ओमप्रकाश अग्रवालकाे गुनासो : फिल्म नगरीकै शान भनिने व्यक्तिले मेरो पैसा खाइदिए

ओमप्रकाश अग्रवालकाे गुनासो : फिल्म नगरीकै शान भनिने व्यक्तिले मेरो पैसा खाइदिए

पछिल्लो समय त ओटिटीले नै फिल्म पनि बनाइरहेको छ। यद्यपि नेपालमा भने युट्युबकै वर्चस्व छ। ओटिली नभएका होइनन्, तर त्यहाँ स्तरीय कन्टेन्ट नहुँदा दर्शकको आकर्षण कम छ। तर, युट्युबमै फिल्म किनेर दर्शकसम्म पुर्याउनेलाई पनि सहज भने छैन। 

२०५७ सालदेखि फिल्म नगरीमा विभिन्न क्षेत्रमा रहेर काम गर्दै आइरहेका ओएसआर डिजिटलका म्यानेजिङ डिरेक्टर ओमप्रकाश अग्रवालले नेपाली फिल्मका निर्माता तथा निर्देशकहरूले गम्भीरता नदेखाउने गरेको गुनासो गर्छन्। पछिल्लो समय नेपाली फिल्मका लागि राम्रो माध्यम मानिने ओएसआर डिजिटलमार्फत बजारमा पुगेको पेस्की उठ्नै मुस्किल परिरहेको उनको भनाइ छ। 

'फिल्मको डिजिटल राइट्स खरिद गरिएको हुन्छ र त्यसका लागि पेस्की पनि दिने गरेका छौँ। तर त्यो फिल्म नबन्दा निर्माण कम्पनी सम्पर्कमा आउन छोड्ने गरेका छन्' ओमले भने।

उनले फिल्म बन्ने घोषणा भएपछि दिएको पेस्की, गीतसङ्गीतका लागि दिएको पेस्की, निर्माता निर्देशकहरूलाई दिएको सापटी नउठ्ने समस्याले आजित भएको बताए। 

'मैले सहयोगी भावना राखेर फिल्मकर्मीलाई लचिलो भएर पेस्की दिने र केही व्यक्तिगत रूपमै नगद सहयोग गर्ने गरेको छु तर त्यसपछि फिल्मकर्मी सम्पर्कमै आउँदैनन्,' ओमले गुनासो गरे।

फिल्म बनाउने भनेर सम्झौता गरिएका फिल्मकर्मीले समेत फिल्म नबनाउँदा समस्या परेको उनको भोगाइ छ।

'मैले २०६३ सालमा मेरो भागको सम्पत्ति एक करोड ५६ लाख बेचेर यस क्षेत्रमा लगानी गरेको हुँ तर त्यसको प्रतिफल धोका मात्र पाउने गरेको छु,' ओमले भोगाइ सुनाए। आफूसँग प्रमाण हुँदा कारबाही किन गर्दैनन् त ? उनी भन्छन्, 'छलकपट गर्नेमा फिल्म नगरीकै शान भनिने व्यक्तित्व पनि छन्।'

'हाम्रो क्षेत्रलाई असर गर्छ भनेर पनि मैले कानुनी कारबाही गरिरहेको छैन,' ओमले भने। यद्यपि उनी अब कानुनी उपाय अपनाउने तयारीमा छन्। 'मैले केही व्यक्तिको नाम सामाजिक सञ्जालमै तोकेर पनि सार्वजनिक गरेको छु। अब, एक पटक वार्निङ दिएर अगाडि बढ्छु,' ओमले भने।

उनले फिल्मकर्मीले इमानदारिता नदेखाउँदा काम गर्नै समस्या परेको गुनासो गरे। 'मलाई पैसा मात्र कमाऊ भन्ने नै छैन, तर यहाँ त काम गर्नै समस्या भइसक्यो,' उनले सुनाए।

उनले फिल्म क्षेत्रमा प्रोफेस्नालिज्म निकै कम रहेकाले यस्तो समस्या आउने गरेको बताए। 

'यहाँ आफ्नो दायित्वलाई बहन नगर्दा हामी जस्तो बिजनेस गरेर यसै क्षेत्रमा मुनाफा लगाउ भन्नेलाई काम गर्ने वातावरण नै छैन,' ओमले गुनासो गरे। केही समययता अधिकांश ठुला ब्यानरसँग सहकार्य गरिरहेका ओमले कानुनी बाटोमार्फत नै अब अगाडि बढ्ने योजना सुनाए।

-न्युज कारखाना 

कात्तिक १४, २०७८ आइतबार १९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।