देबेन्द्रको 'मनमाया' सार्वजनिक (भिडियाेसहित)
काठमाडाैंः ग्रामिण महिला शिक्षा अभियानअन्तर्गत प्राैढ शिक्षा पढाउन पुग्छन्- २६ वर्षीय ठिटो नरबहादुर। केही दिन त्यही गाउँमा बसेर नरबहादुरले गाउँका महिलाहरूलाई पढ्न लेख्न सिकाउँछन्। उनको बसोबासको व्यवस्था मिलाइएको छ- मनमायाको घरमा। मनमाया ३२ वर्षकी अधबैंसे महिला हुन्। घरमा उनी एक्लै छिन्।
नरबहादुरले मनमायालाई मन पराउँछ। मनमाया पनि नरबहादुरलाई मन पराउँछे। यी दुईको प्रेम सफल होला या असफल, हेर्न मनमाया नामको म्युजिक भिडियो हेर्नैपर्छ।
नेपाली समाजको चलनभन्दा फरक कथा समेटेर गायक तथा कलाकार देबेन्द्र बब्लुले नयाँ गीत र त्यसको म्युजिक भिडियो प्रर्दशनमा ल्याएका छन्। युट्युवमा गीत र म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
फरक कथाबस्तु र परिवेशमा काम गर्दै आएका बब्लुले मनमाया गीतमा पनि फरक काम गरेका छन्। आफूभन्दा कम उमेरको केटासँग कुनै महिलाको पनि प्रेम बस्ला, उनीहरूलाई पनि कम उमेरको केटो आकर्षक लाग्ला भन्ने सोचेर आफूले गीतको भिडियो बनाएको बब्लुको भनाइ छ।
भिडियोकाे छायांकन पनि राम्राे छ। नरबहादुरले उमेर २६ लेखिरहँदा मनमायाले आफूले लेखेको उमेर कलमले केर्छिन्। अर्को दृष्य छ भाले र पोथीको। मनमायाको भालेकहाँ पोथी ल्याइन्छ। जसमा समाजको नजर जस्तै पोथी सानो तर भाले ठूलो देखाइन्छ।
यी दृष्यहरू क्यामरामा कैद गर्न निकै मेहनत परेको पनि बब्लुले बताए। उनले भने, 'सुटिङका लागि दुई दिन लाग्यो, जसमा एक दिन त त्यही भाले र पोथीको सिनले खायो।'
फरक प्रेम खोज्ने क्रममा मनमायालाई भेटेको उनको भनाई छ। उनले भने, 'अघिल्लो वर्ष फिल्मको सुटिङमा जाँदा होमस्टेमा बसेका थियौं। त्यो होमस्टेमा मनमाया जस्तै पात्र भेटेको थिएँ। उहाँ बिहानै उठ्ने नुवाइधुवाई गरेर खाजा बनाएर हामीलाई दिने गर्नुहुन्थ्यो। उहाँको विहे भयो या भएन के कस्तो हो सोधिएन तर मलाई उहाँप्रति छुट्टै लगाव हुनपुग्यो। त्यही बेलामा यस्तो थिममा काम गर्ने रहर भए पनि ढिलो गरेर मनमाया बनेको हाे।'
बब्लुकाे सुरुमा छोटो फिल्म बनाउने योजना थियो। त्यसैअनुसार पोखराको हंसपुरमा छायांकन पनि गरिएको थियो। तर बोलेका संवादलाई संगीतवद्ध गरेर गीत तयार पारेको उनले बताए।
भिडियोमा मनमायाको भूमिका कलाकार पशुपति राईले निभाएकी छन्। नरबहादुरको भूमिकामा भने बब्लु स्वयं छन्।
गीतमा बब्लु र गायिका देवी घर्तीले स्वर भरेका छन्। गीत लेखन तथा संगित पनि बब्लुकै छ।
यस्ताे छ गीतकाे म्युजिक भिडियाेः
कात्तिक १४, २०७८ आइतबार १२:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।