कार्यवाहक प्रधानमन्त्रीले लिए राष्ट्रिय झन्डाबिना पिर्के सलामी
बुटवल : कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय झन्डा बिनै पिर्के सलामी लिएका छन्।आइतबार जिल्ला भ्रमणमा आएका खाँणले राष्ट्रिय झन्डा बिना निवासमै पिर्के सलामी लिएका हुन्।
सामान्यतया राष्ट्रिय झन्डा बिना सलामी लिने-दिने गरिन्न। तर आइतबार खाँण निवासमै हवलदारको नेतृत्वमा रहेको नेपाल प्रहरीका जवानले सलामी दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।
राष्ट्रिय झन्डालाई साक्षी राखेर सम्मानित व्यक्तिलाई सलामी दिने प्रचलन भए पनि त्यसलाई समेत बेवास्ता गर्दै झन्डा बिना नै खाँणलाई पिर्कामाथि राखेर सलामी दिए।
गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रुपन्देही आउँदा १५ किलोको मालाले आलोचित बनेका खाँण झन्डा बिनै सलामी खाएपछि आलोचित बनेका छन्।
कानूनविद् तेजप्रसाद कँडेलका अनुसार यसरी सलामी दिने विषयलाई नेपालको कानुनले गलत वा सही भनेर कुनै व्याख्या नगरेको भए पनि नैतिक प्रश्न भने उठ्ने बताए।
कात्तिक १४, २०७८ आइतबार २२:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।