चर्चित डान्सर सुशान्तलाई प्रहरीले एक घण्टा नियन्त्रणमा लिएर छाड्यो
शनिवार राती एक क्लबबाट निस्कँदा उनीमाथि प्रहरीले हातपात गरेको हो। प्रहरीले उनलाई एक घण्टा नियन्त्रणमा लिएर छाडेको थियो।
सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर उनले बिना गल्ती प्रहरीले आफूमाथि अपमान गरेको र झापड हानेको बताएका हुन्। उनले भनेका छन्,' क्लबबाट निस्कन लागेको समयमा बिल तिर्न बाँकी थियो। त्यही समयमा प्रहरीले घाँटीमा समातेर, आफूमाथि हातपात गर्यो।'
नेपाल पुलिस यो गलत हो भन्दै उनले एकै कुराले प्रहरी माथि हेर्ने नजर परिवर्तन भएको बताए। उनले भने,' मेरो बुबा पनि पूर्व प्रहरी हुन्, नेपालका सबै प्रहरीलाई म सम्मान गर्थे र गर्छु। तर बिना कारण हातपात गर्नु गलत हो।'
आफू सेलिब्रिटी भएकाले मात्रै हैन, सामान्य नागरिक भए पनि प्रहरीको त्यो व्यवहार स्वीकार्य नहुने उनको भनाई छ।
झन्डै १२ वर्षदेखि नेपालको नाम राख्न सङ्घर्ष गरे पनि आफूमाथि प्रहरीको व्यवहारले चित्त दुखेको उनको भनाई थियो। बिना गल्ती प्रहरी चौकीमा समेत हात जोडेर माफी मागेको भन्दै उनले आँसु समेत खसाले।
ठमेलको चोकमा प्रहरीले झापड हान्दा सयौँ मानिसले हेरिरहेको उनको भनाई छ। 'फोन समेत खोसेर चलाउन दिएको थिएन, मैले मेरो परिवारलाई खबर समेत गर्न पाइन' सुशान्तले भने।
भारतको चर्चित रियालिटी सो डान्स प्लस सिजन २ को उत्कृष्ट चारमा परेका सुशान्त चर्चित डान्सर हुन्। उनले प्रभु देवा, वरुण धवन, श्रद्धा कपुर लगायतको मुख्य भूमिका रहेको फिल्म स्ट्रिट डान्सर थ्रिडीमा अभिनय समेत गरिसकेका छन्।
कात्तिक १५, २०७८ सोमबार १६:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।