‍…त्यसपछि फर्किएका छैनन् जीवन

‍…त्यसपछि फर्किएका छैनन् जीवन

इटहरी : यही कात्तिक २ गतेको झरी आँसुको रूपमा बर्सियो। त्यो वर्षाले किसानको पेटमा लात मात्र हानेन, कैयौंका आफन्त छिन्यो। कतिलाई बेपत्ता बनायो।

केही दिनमै वर्षा त रोकियो तर वर्षासँग आएको बाढी र पहिरोले बेपत्ता बनाएका परिवारको आँखा अझै ओभाएका छैनन्।

बाढी र पहिरोका कारण प्रदेश १ मा मात्र ७१ जनाको मृत्यु भयो भने ६ जना अझै बेपत्ता छन्। त्यही बेपत्ताको सूचीमा छन्, सुन्दरहरैचाका जीवन पराजुली। 

सुन्दरहरैचा स्थायी घर भएका पराजुली इटहरीमा बस्दै आएका थिए। इटहरीमै डेरी सञ्चालन गर्दै आएका उनी सफारी चालक समेत हुन्। 

मंगलबार बिहानैदेखि भीषण वर्षा भइरहेको थियो। केही समय वर्षा रोकिएको मौका छोपेर उनी रिक्सा लिएर बजारतिर निक्सिए। दिउँसो चिया खान घरै पुग्ने उनी त्यसदिन अबेरसम्म फर्केनन्। श्रीमती निर्मलाले उनको प्रतीक्षा गरिरहिन्।

प्रदेशभरि विद्यत अवरुद्ध थियो भने टेलिफोनको नेटवर्कमा पनि समस्या देखिएको थियो। निर्मलाले धेरै पटक सम्पर्कको प्रयास गरिन् तर सम्पर्क भएन। टेलिफोनमा नेटवर्क नभएकोले होला भनेर उनी आश्वस्त भइरहिन्। 

१० मिनेट ढिला हुँदा फोन गर्ने श्रीमान्ले त्यस दिन साँझ पर्दासम्म सम्पर्क गरेनन्।

बाहिर पानी दर्किरहेको थियो। झरी रोकिने छनकसम्म थिएन। जल तथा मौसम विज्ञान विभागले केही दिन सतर्क रहन आग्रह गरिरहेकै थियो। 

‘राति ८ बजेसम्म नआएपछि तारन्तार फोन गरें। तर सम्पर्क भएन। पानी आइरहेको थियो। १० बजेसम्म सम्पर्क हुन सकेन। त्यसपछि मोबाइल अफ भयो’, निर्मलाले भनिन्, ‘बिहानसम्म कतै हुनुहोला भन्दै पर्खेर बस्यौं। 

भोलिपल्ट सफारी मात्र भेटियो। सफारी भेटेको आधारमा त्यतैतिर खोज्यौँ। बग्नु भयो कि भन्ने शंका पनि भयो। गोताखोर बोलाएर पनि खोजियो। अहिलेसम्म भेटिनुभएको छैन।’


बेपत्ता जीवन पराजुली

जीवनको सफारी पूर्व-पश्चिम राजमार्गमा पर्ने दुलारी चोकमा भेटिएको थियो। राजमार्ग भत्किएको ठाउँमा सफारी मात्र थियो, उनी थिएनन्। उनको खोजी त्यही आधारमा सुरु भयो। 

राजमार्ग नजिकै रहेको रीता होटेलको सिसी क्यामेरा फुटेजमा उनले सफारी तानेको देखिन्छ। केही बेर सफारी तानेपछि जीवन बाहिर निस्किएका छन्। त्यसपछि कता गए भनेर प्रष्ट छैन। केहीबेर यताउति गरेको देखिए पनि उनी कुन दिशातिर लागे भन्ने यकिन हुन सकेको छैन। 

जीवन बेपत्ता भएको सूचना पाएपछि नेपाल प्रहरी र नेपाली सेनाले खोजी कार्य तीव्र पारे। स्थानीय सरकारले पनि फोटोसहित खोजीकार्य अगाडि बढायो। १५ दिन पुगिसक्दा पनि उनको अत्तोपत्तो छैन। 

तर जीवनको परिवारले बाटो हेर्न छाडेको छैन। दुई छोरा पेशल र दीपक उनकै पर्खाइमा छन्।

धामी–झाँक्री देखाएर समेत उनको खोजीमा लागेको छ परिवार। धामीले जोखाना देखाएको सबै ठाउँमा पुगेको बताउँछिन् निर्मला। तर कतै पत्ता नलागेपछि थाकेर बसेको उनले सुनाइन्। 

जीवन लामो समय विदेश बसेर नेपाल फर्किएका हुन्। भुटान, मलेसिया, कतार लगायत देशमा रोजगारी गरेर बसे। त्यसपछि गाउँमै केही गर्ने सोचमा फर्किएका उनले गाई फार्म खोले। 

फार्म र डेरी सँगै खोलेका उनले समय दिन सकेनन्। त्यसपछि फार्म बेचेर इटहरीमै डेरी चलाएर बस्न थालेका थिए।

जीवनले गत असारदेखि सफारी चलाउन थालेका हुन्। डेरी सम्हालेका छोराहरू सफारी चलाउने बा फर्किने बाटो हेरिरहेका छन्।


जीवनकी श्रीमती निर्मला र छाेरा

कात्तिक १५, २०७८ सोमबार १४:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।