डा. रोहितले भुल्नै नसक्ने यी पाँच घटना

डा. रोहितले भुल्नै नसक्ने यी पाँच घटना

नेत्ररोग विशेषज्ञ प्रा.डा. रोहित सैंजुलाई १० वर्षअघि ७५ वर्षीय वृद्धको आँखाको ज्योति फर्काएपछिको एउटा घटना निकै रमाइलो लाग्छ।

प्रसंग यस्तो थियो- डा. रोहित आँखा शिविर लिएर धादिङ पुगेका थिए। आँखा शिविरमा आफन्तले डोकोमा बोकेर ७५ वर्षीय वृद्धलाई उपचारका लागि ल्याए। मोतिबिन्दुका कारण ती वृद्धको दुवै आँखाको ज्योति गुमेको थियो।

डा. रोहितले उनको आँखाको शल्यक्रिया गरे। गुमेको ज्योति फर्कियो। अघिल्लो दिन शल्यक्रिया गरेपछि भोलिपल्ट डा. रोहितले पट्टि खोलिदिएर उनलाई घर जान सुझाव दिए।

तर, घर जानुपर्ने बाजे त शल्यक्रिया गरेको पर्सिपल्ट त्यही शिविरकै वरिपरि घुमिरहेको देखिए। डा. रोहितले सुनाए, ‘डोकोमा ल्याएको मान्छे। अप्रेसनको भोलिपल्ट पट्टि खोलेर घर जान बिदा दिएको थिएँ। फर्सिपल्ट त त्यहीं पो देख्छु।’

त्यसपछि डा. रोहितले ती व्यक्तिलाई किन घर नजानुभएको भनेर सोध्दा उनको जवाफ थियो, ‘आँखा खुलेपछि मैले दोस्रो जिन्दगी पाएँ। पुनः पुरानै पेसामा फर्किएँ।’

ती बाजेको पुरानो पेसा रहेछ हात हेर्ने। उनले त आँखाको ज्योति गुमेर शिविरमा आउने मान्छेको हात हेरेर आफ्नो पेसा पो चलाउन थालेछन्। आँखा देख्न छोडेसँगै उनको पुरानो पेसा पनि बन्द भएको रहेछ। आँखा खुलेपछि शिविरमा मान्छेको भीडभाड देखेर पुनः हात हेर्न थालेछन्। 

आफूले अप्रेसन गरेर आँखा देख्ने भएको व्यक्ति पुनः काममा फर्किंदा डा. रोहितलाई निकै आनन्द लागेको थियो। उपचारपछि यसरी सफलता मिल्दा आनन्दले निद्रा लाग्ने गरेको उनी सुनाउँछन्। 

सर्पले टोकेका बिरामी खुट्टा काटिने डरले भागेपछि...
करिब २४ वर्षअघि सोलुखुम्बुको ‘किन्जा सामुदायिक’ अस्पतालमा काम गर्दा खुट्टा काटिने डरले बिरामी भागेको प्रसंग पनि डा. रोहितलाई निकै अनौठो लाग्छ। 

डा. रोहित अस्पतालमा ड्युटी गरिरहेका थिए। सर्पले टोकेका बिरामीलाई आफन्तले डोकामा बोकेर अस्पताल नजिकैको चिया पसलमा ल्याइपुर्याएका रहेछन्। बिरामीका आफन्तले चिया पसलमा बिरामी बोकेको डोको बिसाएर अस्पतालमा डा. रोहितलाई भेटेर सर्पले टोकेको बिरामी ल्याइरहेको जानकारी गराए। त्यसपछि डा. रोहितले तुरुन्तै बिरामी अस्पताल ल्याउन भने।

तर, डाक्टरलाई खबर गर्ने ती व्यक्ति चिया पसलमा पुग्दा त सर्पले टोकेका बिरामी त्यहाँ थिएनन्।

चिया पसलमा बसेका मानिसले सर्पले टोकेका बिरामीको डाक्टरले खुट्टा काटिदिन्छन् भन्दिएछन्। त्यसपछि आफ्नो खुट्टा काटिने भयले बिरामी त्यहाँबाट भागेछन्। 

गलत समाचारका कारण बिरामी भागेको सोलुखुम्बुको त्यो घटना सम्झँदा डा. रोहित अहिले पनि दुःखी हुन्छन्।

प्रसव वेदनाले मृत्यु भएको घटना
सोलुखुम्बुमा काम गर्दा अस्पतालसम्म पुग्न नसकेर प्रसव वेदनाले छटपटाउँदै गर्भपवतीको मृत्यु भएको घटना पनि बिर्सन सक्दैनन् डा. रोहित।

गाउँमा एक जना महिला प्रसव वेदनाले छटपटाएकी रहिछन्। महिलाका आफन्त चिकित्सकको टोलीलाई घरमै लैजान अस्पताल पुगे। त्यहाँ पुग्न करिब ७ घन्टाको बाटो हिंड्नुपर्थ्यो। अस्पतालमा पनि डा. रोहित एक्ला चिकित्सक थिए। उनी हिँड्दा अस्पताल पुगेका अन्य बिरामी पनि बिना उपचार फर्कनुपर्ने अवस्था थियो।

त्यतिमात्रै हैन, घरमा जाँदा औषधि तथा उपकरण पनि लान सहज थिएन। त्यसैले बिरामीलाई अस्पताल नै ल्याउन डा. रोहितले अनुरोध गरे। उनको सल्लाह बमोजिम बिरामीका आफन्त बिरामीलाई लिन घर फर्किए। तर उता प्रसव वेदनाले छटपटाएकी महिलाको भने घरमा मृत्यु भइसकेछ।

‘बिरामी अस्पताल आइपुग्छिन् र उपचार गरौंला भनेको त भोलिपल्ट मृत्यु भएको खबर सुनियो,’ डा. रोहितले सुनाए, ‘त्यो घटना सुन्दा निकै दुःख लाग्यो। अस्पतालसम्म पुगेको भए उनलाई बचाउन सकिन्थ्यो होला।’

भिडन्तमा दुई सशस्त्रको ३ आँखा गुम्यो
डा. रोहितले करिब १५ वर्षअघिको अर्को एउटा घटना सुनाए। 

सरकार र तत्कालीन विद्रोही माओवादीको युद्ध चलेको समयमा दुई जना सशस्त्र प्रहरीको ३ वटा आँखाको ज्योति गुमेको घटना उनको मानसपटलमा ताजै छ। 

करिब १५ वर्ष अगाडिको कुरा हो। तत्कालीन माओवादीसँग भिडन्त हुँदा दुई जना सशस्त्र प्रहरी घाइते भएछन्। भिडन्त बुटवलतिर भएको हुनुपर्छ। भिडन्तपछि सशस्त्र प्रहरीका घाइते डिएसपी र इन्स्पेक्टरलाई तिलगंगा आँखा अस्पताल पुर्याइयो। डा. रोहितको टिमले ती घाइते सशस्त्र प्रहरीको आँखा लगायतको स्वास्थ्य जाँच गर्यो। उनीहरुको अनुहार क्षतविक्षत थियो। 

प्रहरीको अवस्था देखेर डा. रोहितको टिमलाई लाग्थ्यो– ज्यान बचाउन मुस्किल छ। डा. रोहितले भने, ‘यस्तो लाग्थ्यो, उहाँहरु बच्नेवाला हुनुहुन्न। गोलीको छर्राले उहाँहरु लासजस्तै भइसक्नुभएको थियो। अनुहार छियाछिया थियो।’

उपचारमा संलग्न डा. रोहितको टिमलाई ति प्रहरी बचाउन सकिएला कि नसकिएला, बचाउन सके पनि आँखाको ज्योति फर्काउन सकिएला कि नसकिएला भन्ने चिन्ता थियो।

चिकित्सकको टिमले उनीहरुको उपचार गर्यो। मुटु, फोक्सोलगायत शरीरिक अंग सञ्चालनको प्रक्रिया सामान्य हुँदै गएपछि क्रमिक रुपमा पाँच वटा शल्यक्रिया गरेपछि एक जना प्रहरीको एउटा आँखाको ज्योति खुल्यो।

तर, दुईमध्ये अर्का एक जना प्रहरीको भने दुवै आँखाको ज्योति फर्काउन सफल भएन चिकित्सकको टिम। जसले गर्दा डा. रोहित निरास भए। दुवै प्रहरीको गुमेको आँखामा कृत्रिम आँखा हालिदिएकाले बाहिरबाट हेर्दा आँखाको संरचना भने तयार गरिदिएकोले स्वरुपको दृष्टिकोणमा सामान्य मान्छेजस्तै देखिएको उनले सुनाए।

भालुले चिथोरेको घटना
करिब १० वर्षअघि रोल्पाको करिब २५ वर्षीय युवाको भालुले आँखा चिथोरेको घटना पनि डा. रोहितको लागि कहिले नभुल्ने घटना हो।

भएको के थियो भने, मकै बारीमा गएका बेला ती व्यक्तिलाई भालुले आक्रमण गरेछ। अनुहार चिथोरिदिएछ। उनलाई उपचारका लागि काठमाडौंको तिलगंगा आँखा अस्पताल पुर्याइयो। 

भालुले युवाको टाउको माथिबाट नङ्राले कोपरेर दायाँ आँखाको डल्लो नै निकालिदिएको छ। उनको झुण्डिएको आँखो बचाउन सक्ने अवस्थाको थिएन। तर डा. रोहितको टिमले आँखा सफा गरेर रिकन्स्ट्रक्टिभ सर्जरी गरेर कृत्रिम आँखा हालिदियो। युवाको आँखाको ज्योति त फर्केन तर ज्यान बाँच्यो। माया मारिसकेका ती युवा बाँचेर गाउँ फर्कंदा सबै चकित परेछन्।

करिब ४ वर्षअघि २८ वर्षजतिका जुम्लाका भालुले नै आक्रमण गरेर बाँचेका अर्को व्यक्तिको कथा पनि डा. रोहितले सुनाए। ती व्यक्तिलाई भालुले आक्रमण गरेपछि आफू मर्नुअघि भालुलाई पनि मार्छु भनेर जिब्रो थुतेछन्। पछि भालु भागेछ। दुवै आँखा गुमेका उनलाई जंगलमा घाँस काटन् गएका महिलाले भेटेर घर ल्याएछन्।

त्यसपछि तिलगंगा अस्पताल पुगेका उनको आँखाको ज्योति फर्काउन नसके पनि ज्यान बचाउनुका साथै आँखाको स्वरुप भने फर्काउन सफल भएको उनले सुनाए। जुम्लाका उनले डा. रोहितलाई भेट्न आउँदा स्याउ, मार्सी चामल ल्याइदिने गरेको प्रसंग पनि उनले सुनाए। 

जन्म भक्तपुर, अध्ययन काठमाडौं
रोहित २०२१ सालमा भक्तपुरमा जन्मिएका हुन्। भक्तपुरमा जन्मिए पनि उनको प्रारम्भिक शिक्षा काठमाडौंमा नै भयो। उनले काठमाडौंको ‘भानु मावि’बाट २०३५मा एसएलसी उत्तीर्ण गरे।

उनलाई बाबुआमाले छोरा डाक्टर बनोस् भन्ने चाहेका थिए। त्यसैले परिवारको चाहना तथा आफ्नो पनि इच्छा भएकाले रोहितले एसएलसीपछि चिकित्साशास्त्र अध्ययन संस्थान (महाराजगञ्ज क्याम्पस)मा हेल्थ असिस्टेन्ट (एचए) अध्ययन थाले। २०३६ सालमा एचए अध्ययन थालेका उनले २०३९ सालमा अध्ययन पूरा गरे।

एचए अध्ययनपछि उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा जागिर सुरु गरे। शिक्षण अस्पतालमा रोहितले करार जागिरेका रुपमा २०४१ सम्म करिब दुई वर्ष काम गरे। 

उनको उद्देश्य नै डाक्टर बन्ने थियो। त्यसैले शिक्षा मन्त्रालयको छात्रवृत्तिमा तत्कालिन सोभियत संघमा सन् १९८६ मा एमबिबिएस अध्ययनका लागि पुगे। रोहितले तत्कालीन शोभियत संघ अन्तर्गत युक्रेन प्रान्तको ओडेसा सहरको ‘पिरागोभ मेडिकल इन्टिच्युड’ मा एमबिबिएस अध्ययन गरे। सन् १९९३ मा एमबिबिएस सकेर उनी नेपाल फर्किए।

नेपाल फर्किएपछि डा. रोहितले पुनः शिक्षण अस्पतालमा नै करार मेडिकल अफिसरका रुपमा जागिर खाए। त्यहाँ उनले सन् १९९३ देखि सन् १९९५ सम्म करिब दुई वर्ष काम गरे।

‘सोलुखुम्बु पुगेपछि नेपाल बुझें’
शिक्षण अस्पतालको जागिरपछि उनी सोलुखुम्बुमा एनजिओले सञ्चालन गरेको किन्जा सामुदायिक अस्पतालमा काम गर्न पुगे। त्यहाँ मेडिकल सुपरिटेन्डेन्टका रुपमा करिब एक वर्ष काम गरे।

सोलुखुम्बुमा पुगेपछि नेपालको वास्तविकता चिन्ने मौका पाएको उनी बताउँछन्। ‘सुलुखुम्बु पुगेपछि वास्तवमा मैले नेपाल चिन्ने मौका पाएँ,’ उनले सुनाए, ‘आर्थिक अभाव, गरिबी, बिकटता, बाध्यता यी सबै कुराहरु त्यो जिल्लामा देखें।’

काठमाडौंजस्तो सुविधायुक्त ठाउँमा हुर्किएका रोहित दुई दिन हिँडेर सोलुखुम्बु पुगेका थिए। त्यो बेला काठमाडौंबाट दोलखाको जिरीसम्म गाडीमा र त्यहाँबाट दुई दिन हिँडेर सोलुखुम्बु पुगेको उनले सुनाए।

सोलुखुम्बुको त्यो अस्पतालमा उनी एक्ला चिकित्सक थिए। त्यसैले आफ्नै निर्णय (सल्फ डिसिजन)मा काम गर्नुपर्ने हुन्थ्यो। अस्पतालमा स्रोत-साधन सीमित थियो। न इन्टरनेट थियो न त फोनकै राम्रो व्यवस्था।

सोलुखुम्बुमा काम गर्दा आफूलाई सन्तुष्टि मिलेको बताउँछन् डा. रोहित। त्यहाँ काम गर्दा गाउँका सबैजसोले आफूलाई चिनेको र गाउँका अधिकांशसँग व्यक्तिगत रुपमा नजिकको चिनजान हुने भएकाले काम गर्दा निकै आनन्द आएको उनले बताए। 

पोखरामा काम
सोलुखुम्बुबाट उनी काठमाडौं फर्किए। काठमाडौं फर्किएर स्नातकोत्तर तहको चिकित्साशास्त्र छात्रवृत्तिमा अध्ययनका लागि कोसिस गरे। तर छात्रवृत्तिमा अध्ययन गर्न पाएनन्। 

त्यही समयमा उनलाई पोखराको ‘हरियो खर्क लेप्रोसी अस्पताल’मा काम गर्ने अवसर मिल्यो। त्यसैले उनले सन् १९९५ देखि १९९७ सम्म करिब दुई वर्ष पोखरामा काम गरे। पोखराको हरियो खर्क लेप्रोसी अस्पतालमा काम गर्दा नै डा. रोहितले ‘ट्यबरक्लोसिस’ र ‘कुष्ठरोग’को बारेमा उपचार लगायतको बारेमा गहन अनुभव गर्ने मौका पाए।

रहर सर्जरी, अध्ययन नेत्ररोग
उनले पोखरामा काम गर्दा नै रिकन्स्ट्रक्टिभ सर्जरीको ज्ञान तथा सिपमा खारिने मौका पाए। डा. रोहितले सुनाए, ‘ब्रिटिस सर्जनहरु हुनुहुन्थ्यो। उहाँहरुसँग सिकें।’ सर्जरीमा चासो राख्ने उनलाई पोखरामा काम गरेको त्यो अनुभवले सर्जरी विषयमा नै विशेषज्ञता हासिल गर्ने रहर जाग्यो।

पोखराबाट काठमाडौं आएर उनले स्नातकोत्तर तहमा सर्जरी विषय अध्ययन गर्ने कोसिस गरे। तर पाएनन्। उनका साथीहरुले पनि नेत्ररोग विषय अध्ययन गर्न सुझाए। त्यसैले डा. रोहितले एमडी (स्नातकोत्तर)मा नेत्ररोग (अफथाल्मोलोजी) विषयको अधययन थाले।

सन् १९९७ मा ‘अफथाल्मोलोजी’ विषयमा एमडी थालेका उनले सन् २००१ मा अध्ययन पूरा गरे। उनले चिकित्सा शास्त्र अध्ययन संस्थान (महाराजगञ्ज क्याम्पस) बाट एमडी ‘अफथाल्मोलोजी’ विषयको अध्ययन गरेका हुन्।

२१ वर्ष एउटै संस्थामा
नेत्ररोग विषयको स्नातकोत्तर तहको अध्ययन पूरा हुनासाथ सन् २००१ मा नै डा. रोहित ‘तिलगंगा आँखा प्रतिष्ठान’मा जागिरे भए। उनले सुनाए, ‘पढिसकेलगत्तै तिलगंगा आँखा प्रतिष्ठानमा काम गर्न सुरु गरें।’ त्यो बेलादेखि निरन्तर काम गरेका डा. रोहितले तिलगंगा आँखा प्रतिष्ठानमा कम गरेको २१ वर्ष भयो। अहिले उनी तिलगंगा आँखा प्रतिष्ठानको अस्पतालको निर्देशकको नेतृत्वदायी भूमिकामा रहेर काम गरिरहेका छन्।

उनी राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठनमा प्राध्यापकको रुपमा समेत कार्यरत छन्। ‘नेपाल अप्थाल्मिक समाज’को अध्यक्षको जिम्मेवारीमा रहेर समेत काम गरिरहेका छन्।

अष्ट्रेलिया पुगेर अक्लोप्लास्टी अध्ययन
हेर्दा शरीरको सानो अंग जस्तो देखिए पनि आँखा निकै संवेदनशील अंग हो। नेत्ररोगको विषयमा अध्ययन गर्दा धेरै भागहरु भएको र संवेदनशील हुने उनी बताउँछन्। डा. रोहितले आँखाको ‘प्लाष्टिक’ तथा ‘रिकन्स्ट्रक्टिभ’ सर्जरीको तालिम पनि लिएका छन्। जुन सर्जरीलाई चिकित्सकीय भाषामा ‘अक्लोप्लास्टी’का नामले पनि चिनिन्छ।

डा. रोहितले २००३ देखि सन् २००४ मा यो विषयमा अष्ट्रेलियाको ‘युनिभर्सिटी अफ मेलवर्न’पुगेर एक वर्षे फेलोसिप गरी नेपाल फर्किए। त्यसपछि नेपालमा आँखाको पहिलो ‘अक्लोप्लास्टी’ विशेषज्ञका रुपमा काम गर्ने मौका पाएको सुनाए।

‘अक्लोप्लाष्टिक’ आँखाका जन्मजात अंगभंग भएका रोगहरु, आँखाको वरीपरि चोटपटक लाग्ने रोगहरु, आँखाको डिलसम्बन्धी रोगहरु, आँखाबाट आँसु झर्ने नली सम्बन्धीका रोगहरु, आँखाको क्यान्सर सम्बन्धीका रोगहरुको उपचार विधिको अध्ययन भएको उनले बताए।

कात्तिक १३, २०७८ शनिबार १३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।