फ्लाेर क्रस गरेका तीन जना मन्त्रीकाे राजीनामा आज

फ्लाेर क्रस गरेका तीन जना मन्त्रीकाे राजीनामा आज

सुर्खेतः कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले आज सामूहिक राजीनामा दिँदैछन्। फ्लाेर क्रस गरेकाले पार्टीले कारबाही गरेका तीन सांसदकाे ६ महिने पदावधि सकिएकाले उनीहरूले आज राजीनामा दिने भएका हुन्।

राजीनामा दिनेमा भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कूर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन्। उनीहरूले आज बेलुका सामूहिक राजीनामा दिन लागेका छन्।

तत्कालीन नेकपा एमालेबाट फ्लोर क्रस गरेर ४ जना सांसदले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। 

आज राजीनामा दिन लागेका तीन जना मन्त्री गत वैशाख ४ गते नियुक्त भएका थिए। मुख्यमन्त्री शाहीले फ्लोर क्रस गरेका तीन जनालाई गैर सांसदको रूपमा मन्त्री नियुक्त गरेका थिए। केन्द्रको आदेशअनुसार एमालेले वैशाख १३ गतेको प्रदेश सभा बैठकबाट उनीहरूलाई औपचारिक रूपमा पदमुक्त भएको घोषणा गरेकाे थियाे। 

कर्णाली प्रदेश सभामा नेकपा एमालेका सभामुखसहित १३ जना, नेकपा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६, नेकपा समाजवादीका ३ र राप्रपाका एक सांसद छन्।

कात्तिक १५, २०७८ सोमबार ०८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।