लागु औषध केसमा फसेका शाहरुखका छोरा आर्यनलाई धरौटीमा छाड्न अदालतको आदेश
एजेन्सी : बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान धरौटीमा छुट्ने भएका छन्। रेव पार्टी गरिरहेको स्थानमा पक्राउ परेका उनीमाथि लागु औषधको मुद्दामा अनुसन्धान भइरहेको थियो। मुम्बई हाई कोर्टले शुक्रवार आर्यनसहित अरबाज मर्चेन्ट र मुनमुन धमेचालाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ।
आर्यन धरौटीमा हिरासतमुक्त हुने भएपछि सामाजिक सञ्जालमा शाहरुखलाई बधाई आइरहेको छ। तर प्रारम्भदेखि नै यो केसको आलोचना हुँदै आएको छ।
अनुसन्धानको प्रक्रिया र आर्यनमाथि लगाइएको आरोपबारे नार्कोटिक्स कन्ट्रोल ब्युरो मुम्बईका निर्देशक समीर वानखेडेको आलोचना भइरहेको छ। उनले विजेपीका नेतासँग जोडिएकाहरूलाई छाडेको र मुम्बई सरकार र शाहरुख खानको परिवारलाई बदनाम गराउन आर्यनमाथि अभियोग लगाएर हिरासतमा राखेको भन्दै उनको आलोचना भइरहेको छ।
आपराधिक कानुनको दुरुपयोग गरेर शाहरुख खानको छोरा भएकै आधारमा उनलाई धरौटीमा नछाडी हिरासतमा राखेको भनेर आलोचना हुँदै आएकोमा शुक्रवार भने मुम्बई हाइ कोर्टले धरौटीमा छाड्न आदेश दियो। भारतीय गायक मिका सिंह, भारतीय अभिनेत्री सिमी ग्रेवाल, अभिनेता सोनु सुद लगायतकाले आर्यन धरौटीमा रिहा हुने भएको सुन्दा खुसी लागेको प्रतिक्रिया दिएका छन्।
कात्तिक १२, २०७८ शुक्रबार १५:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।