छ।

२०४८ मा सुनसरी सचिव थिए आचार्य। पार्टी विभाजन भएर माले र एमाले भएपछि उनी केन्द्रीय स्तरमा पुगे। उनलाई हमेसा विभाजनले फाइदा पुर्याउँदै आएको देखिन्छ। माधव नेपाल महासचिव भएका बखत उनी केन्द्रीय सदस्य भए। 

लामो समय केन्द्रीय सदस्यकै भूमिकामा रहेका उनले सुनसरी एमालेमा प्रभाव बढाउँदै लगे। खनालसँग ससुरा ज्वाइँको सम्बन्धमा रहेका आचार्यले त्यसलाई भरपुर उपयोग गरे पार्टी राजनीतिमा। पारिवारिक निकटताले गर्दा खनालले आचार्यलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा जम्न सघाइरहे। 

२०६४ को संविधानसभा निर्वाचनमा पराजित भएपछि नेपालले महासचिव पदबाट राजीनामा दिए। ओली र नेपाल दुवै पराजित भएपछि खनाल महासचिव र संसदीय दलको नेता बनेका थिए।

आचार्य त्यसपछि झन् प्रभावशाली बने।२०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा सुनसरी ६ बाट विजयी भएका आचार्य काँग्रेस नेतृत्वको सरकारमा मन्त्री बने। सत्तासँग निकट हुँदै गएका उनको गृह जिल्लामा पनि पकड बढ्दै गयो। छिमेकी जिल्लाहरूमा पनि उनको प्रभाव बलियो बन्यो। 

एमालेको नवौँ महाधिवेशनमा खनाल कोटाबाटै केन्द्रीय सचिवको उम्मेदवार भए उनी। सचिवमा विजयी भएका आचार्य पार्टी भित्र बलिया बन्दै गए। अर्का सचिव योगेश भट्टराईले प्रदेशमा चासो दिएनन्। सुवास नेम्वाङले पनि केन्द्रीय स्तरमै बढी ध्यान दिए।

विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि आचार्यले अवसर पाए। प्रदेश संरचनामा पार्टी गए देखिनै उनी इन्चार्जको भूमिकामा रहे।

नेकपा हुँदै पार्टीभित्र बढेको द्वन्द्वमा कतातिर लाग्ने भन्ने अलमलमा लामो समय अलमलिँदा भने राजनीतिमा उक्लँदै गएका आचार्यको राजनीतिक प्रभाव बिस्तारै ओरालो लाग्यो। नेकपा पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्किएपछि पनि उनी अलमलमै रहे।

ओलीविरुद्ध उभिएका नेपाल-खनालकै क्याम्पमा रहे उनी। ओलीको २-२ पटक संसद् विघटनको प्रयास असफल भएपछि नेपाल-खनाल एमालेमा बस्न नसक्ने निष्कर्ष निकाल्दै नयाँ दल गठनतिर लागेपछि भने उनी ओली समूहमा लागेर मुख्यमन्त्री हुन कस्सिए। र भए पनि । यही निर्णय नै उनको राजनीतिको ओरालो यात्रा देखियो।

नेकपा हुँदै एमालेका केन्द्रमा बढेको विवादको विविध कारणमध्ये आचार्यले मुख्यमन्त्री नपाउनु पनि एक कारण थियो। २०७४ को निर्वाचनमा नेपाल खनालकै आग्रहमा प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा लागेका थिए उनी।

तर सुनसरी १ (ख) बाट निर्वाचित आचार्य संसदीय दलमा आफ्नै कार्यकर्तासँग पराजित भए। ओली समूहका जुनीयर कार्यकर्ता शेरधन राईले आचार्यलाई संसदीय दलमा दुई मतले हराएर मुख्यमन्त्री हुने बाटो रोकिदिए। त्यसपछि लामो समय प्रदेश सभामा आएनन् उनी। राजनीतिको महाभारतमा उनको हार यहीबाट सुरु भयो।

पछि एमाले र माओवादी एकता भएर बनेको नेकपा संसदीय दलको बैठकमा उपस्थित भए आचार्य। मुख्यमन्त्री राईले सरकार चलाउन नसकेको भन्दै विकल्प खोज्नुपर्ने आचार्यको माग रह्यो। त्यसमा पनि असफल भएपछि उनी पुनः केन्द्रतिरै हानिए। केन्द्रीय राजनीति उथलपुथल भएपछि उनले पनि आफ्ना फाइदा खोजे। 

२०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किए। त्यसपछि एमाले भित्र पनि रडाको सुरु भयो। खास गरी संस्थापन ओली पक्ष र नेपाल-खनाल पक्षबिच मनमुटाब सुरु भयो।

नेपाल खनालले नेकपा एकीकृत समाजवादी पार्टी नै गठन गरे। राजनीतिक अभिभावकको रूपमा रहेका दुवै नेतालाई छाडेर आचार्य भने एकाएक ओली समूहमा लागे। मुख्यमन्त्री पाउने भएपछि आचार्यले नेपाल र खनाललाई  छाडेका थिए। 

तत्कालीन मुख्यमन्त्री राईले राजीनामा दिएपछि आचार्य ठुलो दलको हैसियतमा प्रदेश १ को मुख्यमन्त्री भए। राजनीतिक अदुरदृष्टी भएका आचार्य हनिमुन मनाउन नपाई मुख्यमन्त्रीबाट बिदा भए।

अहिले न उनीसँग मुख्यमन्त्री पद छ न आफ्नो पक्षको पार्टी सङ्गठन नै। हिजो ओलीको साथ नपाउँदा शेरधन मुख्यमन्त्री बनेको टुलटुल हेर्न बाध्य आचार्य आज उनै ओलीलाई साथ दिँदा राजेन्द्र राई मुख्यमन्त्री बनेको टुलुटुलु हेर्न विवश छन्। दुवैको कारण सङ्कटमा  सुरक्षित आश्रय खोज्दै उनको बानी नै हो।

भर्खरै सम्पन्न एमालेको पालिका अधिवेशनमा उनको प्रभाव कमजोर देखिइसक्यो। आचार्य आफ्नो गृह जिल्ला सुनसरीमा प्रभावहीन बनेका छन्। दुई वटा जिल्ला कमिटी रहेको सुनसरीमा जेठ २ मान्ने र नमान्नेबिच विवाद छ। आचार्य जेठ दुईको पक्षमा छन्। 

एमाले विवाद उत्कर्षमा भएको बेला अध्यक्ष ओलीले नै सुनसरी अध्यक्ष बनाएका रेवतीरमण भण्डारीले अधिवेशन गराएका छन्। जेठ २ अघिका अध्यक्ष रमेश बस्नेतले धरान उपमहानगरमा समानान्तर कमिटी गठन गरे पनि त्यसलाई पार्टीले मान्यता दिएको छैन। हिजो आचार्यकै निकट मानिएका भण्डारी र बस्नेत दुई ध्रुवमा छन् अहिले। 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा टिकट नदिएको बदला लिन भण्डारी जसरी पनि आचार्यको शक्ति कमजोर बनाउने अभियानमा छन्। आचार्य कमजोर बनाएर आफू केन्द्रीय स्तरमा उदाउने उनको रणनीति देखिन्छ। भण्डारीले सोचेजस्तै आचार्य हरेक हिसाबमा कमजोर बन्दै गएका छन्।

यो अलमलमा आचार्यले आफ्नो राजनीतिक हैसियत कति जोगाएका छन् त्यो एमालेको आगामी केन्द्रीय अधिवेशनले देखाउने छ नै।

कात्तिक १६, २०७८ मंगलबार १८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।