'न्यायमूर्तिले विश्वास नगरेको न्यायालयलाई जनताले कसरी विश्वास गर्छन् ?'

'न्यायमूर्तिले विश्वास नगरेको न्यायालयलाई जनताले कसरी विश्वास गर्छन् ?'

काठमाडाैंः अधिवक्ता कूलबहादुर बाेगटीले न्यायमूर्तिले नै विश्वास नगरेकाे न्यायालयलाई जनताले कसरी विश्वास गर्छन् भन्दै प्रश्न गरेका छन्।नेपाल बार एसाेसिएसनकाे विराेध सभालाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन्। 

'न्यायालयकाे विसंगतिका बारेमा कतै छ भन्ने कतै छैन भन्ने। याे कस्ताे नेतृत्त्व हाे? न्यायमूर्तिले विश्वास नगरेको न्यायालयलाई जनताले कसरी विश्वास गर्छन्?' उनले भने। 

यस्तै उनले ऐतिहासिक न्यायकाे लडाइँमा सबै एक ठाउँमा आउनुपर्ने पनि बताए। 'जुन दिन प्रन्याले अदालतलाई सडकमा पुर्याउँछन्, त्यो दिन सडकमा हावा चल्छ। यो आन्दोलन त्यहाँ पुग्छ', उनले भने। 

यस्तै विराेध सभामा आफ्नाे धारणा राख्ने क्रममा अधिवक्ता ओम प्रकाश अर्यालले प्रधानन्यायाधीशप्रतिकाे विश्वास टुटेकाे बताएका छन्। उनले प्रधानन्यायाधीशलाई राजीनामा दिएर नैतिकता देखाउन पनि आग्रह गरेका छन्। 

'सम्मानपूर्वक निकास भनेको राजीनामा नै हो। अरू विकल्पमा सम्झौता हुन सक्दैन। राजीनामा दिएर नैतिकता देखाए हुन्छ', अर्यालले भने। 

यता अधिवक्ता कपिल चन्द्र पाेखरेलले प्रधानन्यायाधीशकाे राजीनामा मात्र समस्याकाे हल नभएकाे बताएका छन्। उनले प्रणालीकै समस्याकाे दीर्घकालीन हल खाेज्नुपर्ने बताएका छन्। 

'न्यायालय असफल भयो भने तलका निकाय के होला? दलहरु मौन छन्, यो गैरजिम्मेवार कुरा हो। शोभनीय विषय होइन', उनले भने। 

यस्तै बारका पूर्वसचिव बालकृष्ण ढकालले प्रधानन्यायाधीशलाई सर्वाेच्च प्रवेशमै राेक लगाउनुपर्ने अवस्था सृजना हुन सक्ने चेतावनी दिएका छन्। उनले भने, 'उहाँले राजीनामा दिनुभएन भने न्यायालय कोमामा पुग्छ। अपांग हुन्छ। उहाँले निष्कर्ष दिनुपर्छ। अन्यथा सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्ने अवस्था हुन सक्छ।' 

सर्वोच्च बारका महासचिव ऋषिराम घिमिरेले प्रधानन्यायाधीशमा कर्तव्य र नैतिकता नभएकाे बताए। 'म्यारिजलाई बौद्धिक खेल घोषणा गरिदिनुभयो। एक जनाले राजीनामा दिएर नैतिकता देखाए। तर उहाँले नैतिकता देखाउनु भएन। रञ्जन कोइरालाको केशमा पनि त्यस्तै भयो', उनले भने।

नेपाल बार एसाेसिएसनले आयाेजना गरेकाे विराेध सभामा आज वरिष्ठ अधिवक्ता विजय मिश्र, अधिवक्ता कमला क्षेत्री उप्रेती, वरिष्ठ अधिवक्ता सविता भण्डारी, पूर्वन्यायाधीवक्ता रमण श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यलगायतले आफ्नाे धारणा व्यक्त गरेका थिए। 

कात्तिक १६, २०७८ मंगलबार १३:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।