लुम्बिनी प्रदेश सभामा एमाले : पहिलो बैठकमा नाराबाजी, दोस्रो बहिष्कार 

लुम्बिनी प्रदेश सभामा एमाले : पहिलो बैठकमा नाराबाजी, दोस्रो बहिष्कार 

आज बसेको लुम्बिनी प्रदेश सभाको दोस्रो बैठकमा कृषि खाद्य तथा प्रविधि मन्त्री सुमन शर्माले विधेयक टेबल गरेका थिए। 

मन्त्री शर्माले टेबल गरेको विधेयक समितिमा पठाउने प्रस्ताव सभामुख पूर्ण बहादुर घर्तीले सर्वसम्मतका साथ स्वीकृत भएको घोषणा गरे।त्यसअघि मुख्यमन्त्री कुल प्रसाद केसीले मुख्यन्याधिबक्ताको आर्थिक वर्ष ०७६/०७७ र ०७७/०७८ को प्रतिवेदन सभामा पेस गरेका थिए। उक्त प्रतिवेदन छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको छ। 

प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल एमालेले आज पनि विरोध गरेको छ। बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरूले नाराबाजी गर्दै रोष्टम घेराउ गरे। 

एमाले प्रदेश सभाका सांसद तुलसी चौधरीले सूर्य चिन्हबाट निर्वाचित सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगर्दासम्म बैठक चल्न नदिने बताए। 

एमालेको नाराबाजी पछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो। त्यसपछि बसेको बैठक भने प्रतिपक्ष दल एमालेले बहिष्कार गरेको थियो। प्रदेश सभाको अर्को बैठक कार्तिक २८ गते बस्नेछ।

कात्तिक १४, २०७८ आइतबार १७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।