मिटर ब्याजी रामदेव साहुविरुद्ध पीडितले दिए उजुरी, सय करोडभन्दा बढी असुलेको आरोप
इटहरीः सप्तरीका रामदेव साह (साहु)विरुद्ध पीडितले प्रहरीमा उजुरी दिएका छन्। रामदेव साहुले सयौं स्थानीयलाई ऋण दिनेभन्दै घरजग्गा हडपेर सुकुम्बासी बनाएका थिए।
पीडितहरूले रामदेव साहुविरुद्ध ईलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका हुन्। उजुरीपछि प्रहरीले पैसा र जग्गा फिर्ता गर्न रामदेव साहुलाई समय दिएको छ।
सप्तरीको खडक नगरपालिका-७ स्थायी घर भएका साहु हाल सुनसरीको धरानमा बस्दै आएका छन्। स्थानीयलाई मिटर ब्याजमा पैसा लगाउँदै घरजग्गा हडपेर उनले सयौंको बिचल्ली बनाएका छन्।
उनका कारण विदेश जाने, व्यापार गर्ने र थप जग्गा किन्ने बहानामा ऋण लिएका सयौं स्थानीय समस्यामा परेका थिए।
पीडितहरूले पैसा र जग्गा फिर्ता गरे आफूहरूलाई मान्य हुने बताएपछि प्रहरीले सहजीकरण गरेको ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले बताए। उनले निवेदन र प्रमाणको आधारमा कारबाही अगाडि बढ्ने बताए।
रामदेव साहुबाट पीडितहरू
उजुरी दिनेमध्येकी एक विन्दु पासवानले रामदेव साहुका छोरा नन्द किशोर साहको नाममा जग्गा पास गरेको बताएकी छिन्। सयकडा तीनको हिसाबले १६ लाख लिएर पछि किस्ता तिरेको उनको निवेदनमा उल्लेख छ।
तर ४ लाख ३६ हजार बुझाईसक्दा समेत ७६ लाख ६२ हजार ३९० रुपैयाँ दिए मात्र जग्गा फिर्ता गर्ने साहुले अडान लिएका छन्।
साहुले जग्गा फिर्ता गर्न नमानेको भन्दै बुधबार उनले उजुरी दिएकी हुन्। 'मुलुकी ऐनको अपराध संहिता २०७४ को परिच्छेद २१ बमोजिम ठगी अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कानूनबमोजिम कारबाही गरिपाउँ' उनको निवेदनमा उल्लेख गरिएको छ।
विन्दुका श्रीमान् छेदीलाल पासवानका अनुसार यसअघि असोज ३० गते ईलाका प्रहरी कार्यालय कल्याणपुरमा दुई पक्षको छलफल भइसकेको छ। त्यसदिन रामदेवकी छोरी अनुराधा साह कात्तिक ६ गते पुनः छलफल गर्ने भन्दै बाहिरिएकी थिइन्। तर उनी छलफलमा गइनन्।
पछि ९ गते बोलाउँदा पनि रामदेव पक्षबाट कोही नआएपछि पीडितहरूले ईलाका प्रहरी कार्यलय पुगेर दबाब दिएको पासवानले बताए।
लगत्तै १० गते अनुराधासहित आफूलाई ईन्जिनियर बताउने प्रमोद राना पनि उपस्थित भएको छेदीलालको भनाइ छ। छलफलको क्रममा अनुराधाले मुख्य मुन्सी गंगाराम मण्डल र अर्का मुन्सी बालकिशोर सिंहसहित ०५८ सालदेखि ०७८ सालसम्मको हिसाब लिएर आउने बाचा गरेको छेदीलालले बताए।
'सय करोडभन्दा बढी असुले'
रामदेवले सप्तरीमा मात्र १५ हेक्टरभन्दा बढी जग्गा कब्जा गरेको पासवानको दावी छ। अहिलेसम्म पनि साहुविरुद्ध उजुरी दिन पीडितहरू आउने क्रम जारी रहेकोले साहुले सय करोडभन्दा बढी पैसा असुलेको उनको आरोप छ।
प्रहरी प्रमुख साहले पनि ठगी वा लेनदेन भन्ने विषयमा कागजात र प्रमाण हेरेर मुद्दा चलाइने बताएका छन्। ठगी गरेको ठहर हुन गए जुनसुकै हालतमा कारबाहीको दायरामा ल्याइने उनले बताए।
आगामी मंसिर ५ गतेसम्ममा सबैलाई आ–आफ्नो दावी पेश गर्न वा सहमती गर्न समय दिइएको उनको भनाइ छ। सो दिन स्वयं रामदेव साहु उपस्थित हुने भएकाले केही दिनको लागि मुद्दा अगाडि नबढाइएको उनले सुनाए।
'कति जग्गा किनबेच हुन्छ ठेगान हुँदैन'
उता रामदेवकी छोरी अनुराधाले भने जग्गा किनबेच भएको बताएकी छिन्। पहिले नै किनेको जग्गा बिक्री भएर कहाँ पुग्यो त्यसको ठेगान नहुने उनले बताइन्।
'हामी महाजन हौँ। कति जग्गा किनबेच भइरहन्छ', उनले भनिन्, 'अब फेरि छलफलमा बोलाएका छन्। केही मिसअन्डरस्ट्यान्डिङ हुनसक्छ। त्यसलाई क्लियर गर्नुपर्छ।'
सोही प्रकृतिको मुद्दामा पक्राउ परे नरेश चौधरी
सर्लाहीको चन्द्रनगर गाउँपालिका-३ का नरेश चौधरी सोही प्रकृतिको मुद्दामा पक्राउ परेका छन्। स्थानीयलाई पैसा ब्याजमा लगाउने र जग्गा हडप्ने ठगी धन्दामा संलग्न भएको आरोपमा गत असोज ५ गते उनी घरैबाट पक्राउ परेका हुन्।
उनकै दिदी पसियादेवी चौधरीको निवेदनको आधारमा उनलाई पक्राउ गरिएको हो। उनले ऋण दिँदा जग्गा राजीनामा पास गराउने र केही समयमै मनमौजी ब्याज बढाएर स्थानीयलाई ठग्दै आएका थिए। अधिकांश पीडितको पैसा र जग्गा फिर्ता गरेका उनी केही दिन अगाडि ६ लाख धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईं बताउँछन्।
पछिल्लो समय ठगी र विश्वास अपराधको घटनामा उल्लेख्य वृद्धि भएको उनको भनाइ छ।
रामदेव साहुका बारेमा उकेराले गरेकाे खाेजकाे अन्य समाचार
कात्तिक १२, २०७८ शुक्रबार १३:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।