अबको नेपाली फिल्म : विदेशीको पिछलग्गु नबन्ने, मौलिक कथा पस्कने

अबको नेपाली फिल्म : विदेशीको पिछलग्गु नबन्ने, मौलिक कथा पस्कने

कोरोना महामारीका कारण थला परेको नेपाली फिल्म क्षेत्र फेरि चलायमान होला कि नहोला?, महामारीको भयले बन्द भएका फिल्म हलहरु सधैंका लागि बन्दै रहलान् या खुल्लान्?, तीव्र गतिमा भइरहेको विश्वव्यापीकरणमा नेपाली फिल्मले आफ्नो अस्तित्व कसरी जोगाउला? 

झन्डै २० महिनादेखि शून्यमा झरेको फिल्म क्षेत्र यतिबेला यी र यस्ता धेरै प्रश्नको उत्तर खोजिरहेको छ। राम्रा ब्यानरले बनाएका फिल्महरु तयारी अवस्थामा भए पनि प्रदर्शन गर्न डराइरहेका छन्। सरकारले हल खोल्ने अनुमति दिए पनि टिकट काउन्टरका मानिस हाई काढेर दिन बिताउन बाध्य छन्। 

तमाम समस्याकै बीच नेपाली फिल्म क्षेत्रमा बिरालोको घाँटीमा घण्टी कसले बाँध्ने भन्ने बहस चलिरहेको छ। कमजोर फिल्महरु अघि सरे पनि तिनीहरुले दर्शकको उपेक्षाका कारण आत्मसमर्पण गरिसकेका छन्।

त्यसो भए अब के गर्ने त? 
फिल्म बृत्तका मानिसहरु यतिबेला पर्ख र हेरको स्थितिमा रहेको बताउँछन्, निर्देशक दिपेन्द्र के खनाल। उनी भन्छन्, ‘हामीलाई प्रकृतिक प्रकोप र विभिन्न रोगब्याधीले उठ्न दिइरहेको छैन। २०७२ सालमा भूकम्प जाँदा पनि सबैभन्दा प्रभावित फिल्म क्षेत्र नै भएको थियो। अहिले कोभिडले पनि फिल्म क्षेत्रलाई नै मर्का पार्यो।’

हरेक विपत्तिमा पहिले मर्का पर्ने मनोरञ्जन क्षेत्र नै भए पनि यसको विकल्प खोज्न नसकिनु दुःखद भएको उनको भनाइ छ। ‘विपत्ति भनेको हरेक क्षेत्रका लागि नयाँ विकल्प सिर्जना गर्ने समय पनि हो,’ खनाल भन्छन्, ‘हलिउड, बलिउडले ओटिटी प्लेटफर्मलाई विकल्पको रुपमा अघि सारेर फिल्म क्षेत्र चलाएमान बनाए पनि नेपाली फिल्मकर्मीले त्यसमा वास्ता नगर्नु दुखद हो।’

नेपालमा ओटिटीले निर्मातालाई असर पार्ने उनी बताउँछन्। ‘अन्य देशमा खर्बौं खर्चेर ओटिटी प्लेटफर्मले नै फिल्म तथा वेब सिरिजहरु निर्माण गर्छन्। हाम्रो देशमा भने ओटिटीवाला पनि निर्माताको भरमा परेकाले यसले प्रभावकारी भूमिका खेल्न सकिएको छैन,’ उनले भने।

निर्माताका लागि अवसर हो कोरोना
निर्माता माधव वाग्ले सधैं नकारात्मक तरिकाले मात्रै नहेर्न आग्रह गर्छन्। उनी भन्छन्, ‘पहिले पनि डिजिटल प्लेटफर्महरु थिए तर यसको महत्व कोभिडले देखाइदियो। पहिले फिल्म प्रदर्शन गर्न हलको विकल्प थिएन। हलबाट फिल्म उत्रेपछि फेरि चल्ने सौभाग्य कुनैकुनै फिल्मले मात्रै पाउँथे। तर डिजिटल प्रविधिका कारण दर्शकलाई फिल्म हेर्ने बाटो धेरै उपलब्ध भएको छ। साथमा निर्माताका पनि फिल्म बेच्ने पसलहरु धेरै खुलेका छन्।’ 

फिल्मले लगानी उठाउन अब कन्टेन्टमा जोड दिनुपर्ने उनले संकेत गरे। भने, ‘हामीभन्दा निकै पछाडि रहेको कोरिया सबटाइटलकै भरमा ओस्कार जित्न सफल भइसक्यो। राम्रो कन्टेन्टकै कारण नेटफिल्क्सले अंग्रेजीमा समेत डब गरेर स्क्विड गेम भन्ने सिरिज राख्यो जसले तहल्का मच्चायो।’ यो सबै कन्टेन्टकै कारण भएको वाग्लेको बुझाइ छ। 

कोरोना निर्माताका लागि अवसर भएको तर यसलाई कसरी समात्ने भन्ने कुरा फिल्म निर्माताहरुले जान्ने कुरा भएको उनको भनाइ छ।

अझै पनि बलिउडकै आश
कोभिड अगाडिको सामान्य अवस्थामा मल्टिप्लेक्स हलहरुले हलिउड र बलिउडका फिल्मलाई मात्रै प्राथमिकता दिएको आरोप लाग्थ्यो। झुर विषयवस्तु अनि फितलो प्रस्तुतीकरण भएका फिल्मका निर्माता पनि लगानी उठाउन नसके आफूले बनाएका फिल्मलाई हैन, सो टाइम नदिएको दोष लगाउँथे।

कोभिडले फिल्म क्षेत्र बन्द हुनुभन्दा अघिकै फिल्म ‘छ माया छपक्कै’ को प्रदर्शनताका कलाकार तथा निर्माता दीपकराज गिरीले हलवालाले नेपाली फिल्मलाई ‘सो टाइम’ नदिएको भन्दै सामाजिक सञ्जालमा पोखिएका थिए। उनले लेखेका थिए, ‘हलको के कुरा, निर्माताहरु हलवालासँग डराउँछन्, हलवाला वितरकसँग डराउँछन्, वितरक उताको खान्छन् अनि यता कराउँछन्।’ 

तर, अहिले नेपाली फिल्मका लागि अवसर थियो तर यसलाई समात्न नसकिरहेको बताउँछन् चलचित्र वितरक संघका महासचिव अशोक शर्मा। उनी भन्छन्, ‘फिल्म हल खुलेको छ तर देखाउने कन्टेन्ट छैन। चलचित्र संघ, चलचित्र विकास बोर्ड लगायतले प्रचारप्रसार खर्च लगायतका सहुलियत दिए पनि निर्माताले बलिउड फिल्म नै कुरेर बसेका छन्।’

उनी भन्छन्, ‘तिहारमा लक्ष्मीपूजाको छेको पारेर अक्षय कुमारको फिल्म लाग्दैछ। नेपाली फिल्म त्यसैलाई कुरेर बसेको छ।’ असहज वातावरणमा  चुनौती मोल्न नसकेकै कारण नेपाली फिल्मलाई दर्शकले पत्याउन नसकेको शर्मा बाताउँछन्। आफूले बेच्न लागेको सामानमा आफैं कन्फिडेन्ट नभएसम्म सामान बिक्री हुँदैन भन्ने कुरा फिल्म निर्माताले बुझ्नपर्ने उनको भनाइ छ।

के होला नेपाली फिल्म
हलमा दर्शक खोई?, दर्शक हराएको सूचना!, हामी हलमा झिंगा धपाएर बसेका छौं जस्ता स्ट्याटस सामाजिक सञ्जालमा कोरोनाअघि नै आइसकेका हुन्।

निर्माताले प्रमोसन र विभिन्न फन्डा गरेर चलचित्र चलाउँछु भन्ने सोच अब त्याग्दा हुन्छ। किनभने, कोरोनाले गर्दा फुर्सद पाएका नेपाली दर्शक विदेशका राम्रा चलचित्रमा बहस गर्नसक्ने भइसकेका छन्। उनीहरु रमाइलोका लागि मात्रै हैन, त्यहाँ प्रयोग गरिएको प्रविधि, सिनेमेट्रोग्राफी, कोरियोग्राफी, स्क्रिप्ट, संवाद, प्रस्तुतीकरण र निर्देशकले प्रयोग गरेका थिम अनि सिम्बोलका कुरा गर्नसक्ने भइसकेका छन्। यसको उदाहरण हालै प्रदर्शनमा आएको फिल्म डाँडाको बर पिपल हो। महानायकको विवाद निकालेर फिल्म चलाउन खोज्दा त्यो असफल हुन पुगेको थियो।

अब पहिले जस्तो दुई/चार वटा विदेशी चलचित्रको कथा तोडमोड गरेर अनि पुराना चलेका रिमेक गीत हालेर टक्क पारेको हानिकारक फिल्मको स्वाद दर्शकले नलिने बताउँछिन् नायिका सुरक्षा पन्त। उनी भन्छिन्, ‘प्रविधि छ, कथा अर्गानिक हो या चोरेको पत्ता लगाउन धेरै समय लाग्दैन।’

आफैंले अभिनय गरेको छोटो फिल्म मन बार हिन्दीबाट हुबहु चोरी भएको थाहा पाउँदा माफी समेत मागेकी सुरक्षाले अबको जोड मौलिक कथा र त्यसै अनुसारको अभिनय भएको बताइन्। उनले भनिन्, ‘हामी अझै पनि मार्केट सानो छ, टार्गेट अडियन्स थोरै छन् भन्ने बहानामा अड्किएका छौं। तर राम्रो कन्टेन्टमा फिल्म बनाउने हो भने न प्रविधि गतिलो चाहिन्छ न खर्च नै धेरै लाग्छ।’ 

यदि नेपाली फिल्मले पुरानो ढर्रा नछाड्ने हो भने अवस्था निकै नाजुक हुने र निर्माताहरु लगानी डुबाएर चलचित्र क्षेत्रबाट पलायन हुने उनको दावी छ। 

सुरक्षाका अनुसार फिल्मको कथावस्तु, संवाद अनि प्रस्तुतीकरणमा नयाँपन र गुणस्तर ल्याउन जरुरी छ। महामारीले नयाँ कथावस्तु जन्माउँछ। त्यसलाई सही सदुपयोग गर्नसके राम्रो फिल्म निर्माणका लागि कोरोना बरदान बन्नसक्छ।

यही कुरामा जोड दिन्छन्, फिल्म लेखनका साथै पत्रकारिता पनि गरिरहेका सामिप्यराज तिमल्सीना। उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘हामी फिल्म लेख्ने क्रियटिभ मानिसका लागि यस्ता महामारी सुनौलो अवसर हो।’ बलिउडका चर्चित निर्देशक प्रकाश झासँग मैले कुराकानी गरेको थिएँ। उनले नेपालले त धेरै संकट व्यहोरेको छ, कथैकथा होला है भनेर मलाई सोधे। त्यो समयमा म नाजवाफ भएँ।’

अर्का लेखक अभिमन्यु निरवीले पनि तिमल्सिनाकै कुरामा जोड दिए। उनका अनुसार कोरोना महामारीले धेरै कुरा सिकाएको छ। कोरोनाले फुर्सदिलो समय सदुपयोग गर्दै विश्वका फिल्म हेरेर, आफूलाई आत्मसात् गर्ने मौका दिएको उनको भनाइ छ। 

नेपालले संकटका घडीहरु प्रायः भोगिरहेको छ, चाहे त्यो २०५२ सालको माओवादी युद्ध होस्, २६२/०६३ को जनआन्दोलन होस्, २०७२ सालको भूकम्प होस् वा अहिले कोरोनाको संकट। जति नै संकट भोगे पनि नेपाली फिल्म धर्मराउँदै उठ्न खोजेको छ, तर अहिलेसम्म पाइला सार्न सक्ने अवस्थामा नपुगेको उनको भनाइ छ।

सरकार भन्छ, मौलिक कथालाई प्रोत्साहन गर
सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा एउटा मिठो वाक्यलाई प्राथमिकता दिएको छ, मौलिक चलचित्रलाई प्रोत्साहन गर्ने। 

त्यसो त पहिले पनि केही मौलिक चलचित्र बनेका छन्। केही राम्रा मौलिक चलचित्रहरु प्रचारप्रसारको कमीले गर्दा चल्न सकेनन्। केही विभिन्न महोत्सवमा भाग लिएर हलमा नलागेरै उत्रिएका छन्। त्यसैले निर्माताहरु मौलिक फिल्म भन्ने वित्तिकै लगानी गर्न तर्सन्छन्।

यस्तो हुनुमा फिल्म साक्षरता दर्शकमा नभएको आरोप फिल्मकर्मीले लगाउने गरेका थिए। अब भने विदेशका फिल्म हेरेर उनीहरुले मौलिक चलचित्रलाई प्राथमिकता दिनेछन् भन्ने आश गरेका छन् निर्माता, निर्देशक तथा फिल्म लेखक नवीन सुब्बाले।

केही निर्माता निर्देशकले जस्ता चलचित्रलाई पनि जबरजस्ती मौलिकको नाम दिएर दर्शक भड्काएको आरोप पनि उनले लगाए। केही निर्माता, निर्देशकले त खुलेआम मौलिक चलचित्रको नामलाई भात खाने मेलो बनाएको समेत उनले विभिन्न कार्यक्रमहरुमा भन्ने गरेका छन्।
 

कात्तिक ११, २०७८ बिहीबार ०८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।