मुगालीका पीडा : गाडीमा दुर्घटनाको डर, जहाजको छैन भर !

मुगालीका पीडा : गाडीमा दुर्घटनाको डर, जहाजको छैन भर !

सुर्खेत : मुगुको छायानाथ रारा नगरपालिका –८ का घोघुरे विकले वडा नम्बर ४ स्थित ताल्चा विमानस्थल धाउन थालेको एक हप्ता बितिसक्यो।

उनका छोरा रामकृष्ण विक काठमाडौँमा सिभिल ओभरसियर पढ्छन्। दसैँमा घर आएका उनको परीक्षा कात्तिक २७ गतेबाट सुरु हुने भएकोले पनि तिहार नमानेरै नेपालगन्ज हुँदै काठमाडौँ फर्कन थालेका हुन्। 

प्रत्येक दिन तीन घण्टा पैदल हिँडेर विमानस्थलमा जहाज कुरेर बस्ने गरेका घोघुरेलाई नेपालगन्जसम्म गाडीमा पठाउन दुर्घटनाको हुने डर छ। असोज २६ गते मुगुमा ३३ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनापछि उनले छोरालाई जहाजमा पठाउन दैनिक विमानस्थल धाइरहेका हुन्। 

मुगुको छायानाथ रारा नगरपालिका–४ स्थित ताल्चा विमानस्थलमा जहाजको प्रखाईमा रहेका यात्रुहरू ।

उनले छोरालाई पठाउनका लागि तारा एअरलायन्सका कर्मचारीलाई पैसा समेत दिइसकेका छन्। तर एअरलायन्सका कर्मचारीहरूले चलेको टिकट भन्दा बढी दिनेलाई प्राथमिकता दिएर पठाउँदा उनले छोरालाई पठाउन सकेका छैनन्।

‘मैँले छोरालाई पठाउँला भनेर तीन घण्टा हिँडेर आउन थालेको पनि सात दिन भइसक्यो। नेपालगन्जसम्मको भाडा पनि कर्मचारीलाई दिइसकेका छौँ। हरेक दिन टिका टालो गरेर ल्यायो फेरि फर्किने गरेका छौँ,’ उनले भने, ‘गाडीमा पठाउन पनि अस्तिको दुर्घटनाले डर लाग्छ।’

यस्तै छायानाथ रारा नगरपालिका–२ का तिलक रावत छोरीलाई आँखाको अप्रेसन गर्न काठमाडौँ जाने जहाजको पालो कुर्न थालेको चार दिन भयो। उनी त्यहाँ होटेलमा बस्छन्। दैनिक दुई हजार रुपैयाँ होटेलमा खर्च हुने उनले बताए। उनले पनि समिट एअरलायन्सका कर्मचारीलाई टिकटका लागि सुरुको दिन नै भाडा दिए।

आजभोलि भन्दा भन्दै चार दिनपछि एअरलायन्सका कर्मचारीले उनलाई भाडा फिर्ता दिए।

‘छोरीलाई तत्कालै काठमाडौँ लिएर आँखाको अप्रेसन गर्नुपर्ने भएकोले नेपालगन्जसम्मको टिकटका लागि समिट एअरलायन्सका कर्मचारीलाई पैसा दिए। चार दिनपछि सिट भएन भनेर पैसा फिर्ता दिए,’उनले भने, ‘यहाँ त प्लेन चढ्नका लागि खुट्टा ढोगे पनि हामीले चढ्न पाएका छैनौँ। यहाँ त पैसा र पावर जसले लाउन सक्यो त्यो उड्यो अरू त हेरेर बस्ने हो।’

एअरलायन्सका कर्मचारीहरूले अगाडी नै पैसा लिएर टिकट हुन्छ भने पनि भोलिपल्ट गोप्यमा बढी पैसा लिएर अरूलाई नै उडाउने गरेको अर्का स्थानीय रतन खड्काले बताए।

‘यहाँ त जसले बढी पैसा पेल्यो त्यही उड्ने हो। लागेको भाडा दिए पनि बढी जसले दियो त्यही मान्छे जान पाउँछ,’उनले भने, ‘मेरी सासूलाई उपचारका लागि नेपालगन्ज लैजान खोजेको प्लेनमा सिट पाइँदैन, गाडी र एम्बुलेन्समा भाडा महँगो छ।’

घोघुरे, तिलक र रतन त प्रतिनिधि मात्रै हुन्। उनीजस्तै विभिन्न समस्यामा परेका स्थानीय  बिरामी र सुत्केरीले टिकट नपाउँदा १२ दिनसम्म विमानस्थलमा बास बस्न बाध्य भएका छन्।

मुगुबाट यातायातका साधनहरू आउने भए पनि बाटो कच्ची, जोखिमपूर्ण यात्रा र महँगो भाडा दर हुँदा यहाँका नागरिकको रोजाई जहाज भएको छायानाथ रारा नगरपालिका–२ का मनोज नेपालीले बताए।

यो सिजनमा उडानको सङ्ख्या बढाएपछि स्थानीयलाई सहज हुने उनको भनाई छ।

‘यहाँबाट सुर्खेत हुँदै नेपालगन्जसम्म बस र जिपहरू जाने भए पनि भाडा दर एकदमै महँगो छ। एक जनाले सुर्खेतसम्मको करिब तीन हजार बढी भाडा तिर्नुपर्छ। झन् रिजर्भ गरे त एउटै जिपले ६० हजार रुपैयाँसम्म लिने गरेका छन्,’ उनले भने, ‘असोज २६ मा भएको गाडी दुर्घटनाले त यहाँ मानिसहरू गाडीमा यात्रा गर्न नै डराउँछन्। कच्ची र साँघुरा सडकले दुर्घटनाको पनि उत्तिकै जोखिम छ।’

मुगु–नेपालगन्ज अहिले समिटको १८ सिटे एउटा जहाज, ताराको १६ सिटे दुई वटा र सिताको पनि १६ सिटे दुई वटा निजी एअरलायन्सका जहाजले दुई पटकसम्म उडान भर्दै आएका छन्।

पर्यटक बढेपछि स्थानीयले टिकट पाएनन्

कोरोना भाइरसका कारण विगत डेढ वर्षदेखि रारा आउने पर्यटकहरूको सङ्ख्या न्यून थियो। तर, पछिल्लो समय कोरोना सङ्क्रमण कम देखिएपछि एका एक पर्यटकको सङ्ख्यामा बुद्धि भएपछि स्थानीयले टिकट पाउन मुस्किल भएको सिता एअरलायन्सका मुगु इन्चार्ज शिव भामले बताए।

‘कोरोनाका कारण धेरै समयसम्म रारामा पर्यटक आएनन्। अहिले अवस्था सामान्य भएपछि एकाएक पर्यटकको सङ्ख्यामा बुद्धि भयो,’भामले भने, ‘काठमाडौँ र नेपालगन्जबाट पर्यटकहरू रिटर्न टिकटसहित आउँछन्। उनीहरूलाई हाल्नै पर्यो। सानो जहाजमा थोरै सिट हुन्छ। त्यसैले पनि यहाँका स्थानीयले टिकट पाउन सकेका छैनन्।’

पर्यटकहरूले अग्रिम टिकट बुकिङ गर्दा सोचे जति स्थानीयहरू उडाउन नसकिएको तारा एअरलायन्स मुगुका इन्चार्ज लक्ष्मी शाहीले स्वीकार गरे।

यद्यपि अप्ठ्यारोमा परेका चार÷पाँच जना स्थानीयलाई दैनिक पठाउने गरिएको उनले बताए।

‘रारा घुम्न आएका पर्यटकहरूले अग्रिम नै टिकट बुकिङ गरेका हुन्छन्। उनीहरूलाई कसरी क्यान्सिल गर्ने? भएसम्म पाइलटहरूलाई अनुरोध गरेर अप्ठ्यारोमा परेका दुई चार जना स्थानीयलाई दैनिक उडाउने गरेका छौँ,’ उनले भने, ‘अहिले मात्रै रारा घुम्न आउने सिजन भएकोले प्याक भएको हो। अरुबेला त यात्रु खोज्दै हिँड्नुपर्छ।’

कात्तिक १३, २०७८ शनिबार १८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।