हमालकाे कपाल के दर्शक रिझाउने माध्यम बन्ला त ?
काठमाडाैंः कुनै बेला नायक राजेश हमालको परिचय थियो- उनको कपाल। पुलिस बन्दा होस्, गाउँले किसान बन्दा होस्, व्यापारी बन्दा होस् या चलचित्रमा उनका आमा बा बितेकाे दृश्यमा नै किन नहोस् उनको कपाल काट्ने हिम्मत कुनै निर्देशकले गर्न सकेका थिएनन्।
अरू त अरू उनले आफ्नै बाबु बित्दा पनि कपाल काटेका थिएनन्। त्यसमा उनकाे आफ्नै कारण हाेलान्।
पछि निकै जोडबल गरेर निर्देशक दिपेन्द्र के खनालले राजेश हमालको कपाल कटाए। 'द युगदेखि युगसम्म' फिल्मको छायांकन नै रोकिने अवस्था आएपछि बल्ल हमालले कपाल काटेका थिए।
फिल्म खासै चलेन। तर उनले कपाल काटेको चर्चा भने निकै चुलिएको थियो त्यो बेला।
त्यसपछिका फिल्ममा भने उनले कपाल काट्न थालेका थिए। फिल्म हँसियामा उनले क्यारेक्टरकै लागि भनेर चौथो पटक कपाल काटे। त्यसपछि चाहिँ उनले कतिपटक कपाल काटे भनेर गन्न छाडिएको थियो।
पछिल्लो समय 'को बन्छ करोडपति' सकिएपछि भने उनको कपाल फेरि बढेको छ। यतिबेला उनको कपाल पहिलेकै अवस्थामा आइसकेको छ।
लामो समय म्युजिक भिडियोतिरै रमाएका हमालको पछिल्लाे काम दर्शकले खासै मन पराएका छैनन्। उनको चर्चा जतिखेरै महानायक हो या हैन भन्नेमै टिकेको छ।
छेउ न टुप्पाेकाे र्याप गीतमा अभिनय गरिसकेपछि उनी कहिल्यै सुध्रदैँनन् भन्ने अड्कल काटेका थिए उनका शुभचिन्तकले। तर अहिले फेरि पुरानै तरिकाले कपाल पाल्दा राजेश पुरानै शैलीमा फर्कन लागेको प्रतिक्रिया आएको छ।
दर्शकले मन पराउलान् कि भन्ने आसले कपाल काटेर पुरानै शैलीमा फर्किन लागेकाे भन्ने पनि अड्कलबाजी सामाजिक सञ्जालहरूको प्रतिक्रिया हेर्दा थाहा हुन्छ।
हमालकाे कपाल के दर्शक रिझाउने माध्यम बन्ला त? याे भने हेर्न बाँकी छ।
कात्तिक १५, २०७८ सोमबार १४:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।