एमाले अधिवेशन: गृहजिल्लामै निरीह बने भट्टराई र आचार्य
इटहरीः नेकपा एमालेको जारी पालिका अधिवेशनमा यागेश भट्टराई र भीमप्रसाद आचार्यको गृहजिल्लामै पकड गुमेको छ। एमाले सचिवद्वय भट्टराई र आचार्यको गृहजिल्लामै हाल विवाद भएर दुई वटा कमिटी बनेको छ।
१० बुँदे सहमतिअनुसार ०७५ जेठ २ अगाडिको कमिटी मान्ने र नमान्नेबीच विवाद हुँदा दुई वटा कमिटी बनेको हो।
ताप्लेजुङमा भट्टराई निकट बलबहादुर साम्सुहाङ जिल्ला अध्यक्ष थिए। पछि ओलीले भुपेन्द्र थेवेलाई अध्यक्षको जिम्मेवारी दिए। हाल थेवे पक्षले पालिका अधिवेशन सम्पन्न गरेको छ।
सुनसरीमा पनि रमेश बस्नेतको कमिटी सक्रिय रहेको बेला ओलीले रेवतीरमण भण्डारीलाई अध्यक्ष बनाएका थिए। अहिले भण्डारीकै नेतृत्त्वमा पालिका अधिवेशन जारी छ।
भट्टराई निरीह
८ वटा पालिका रहेको ताप्लेजुङमा ७ स्थानमा अधिवेशन सम्पन्न भइसकेको छ। मैयाखोला गाउँपालिकाबाहेक सबैमा सर्वसम्मत नेतृत्त्व चयन भयो। थेवे पक्ष हाबी भएको ताप्लेजुङमा भट्टराई निरीह बनेका छन्।
ताप्लेजुङमा भट्टराई पक्षका एक जना पनि नेतृत्त्वमा आएका छैनन्। प्रदेश १ का सामाजिक विकासमन्त्री समेत रहेका साम्सुहाङले भट्टराईको पक्षबाट समानान्तर कमिटी चलाएका छन्।
सरुआतदेखि नै माधव नेपाल समूहमा सक्रिय उनी एमाले विभाजन भएपछि भट्टराईको निकटमा रहे। तर जेठ २ अघिको कमिटीले वडा र पालिका अधिवेशन गर्न नपाएपछि भट्टराई समस्यामा परेका हुन्।
आफ्नो गृहजिल्लामै पकड गुमाएका उनलाई ओली निकट थेवेले चेक दिएका छन्। अहिले उनको विकल्पमा थेवे उदाएका छन्।
उता साम्सुहाङले भने सहमति कार्यान्वयन होला भनेर अडिएर बसेको बताएका छन्। अन्तरपार्टी निर्देशनबाट पनि आधिकारिक कमिटी आफ्नै नेतृत्त्वको भएको बताउँदै उनले केन्द्रको सहमति कार्यान्वयन हुनुपर्ने बताए।
अझै केही समय सहमति कार्यान्वयन भएन भने आफूहरू नयाँ ढंगले अगाडि बढ्न बाध्य हुने उनको भनाई छ। संयमलाई कमजोरीको रूपमा नहेर्न उनले चेतावनी दिएका छन्।
थेवेले भने पार्टी नेतृत्त्वले आफूलाई जिम्मा दिएको बताए।
केन्द्रीय अध्यक्षदेखि स्थानीय नेताहरूले समेत आफूलाई साथ दिएको उनको भनाइ छ। अहिले पार्टीमा एउटा मात्रै कमिटी भएको बताउँदै उनले मिलेर काम गर्नेलाई पार्टीमा ठाउँ भएको बताए।
पुरानै गुटबन्दी र विभाजनतर्फ एमाले पार्टी अब अगाडि बढ्न नसक्ने थेवेले प्रष्ट पारे।
गुम्यो आचार्यको साख
कुनैबेला सुनसरी एमालेका बादशाह थिए आचार्य। उनी विरुद्धमा कुनै पनि नेता वा कार्यकर्ताले गतिविधि गर्दैनथे। ओली समूह निरीह रहेका बेला आचार्यको बोलवाला थियो। हालका जिल्ला अध्यक्ष भण्डारी त्यसबेला आचार्यका विश्वासपात्र थिए।
०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका हिमाल सुवेदीले टिकट पाएपछि उनी निकै आक्रोशित भए।
आचार्यकै कारण आफूले टिकट नपाएको भन्दै उनले आचार्यविरुद्ध माहोल बनाए। एमाले प्रदेश १ संसदीय दलको नेतामा उनले शेरधन राईलाई विजयी गराउन लागि परे।
त्यसपछि राईमार्फत ओली निकट भएका उनी एमाले व्युँतिएपछि सुनसरी अध्यक्ष भए। त्यसअघि आचार्यकै समर्थनमा अध्यक्ष भएका उनले पुनः दोस्रो कार्यकाल अध्यक्ष हुने अवसर पाए।
हाल भण्डारीकै नेतृत्त्वमा पालिका अधिवेशन जारी छ।
आचार्य पक्षले धरान उपमहानगरमा छुट्टै कमिटी गठन गरेको छ। धरानकै ६ वटा वडा र इनरुवा नगरपालिकाको एक वडामा आचार्यको समानान्तर कमिटी गठन भएको छ।
आचार्यको पक्षमा कार्यकर्ताको मत कमजोर बन्दै गएपछि भण्डारीले हस्तक्षेप थालेका छन्।
पछिल्लो समय भण्डारीको प्रभाव बढ्दै गएपछि आचार्यले दुवै अध्यक्षसँग समदूरीको सम्बन्ध राख्न थालेका छन्। भण्डारी पक्षका प्रचार विभाग प्रमुख रवि खनालका अनुसार आचार्यलाई कमिटी गठनदेखि सम्पूर्ण रिपोर्टिङ हुने गरेको छ।
आचार्यले कसैलाई पनि हस्तक्षेप नगरेको र भण्डारीको कमिटीलाई सहयोग नै गरेको उनको भनाइ छ।
दुवै टीमले विज्ञप्ति जारी गरेर एक अर्कालाई अस्वीकार गरे पनि आचार्य चुप बसेका छन्। प्रदेश १ इन्चार्ज समेत रहेका आचार्य भण्डारीलाई पनि साथमै लिएर जाने रणनीतिमा छन्।
अहिलेको उनी 'पर्ख र हेर'को अवस्थामा छन्।
कात्तिक १३, २०७८ शनिबार १२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।