गण्डकीका खेलकुद मन्त्री 'मनाङे'को अपत्यारिलो सम्पत्ति विवरण, आठ वर्षमा १४ करोड हरायो

गण्डकीका खेलकुद मन्त्री 'मनाङे'को अपत्यारिलो सम्पत्ति विवरण, आठ वर्षमा १४ करोड  हरायो

उनका अधिकांश ऋण व्यक्तिगत देखिन्छ। केही जग्गा खुलाए पनि ती जग्गाहरू संयुक्त लगानीमा किनेको उनले पेस गरेको सम्पत्ति विवरणमा उल्लेख छ। उनको नाममा कृषि फार्म समेत रहेको छ।

मन्त्री नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भए पनि उनले चार महिनापछि असोज १८ मा आफ्नो सम्पत्ति विवरण गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन्।

उनी स्वतन्त्र रूपमा मनाङ प्रदेश सभा ‘ख’ बाट निर्वाचित भएका थिए। उनले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएकोबारे आफूसँग पैसा नभएको र केटाहरूलाई सापटी दिएको पैसा उठाउन बाँकी रहेको दाबी गरेका थिए। तर उनको सम्पत्ति विवरणमा सापटी दिएको केही विवरण खुल्दैन। अधिकांश ऋण लिएका छन् त्यो पनि व्यक्तिगत।

के-के खुलाए सम्पत्ति विवरणमा

मनाङेले प्रकाश,  कृष्ण र श्याम महर्जनको नाममा काठमाडौँ-२९ धर्मस्थलीमा कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको खुलाएका छन्।  उनले जग्गा प्रतिआना ९ लाख रुपैयाँमा किनेको उल्लेख गरे पनि त्यसको स्रोत के हो भन्ने खुलाएका छैनन्।

मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरि-२ मा ३ रोपनी जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ। पदमपोखरी मकवानपुरमा एक रोपनी ९ आना १० दाम संयुक्त जग्गा रहेको र त्यसमध्ये १५ आना छोराको नाममा रहेको उनले खुलाएका छन्।

सेयर लगानी छैन, सुन २२ तोला, १० लाख बचत

उनको सम्पत्ति विवरणमा २२ तोला सुन रहेको उल्लेख छ। सुनको स्रोत २०५४ सालमा १५ तोला र २०७० मा ७ तोला किनेको दाबी गरेका छन्। सुन किन्ने स्रोत २०५४ मा वैदेशिक रोजगारी र २०७० मा व्यापार व्यवसाय रहेको उल्लेख गरेका छन्।

पोखराको एभरेस्ट बैङ्कमा १० लाख ४९ हजार ५ सय ३६ रुपैयाँ मौज्दात रहेको उल्लेख छ। यसको स्रोत सांसद र मन्त्री हुँदा प्राप्त भएको उल्लेख गरेका छन्।

२०६८ मा ४५ तोला चाँदी किनेको र पैतृक सम्पत्तिका रूपमा आएको ८३ तोला मुगाको माला रहेको उनले उल्लेख गरेका छन्।

६ करोड ऋणएक करोड ४० लाख तिर्न बाँकी

उनको सम्पत्ति विवरणमा ६ करोड १० लाख रुपैयाँ ऋण लिएको उल्लेख छ। ती सबै ऋण व्यक्तिसँग लिएको दाबी गरेका छन्। त्यसमध्ये ४ करोड ७० लाख रुपैयाँ तिरिसकेको र १ करोड ४० लाख तिर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

उनको सम्पत्ति विवरण अनुसार २०७३ मा कर्म गुरुङसँग ४० लाख रुपैयाँ ऋण लिएका थिए। २०७७ मा रमेश रानासँग ४० लाख रुपैयाँ, मनाङ फलफूल सप्लायर्ससँग २०७३ मा ६० लाख ऋण लिएको उल्लेख छ।

उनको सम्पत्ति विवरण अनुसार उनले  टीका भण्डारीसँग दुई करोड ३५ लाख रुपैयाँ ऋण लिएका थिए। त्यो ऋण २०७१ मा तिरे। २०७२ मा टासी गुरुङसँग २ करोड ३५ लाख रुपैयाँ ऋण लिएर त्यो पनि तिरिसकेका छन्। उनको सङ्घर्ष गाईभैंसी प्रालिमा भैँसी २० वटा र गाई ५ वटा रहेको उल्लेख छ।

उनले ऋण लिएको उल्लेख गरे पनि के प्रयोजनमा लिएको भन्ने खुलाएका छैनन्।

१४ करोड ७३ लाख ३१ हजार खै ?

आठ वर्ष अगाडि आपराधिक पृष्ठभूमिका मनाङेसहितका ६ जनाको सम्पत्ति खोज्दा उनको नाममा १४ करोड बढी सम्पत्ति रहेको खुलेको थियो। सम्पत्ति शुद्धीकरण विभाग ब्युरोको अनुसन्धानमा उनको १४ करोड ७३ लाख ३१ हजार सम्पत्ति रहेको र त्यसको स्रोत नखुलेकाले आपराधिक गतिविधिबाट कमाएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो।

विशेषमा दायर भएको अभियोग पत्रमा मनाङेको परिवारको नाममा बाहेक उनकै नाममा गोसाईंकुण्ड क्रसर, ओम मल्टिपर्पोज, इच्छामाई र वेस्ट पोइन्ट रोडा-ढुङ्गामा ५० लाख बढी शेयर लगानी र मकवानपुरमा १४ कट्ठा जग्गा रहेको दाबी थियो।

नुवाकोटको ककनीमा करिब ३ करोड बराबरको ७८ रोपनी जग्गा रहेको, ठमेलको कवाडी सामानको व्यापार, वीरगन्जमा ट्रान्सपोर्टमा समेत लगानी रहेको दाबी गरिएको थियो। उनी र उनको श्रीमती पासाङ डोमा गुरुङलाई प्रतिवादी बनाएर २०७० जेठ ५ मा दर्ता भएको मुद्दामा २०७४ भदौमा सफाइ पाए पनि सर्वोच्च अदालतमा पुनरावेदन परेको थियो। 

मनाङेबारे थप

कात्तिक १६, २०७८ मंगलबार १५:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।