समाजवादीको टिप्पणी : एमालेमा ‘बा’ प्रवृत्तिको समृद्धि आयो 

समाजवादीको टिप्पणी : एमालेमा ‘बा’ प्रवृत्तिको समृद्धि आयो 

बुटवल : नेकपा एकीकृत समाजवादीका नेताहरूले एमालेमा ‘बा’ प्रवृत्तिको समृद्धि आएको टिप्पणी गरेका छन्।

लुम्बिनीको भैरहवामा भएको कार्यक्रममा एमालेबाट विभाजन भएर गठन भएको समाजवादीका नेताहरूले एमालेमा ‘बा’ प्रवृत्तिको समृद्धि आएको टिप्पणी गरेका हुन्। 

लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले केपी शर्मा ओलीका कारण कम्युनिस्ट आन्दोलन ध्वस्त भएको आरोप लगाए। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन ध्वस्त पारेको उनले आरोप लगाएका हुन्। 

विश्वासी शनिबार भैरहवामा आयोजित समाजवादी सिद्धार्थनगरको युवा भेलामा बोल्दै थिए। विश्वासीले संविधान, पार्टी विधान, विचार सबैभन्दा माथि राखेर ओली अघि बढेको बताए। 

‘ओली प्रवृत्तिकै कारण आज कम्युनिस्ट आन्दोलन रक्षात्मक भएको छ’,उनले भने, ‘ओलीले रक्षात्मक र ध्वस्त पारेको कम्युनिस्ट आन्दोलन समाजवादीले जोगाएर आगामी दिनमा बलियो बनाउँछ।’ 

एमालेमा ओलीलाई देवत्वकरण गर्ने प्रवृत्ति बढेको बताउँदै विश्वासीले यसले कम्युनिस्टहरू बलियो नहुने र झनपछि झन् खुम्चिने बताए। 

कम्युनिस्ट पार्टीमा व्यक्ति नभई सङ्गठन, विचार र सिद्धान्त प्रधान हुने उनले उल्लेख गरे। ‘समाजवादी विचार र सिद्धान्तमा निर्माण भएको पार्टी हो’, उनले भने, ‘यसलाई जनतामाझ लगेर झनै बलियो र एक नम्बर पार्टी बनाउनुपर्छ।’ 

पछिल्लो समय समाजवादीमा युवापुस्ता, सबै वर्ग, क्षेत्र र समुदायको आकर्षण बढेको जनाउँदै विश्वासीले सबैको भरोसायोग्य पार्टी बनाउने दाबी गरे। 

पार्टीका केन्द्रीय सल्लाहकार एवं संविधान सभा सदस्य आदित्यनारायण कसौधनले वास्तविक कम्युनिस्ट पार्टी समाजवादी भएको दाबी गरे। उनले पार्टीका नीति, सिद्धान्त र विचार बोकेर जनतामाझ जानुपर्ने र समाजवादीलाई बलियो बनाउनुपर्ने बताए। प्रदेश कमिटी सचिव एवं रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङले नवौँ राष्ट्रिय महाधिवेशनपछि निर्वाचित एमाले नेतृत्वले कम्युनिस्ट आन्दोलनलाई छियाछिया पारेको आरोप लगाए। 

‘यसैले समाजवादी गठन गरेर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएका हौँ’,उनले भने, ‘समाजवादीले जुन खालको एजेन्डा, विचार र दृष्टिकोण बोकेका छ, यसले कम्युनिस्ट आन्दोलनलाई जोगाउने मात्र होइन पुनरुत्थान गर्छ।’ 

समाजवादीले युवा, महिला तथा श्रमजीवी र सबै क्षेत्रको प्रतिनिधित्व गर्ने र आम नागरिकको आवाज बोक्ने उनले दाबी गरे। उनले पछिल्लो पटक एमालेमा ‘बा’ प्रवृत्तिको समृद्धि आएको टिप्पणीसमेत गरे।

पार्टी केन्द्रीय कमिटी सदस्य एवं रुपन्देही सह–इन्चार्ज उमा काफ्लेले समाजवादीले व्यक्तिलाई प्रमुख नठान्ने बताउँदै आफूहरूले सिद्धान्त, नीति, नियम, कानुन, संविधान मान्ने बताइन्। 

‘यसैले हामी कम्युनिस्ट आन्दोलनमा लागेर समाजवादी पार्टी छानेका हौँ’,उनले भनिन्, ‘हाम्रा, विचार, सिद्धान्त, नीति सबै सही छन्, अब आम जनतामाझ गएर यसलाई स्थापित गर्नुपर्छ।’ 

युवा सङ्घ गठन

नगर भेलाले ५१ सदस्यीय युवा सङ्घ नेपाल सिद्धार्थनगर नगर कमिटी गठन गरेको छ। नितेश जानन्धरको अध्यक्षतामा युवा सङ्घ नगर कमिटी गठन गरिएको हो। 

उपाध्यक्षमा कृष्ण कुँवर, वसन्त क्षेत्री, विवेक थापा छन्। यस्तै सचिवमा विनम्र थापा क्षेत्री, कोषाध्यक्षमा समीर पन्थ, सह–सचिवमा प्रतीक क्षेत्री, अब्दुल हफिज र सुमित तुलाधर छन्।

पिपुल्स भोलियन्टर गठन

यस्तै, युवाको नगर भेलाले गम्भीरजंग कार्कीको अध्यक्षतामा ११ सदस्यीय पिपुल्स भोलियन्टर गठन गरेको छ। जसको सचिवमा निश्चल गुरुङ छन्।

कात्तिक १३, २०७८ शनिबार १६:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।