एमालेको पालिका अधिवेशन : विराटनगरमा परशुराम बस्नेतलाई सागरले रोके

एमालेको पालिका अधिवेशन : विराटनगरमा परशुराम बस्नेतलाई सागरले रोके

इटहरी : नेकपा एमालेको प्रदेश १ का धेरै पालिकाहरूमा सहमतिमा नेतृत्व चयन गर्ने भन्दै निर्वाचन हुन सकेको छैन।

पालिका अधिवेशनमा एकै समूहका दुई भन्दा बढी उम्मेदवार आकाङ्क्षी भए पनि सहमति मार्फत नेतृत्व चयनको प्रयास भइरहेको एमालेले जनाएको छ। 

कम्युनिस्ट पार्टीमा चेन अफ कमान्ड लागु हुने भन्दै सहमतिका नाममा निर्वाचन प्रक्रिया सुरु भएको छैन। अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाको कमल गाउँपालिकामा सबैभन्दा पहिला सहमतिमा नेतृत्व चयन भएको छ। झापाका १५ पालिका मध्ये कमलमा सहमतिको आधारमा नेतृत्व चयन भएको हो। 

दमक नगरपालिकामा पनि सहमतिको प्रयास भइरहेको एमाले झापा जिल्ला कमिटीले जनाएको छ। बाकी पालिकामा  सहमति नभएकाले बिहीबार पुनः प्रयास गरिने झापा जिल्ला कमिटीका कार्यालय सचिव शिव ढुङ्गेलले बताए। 

प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा सहमतिमा नेतृत्व चयन भएको छ। सागर थापाले अध्यक्ष दोहोर्याउने सहमति सहित नयाँ कमिटी चयन भएको हो। ओली समूहका युवा नेता परशुराम बस्नेत र सागर थापाको बिचमा निर्वाचन हुने सम्भावना देखिएको भए पनि अन्तिम समयमा सहमति गरिएको एमाले मोरङका अध्यक्ष विनोद ढकालले बताए। 

यससँगै १६ पालिका मध्ये ९ वटामा सर्वसम्मत भएको छ। बाकी ७ पालिकामा निर्वाचनबाटै नेतृत्व चयन हुने सम्भावना रहेको उनले जानकारी दिए। धनपालथान, सुनवर्सी र जहदा गाउँपालिकामा वडा अधिवेशन नै नभएकाले पछि अधिवेशन हुने उनले बताए। 

सबैभन्दा धेरै विवादित जिल्लाको रूपमा देखिएको सुनसरीका कुनै पनि पालिकामा अधिवेशन सम्पन्न हुन सकेको छैन। १२ पालिका रहेको सुनसरीमा धरान र इटहरी उपमहानगरपालिका सबैभन्दा धेरै विवादित देखिएको छ। धरान र इटहरीमा २०७५ जेठ २ को जिल्ला नेतृत्वले फेरि नेतृत्वमा दाबी गरेपछि भीम आचार्य समूहले विरोध जनाएको छ।

सुनसरीका सहइन्चार्ज तैयब हुसैन १२ मध्ये ८ वटा पालिकामा अधिवेशन उद्घाटन भएको बताउँछन्। बाकी दुहबी नगरपालिका, देवानगंज, कोसी र हरिनगर गाउँपालिकामा अझै केही समय लाग्ने उनको भनाई छ। 

धरान र इटहरीमा पनि सर्वसम्मत प्रयास भइरहेकाले बिहीबार दिउँसोसम्ममा परिणाम आइसक्ने उनले बताए। समानान्तर गतिविधि गर्ने समूहसँग कुनै पनि सहमति र सहकार्य हुन नसक्ने भन्दै उनले पार्टी र टिम पनि एउटै भएकाले नेतृत्व चयन सर्वसम्मतिबाटै हुनसक्ने दाबी गरे। 

हाल प्रदेश १ का १४ जिल्ला मध्ये १३ जिल्लामा पालिका अधिवेशन जारी छ। पाँचथरमा बाढी पहिरोले धेरै क्षति पुर्याएका कारण अधिवेशन हुन नसकेको प्रदेश अध्यक्ष देवराज घिमिरेले बताए। पार्टी एकताको पक्षमा सबै नेता कार्यकर्ता देखिएकाले एकाध पालिका बाहेक सबैतिर सहमतिको सम्भावना रहेको उनले बताए। 

कात्तिक १०, २०७८ बुधबार २०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।