फ्लोर क्रस गरेर शाहीको सरकार जोगाएका कर्णालीका तीन मन्त्रीले राजीनामा दिँदै

फ्लोर क्रस गरेर शाहीको सरकार जोगाएका कर्णालीका तीन मन्त्रीले राजीनामा दिँदै

फ्लोर क्रस गरेकोमा पार्टीले कारबाही गरी सांसदबाट मुक्त भएका उनीहरूको पदावधि ६ महिना पुगेकाले उनीहरूले राजीनामा दिन लागेका हुन्।

सोमबार ५ बजे सामूहिक राजीनामा दिने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिए।

‘हाम्रो भोलि पदावधि सकिँदै छ। नीति र विधि अनुसार हामी ५ बजे सामूहिक राजीनामा दिनेछौँ,’मन्त्री थापाले भने, ‘हामीले यो ६ महिनाको बिचमा धेरै काम गर्यौँ। नीति नियम बनाउने देखि बजेट कार्यान्वयनमा चुस्त र दुरुस्त बनाएका छौँ। पहिला बिग्रेका सिस्टमलाई नीति नियममा ल्याई व्यवस्थित गरेका छौँ।’

उनले आफू भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय आएपछि बजेट खर्चको मात्रा बढेको र विभिन्न जिल्लाहरूमा गौरवका योजनाहरू समेत सञ्चालनमा आएको बताए ।

पहिला देखि नै उही मन्त्रालय सम्हाले पनि ६ महिनाको अवधिमा धेरै कामहरू गर्न सफल भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले दाबी गरे।

 ‘हामीलाई सम्मानित अदालतले पदमुक्त गरिसकेपछि स्वतन्त्र नागरिकको हिसाबले मन्त्री पद लिएका थियौँ। हाम्रो लडाइँ नीति र विधिको थियो। तर पनि पार्टी अलग भएपछि हामी अहिले समाजवादीमा छौँ,’मन्त्री बुढाले भने, ‘यो छोटो समयमा नै विभिन्न कार्यविधि बनाइ हरेक पालिका स्तरमा बजेट पुर्याएर कार्यान्वयन गराइएको छ।’

पदमुक्त भइसकेपछि समाजवादी पार्टीले मन्त्रीमा कसलाई पठाउने भन्ने बारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

नेकपा विभाजित भएर एमाले र माओवादी केन्द्रकै रूपमा फर्किएपछि कर्णालीको सरकार ढाल्ने प्रयास भएपछि एमालेका चार सांसदले वैशाख ३ गते मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारलाई फ्लोर क्रस गरेर जोगाएका थिए। 

नेपाली काँग्रेससँगै तत्कालीन एमालेबाट फ्लोर क्रस गरेर ४ जनाले विश्वासको मत दिएपछि शाहीको सरकार जोगिएको थियो।

फ्लोर क्रस भएपछि एमालेले ४ जना सांसदलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरेको थियो। वैशाख ४ गते नै मुख्यमन्त्री शाहीले फ्लोर क्रस गरेका तीन जनालाई गैर सांसदको रूपमा मन्त्री नियुक्त गरेका थिए। केन्द्रको आदेश अनुसार एमालेले वैशाख १३ गतेको प्रदेश सभा बैठकबाट उनीहरूलाई औपचारिक रूपमा पदमुक्त भएको घोषणा गर्यो।

४ जना सांसदको पद मुक्त भएपछि मन्त्री भएका तीन जनालाई फेरी ६ महिनाका लागि स्वतन्त्र हैसियतले वैशाख १५ गते फेरि शपथ खुवाई पुरानै जिम्मेवारी दिइएको थियो।

बुढा डोल्पा ‘क’ बाट प्रत्यक्ष निर्वाचित भएका थिए भने थापा दैलेखको निर्वाचन क्षेत्र नम्बर एक ‘ख’बाट निर्वाचित भएका थिए। यस्तै शाही कालिकोट ‘क’बाट प्रत्यक्ष निर्वाचित भएका थिए। उनीहरू तीनै जना नेकपा एकीकृत समाजवादी पार्टीका नेता हुन्।

सुरुमा ४० सदस्यीय प्रदेशसभा भए पनि अहिले ३५ सदस्य मात्रै बाँकी छन्। नेकपा माओवादीबाट निर्वाचित दैलेखको निर्वाचन क्षेत्र नम्बर एक ‘क’बाट निर्वाचित सांसद धर्मराज रेग्मी  एमालेमा प्रवेश गरेकाले माओवादीले पदमुक्त गराएको थियो।

कर्णाली प्रदेश सभामा नेकपा एमालेका सभामुखसहित १३ जना, नेकपा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६, नेकपा समाजवादीका ३ र राप्रपाका एक सांसद छन्।

कात्तिक १४, २०७८ आइतबार १८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।