मुख्यमन्त्री आचार्यले राजीनामा दिने सम्भावना
इटहरीः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनु अगाडि राजीनामा दिने सम्भावना देखिएको छ। मुख्यमन्त्रीको सचिवालयका अनुसार विश्वासको मत प्राप्त नहुने सम्भावना भएपछि उनले राजीनामा दिने भएका हुन्।
आफ्नै निवासमा दलका नेताहरूसँग केही बेरअघि परामर्शपछि मुख्यमन्त्री आचार्य हाल संसद् बैठकका लागि निस्किएका छन्। राजीनामा दिने वा विश्वासको मत लिने अहिल्यै टुङ्गो नलागेको स्वकीय सचिव लोकेश निरौलाले जानकारी दिए।
यद्यपि, आचार्यले सरकारको नेतृत्त्व लिएपछि आफूले गरेका कामको विवरण प्रदेश सभामा पेश गर्दै राजीनामा दिन सक्ने उनले सुनाए।
भदौ १० गते शेरधन राईले राजीनामा दिएपछि मुख्यमन्त्री बनेका आचार्य प्रदेश १ दोस्रो मुख्यमन्त्री हुन्।
एमाले विभाजनपछि आचार्य नेतृत्त्वको सरकार अल्पमतमा परेको थियो।
सरकारले यो अवधिमा प्रदेश खेलकुद बोर्ड गठन, प्रदेश राजधानीको स्थायी राजधानीका संरचना निर्माण गर्न जग्गा खोज कार्यदल गठन, मनमोहन प्राविधिक विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्तिको स्रोत सुनिश्चित गर्ने काम, प्रदेश सभाको विराटनगरस्थित नयाँ सभाहल उद्घाटन, धनकुटामा एक सय शय्याको अस्पताल उद्घाटनलगायतका काम गरेको छ।
यता विपक्षी गठनबन्धनले नेकपा (एकिकृत समाजवादी)का नेता राजेन्द राईलाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गर्ने निर्णय गरेको छ।
९२ सदस्यीय प्रदेश सभामा बहुमतको लागी ४७ सांसद आवश्यक पर्ने हुन्छ। हाल विपक्षी गठबन्धनसँग ५० सांसद छन्। विभाजनपछि एमालेमा ४१ सांसद छन्।
कात्तिक १५, २०७८ सोमबार १३:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।