एमाले अधिवेशनः भीम आचार्यको समानान्तर कमिटी सक्रिय, एकै ठाउँमा दुई अधिवेशन
इटहरीः नेकपा एमालेको पालिका अधिवेशन जारी रहेको बेला भीम आचार्य पक्षीय समानान्तर कमिटी सक्रिय भएको छ। प्रदेश १ का मुख्यमन्त्री आचार्यको पक्षमा लागेका नेताहरूले समानान्तर कमिटी गठन गर्ने र चेन अफ कमाण्ड नमान्ने गतिविधि देखाउन थालेका छन्।
नेताहरूले समानान्तर गतिविधि सञ्चालन गर्न थालेपछि अधिवेशन पनि प्रभावित हुँदै गएको छ। सुनसरीको धरान उपमहानगरपालिकामा दुई पक्षले छुट्टाछुट्टै अधिवेशन गरेका छन्। लामो समय प्रयास गर्दा पनि सहमति हुन नसकेपछि दुई ठाउँमा अधिवेशन भएको हो।
जेठ २ अगाडिकै कमिटी लागू हुनुपर्ने माग राख्दै आएको आचार्य पक्षीय कमिटीले समानान्तर गतिविधि अगाडि बढाएको हो।
सो कमिटीका जिल्ला अध्यक्ष रमेश बस्नेत र इन्चार्ज धर्म निरौलाको नेतृत्त्वमा धरानमा ६ वटा वडामा समानान्तर कमिटी गठन भएको छ। त्यस्तै इनरुवा नगरपालिकामा पनि १ वडामा छुट्टै कमिटी बनेको छ।
आचार्य पक्षीय नेताहरूले नेकपा विभाजन भएर एमाले व्युँतिएपछि बनेको कमिटीलाई मान्यता दिएका छैनन्।
पछिल्लो १० बुँदे सहमतिअनुसार एमालेलाई एकतावद्ध बनाउन जेठ २ अघिको कमिटी सक्रिय हुनुपर्ने उनीहरूको माग छ। त्यसबेलाका अध्यक्ष बस्नेतले अहिले आफू नै आधिकारिक अध्यक्ष भएको बताउँदै आएका छन्। हाल धरानमा उनकै नेतृत्त्वमा समानान्तर कमिटी बनेको छ।
यता आचार्य पक्षीय नेताहरूले मान्यता नदिए पनि बुधबार साँझ धरान उपमहानगर कमिटीमा हर्कजङ्ग एबेङ अध्यक्ष चयन भएका छन्। उनकै नेतृत्त्वमा बनेको कमिटीलाई ओली पक्षीय जिल्ला अध्यक्ष रेवती रमण भण्डारीले मान्यता दिएका छन्।
इटहरीमा पनि आचार्य पक्षीय नेताहरूको कारण सहमति हुने सम्भावना टर्दै गएको छ। आचार्य निकट मानिएका मेयर द्वारिकलाल चौधरी, रामप्रसाद चौलागाई, डम्बर सुवेदी, भीम प्रसाद सुवेदी, रमेश बस्नेत, धर्म निरौलालगायत नेताहरूले छुट्टै भेला गरेर निर्वाचनमा जाने योजना बनाएका हुन्।
बुधबार दिनभर सहमतिको प्रयास भए पनि उपलब्धि हुन सकेन। ओली समूह निकट अध्यक्षका दाबेदार याम कुमार सुब्बाको पक्षमा चौधरीसहितका नेताहरूले सहमति जनाएका छैनन्। बुधबार अबेरसम्म सहमति नभएपछि बिहीबारदेखि निर्वाचनमा जानुपर्ने सुब्बाले बताए।
अब निर्वाचनमार्फत नै नेतृत्त्व चयन हुने उनको भनाइ छ।
एमाले सुनसरीका सहइन्चार्ज तथा प्रदेश सदस्य तैयव हुसैनले आचार्य समूहले गरेको गतिविधि केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसम्म पुगेको बताए। धरान र इनरुवामा भएको समानान्तर कमिटीलाई मान्यता दिन नसकिने उनको भनाइ छ। भण्डारी नेतृत्त्वको कमिटीले गरेका निर्णय र अधिवेशन मात्र मान्य हुने उनको जिकिर छ।
उता ताप्लेजुङमा पनि समानान्तर गतिविधि सुरु भएको छ। प्रदेश १ का सामाजिक विकासमन्त्री समेत रहेका बलबाहदुर साम्सुहाङले आचार्यको पक्षमा समानान्तर गतिविधि संचालन गरेका हुन्।
सरुआतदेखि नै माधव नेपाल समूहमा सक्रिय उनी एमाले विभाजन भएपछि आचार्यकै निकटमा रहे। आचार्यका विश्वासपात्र मानिएका साम्सुहाङले ओलीले तोकेर पठाएका भुपेन्द्र थेवेको कमिटीलाई मान्यता नदिने बताएका छन्।
अहिलेको एमाले १० बुँदे सहमतिको जगमा एकता भएको स्मरण गराउँदै उनले कसैले पनि विगत भुल्न नहुने चेतावनी दिए। पार्टीलाई चलायमान बनाउन सहमति र एकता आवश्यक भए जस्तै सहमति कार्यन्वयन पनि हुनुपर्ने उनको भनाइ छ।
जेठ २ अगाडि जिल्ला अध्यक्ष आफैं भएकाले आगामी अधिवेशनसम्म नेतृत्त्व गर्न पाउनुपर्ने उनको अडान छ।
उता ओली निकट थेवे कमिटीले भने जेठ २ लाई कार्यान्वयन गरे पनि आफ्नै नेतृत्त्वमा अधिवेशन हुनुपर्ने बताएको छ। अध्यक्ष ओलीले आफैंलाई चयन गरेको बताउँदै उनले ताप्लेजुङमा सहमतिमै अधिवेशन सम्पन्न हुने बताए।
प्रदेश १ कमिटीका अध्यक्ष देवराज घिमिरे अहिले कुनै पक्ष विपक्षबीच प्रतिस्पर्धा नभएकाले सबै संस्थापन पक्षीय नेताहरूबीच प्रतिस्पर्धा भएको बताए। यो लोकतान्त्रिक पद्धतीको सुन्दरता भएको बताउँदै उनले समानान्तर गतिविधि गर्नेलाई पार्टीले मूल्याङ्कन गर्ने तर निर्वाचनको परिणामलाई सबैले स्वीकार गर्नुपर्ने बताए।
कात्तिक ११, २०७८ बिहीबार १०:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।