कुकर कफीले उज्यालिएको ट्राफिक चोक

कुकर कफीले उज्यालिएको ट्राफिक चोक

बुटवल : साँझ पर्नासाथ बुटवलको ट्राफिक चोकमा मानिसको जमघट सुरु हुन्छ। दिनभरको थकान चिया गफमा बिर्सिनेहरुको जमघटले ट्राफिक चोक साँझमा ‘उज्यालो’ बनिरहेको छ।

लहरै ठेलामा मांसाहारी, साकाहारी परिकार खाने र कफी–लस्सी पिउनेहरुको जमघटले त्यहाँको साँझको परिवेश चलायमान बनाउँछ। 

ट्राफिक चोक यसरी चलायमान हुन थालेको ३ दशक हुन लागिसक्यो। पात्र, परिवेश फेरिए। तर पनि ट्राफिक चोक अहिले पनि उसैगरी चलायमान भइरहेको छ।

ट्राफिक चोक भन्नासाथ अझै पनि धेरैलाई कुकर कफीको याद सम्झना आउँछ। २ दशकअघि बुटवलबाट सुरु भएको कुकर कफी अहिले पनि सबैको प्रिय बनेको छ।

देशमा लोडसेडिङको विकराल अवस्था थियो। लाइन नै नभएपछि व्यापारीहरुले प्रेसर कुकरलाई मेसिनको रुपमा प्रयोग गर्दै कुकर कफी सुरु गरे। कुकरमा पानी पकाउने र सानो अर्को मेसिन जोडेर त्यसबाट प्रेसरले निस्किने बाफ (स्टिम) को प्रयोगबाट दूध र चिनी घोलेर कफी बनाउन थाले। 

त्यसरी सुरु भएको कुकर कफी अहिले देशभरका शहरमा पाइन्छ। तर समय क्रमसँगै विस्तारै कुकर कफी विस्थापित हुँदै नयाँ-नयाँ मेसिनहरु भित्रिएका छन्। ‘सुरुमा हामीले पनि कुकर कफी नै बनायौं। अहिले पनि लाइन जाँदा कुकरबाटै कफी बनाउँछौं।’ बुटवलमा १३ वर्षदेखी कफी बिक्री गर्दै आएका गुल्मीका शिव भण्डारीले भने।

सानो लगानी लगाएर व्यापार सुरु गरेका भण्डारीले १३ वर्षदेखि सडक पेटीमा ग्राहकलाई कफी र लस्सीको स्वाद चखाइरहेका छन्। कफी र लस्सीका अधिकांश ग्राहक युवा पुस्ता हुन्।

‘सुरुमा रातभर ठेला राख्न पाउँदा पूर्व-पश्चिम यात्रा गर्नेहरु ग्राहक थिए। तर अहिले रातभर बस्न पाइँदैन। १० नबज्दै ठेला हटाउन प्रहरी आइपुग्छ। त्यसैले अहिलेका ग्राहक भनेका यहींका स्थानीय हुन्। कतिपय टाढाबाट पनि आउनुहुन्छ,’ उनले थपे। 

भण्डारीले कफी र लस्सीबाट जीवन गुजारा मात्र चलाएका छैनन्, घडेरी जोडेका छन्। ३ सन्तानलाई शिक्षादीक्षा पनि यही कफी र लस्सी बिक्री गरेर दिएका छन्। 

बुटवल बेलबासका तुल्सीराम खरेलले २६ वर्ष ट्राफिक चोकमा कुकर कफी बिक्री गरे। उनको मृत्युपछि छोरा रविन्द्र खरेलले ४ वर्षदेखि बुबाले गर्दै आएको कुकर कफी व्यापार गरिरहेका छन्। बुबाले गरेको कुकर कफी व्यापार नजिकबाट देखेका रविन्द्र कफी व्यापार सुरु गर्नुअघि फेन्सी पसल र इलेक्ट्रोनिकमा काम गर्थे। तर बुबाको मृत्यु भएपछि उनले बुबाले गरेकै कर्म रोजे।

‘१५ वर्ष जागिरे जीवन बिताएँ। ४ वर्षअघि भाइ पनि रोजगारीका सिलसिलामा विदेशमा पुग्यो। त्यसपछि बुबाले गरेको व्यावसाय मर्न दिनु हुँदैन भनेर यो व्यवसाय गर्नतर्फ लागें,’ उनले भने।

बुबाले व्यापार गर्दा बसमा आउने यात्रु ग्राहक भए पनि अहिले ट्राफिक चोकको कफी, लस्सी फेसनेवल बनेको रविन्द्र बताउँछन्। कुनै बेला यात्रु नै ग्राहक हुने ट्राफिक चोकको कुकर कफीका ग्राहक अहिले युगल जोडी, किशोर-किशोरी, कर्मचारी, व्यवसायी, बैंकर, युवाको समूह, सञ्चारकर्मी हुन्।

दिनभर व्यस्त जीवन व्यतित गर्नेहरूको जमघट बनेको ट्राफिक चोकमा कफी र लस्सीको स्वाद लिन पाल्पा, सालझण्डी, बर्दघाट, भैरहवाबाट पनि ग्राहक आउने गरेको रविन्द्रले बताए।

थोरै लगानीमा आम्दानी
कफी र लस्सी व्यवसायका लागि धेरै लगानी छैन। एउटा ठेलाका लागि झन्डै ७० हजार लगानी गरे व्यवसाय सुरु गर्न सकिन्छ। दूध, दही, चिनी, कफी, विद्युतको रकममा व्यवसायीको खर्च हुने भए पनि दैनिक हुने आम्दानी राम्रो भएको व्यवसायी खरेलले बताए।

कोभिडअघि दैनिक ८ देखि १० हजारसम्म व्यापार हुने गरेकोमा अहिले भने मुस्किलले ४ हजारसम्म हुने गरेको उनले बताए। ‘बुबाले गर्दा आम्दानी राम्रो थियो। तर पछिल्लो समय कोभिडले व्यापार कम छ। भएको खर्च कटाउँदा दैनिक १५ सय देखि २ हजारसम्म बचत हुन्छ।’ उनले भने।

व्यवसायीका आफ्नै समस्या
कुनै बेला बसपार्क, अस्पताल र ट्राफिक चोकमा रातभर कुकर कफीको व्यापार हुन्थ्यो। तर अहिले साँझ ६ बजेदेखि राति १० बजेसम्म मात्र ठेलामा व्यापार गर्न प्रशासनले दिएको छ। त्यति मात्र होइन, अहिले प्रति व्यवसायलाई २ वटा मात्र कुर्सी राख्न दिइएको छ।

‘ठूला व्यापारी अगाडि ठेला राख्दा व्यापारमा कम हुने भएकाले अहिले २ वटा कुर्सी मात्र राख्न दिइएको छ। बस्नलाई ठाउँ नहुँदा उभिएर ग्राहकले खानुपर्ने बाध्यता छ,’ खरेलले भने, ‘कम्तीमा ५ वटा कुर्सी राख्न दिए ग्राहकलाई सजिलो हुने थियो।’ 


 

कात्तिक १३, २०७८ शनिबार ०७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।