बागमती प्रदेश: विश्वासकाे मत लिँदै मुख्यमन्त्री शाक्य, बैठक दिउँसाे १ बजे

बागमती प्रदेश: विश्वासकाे मत लिँदै मुख्यमन्त्री शाक्य, बैठक दिउँसाे १ बजे

काठमाडौं: बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेश गरेको विश्वासको मत लिने प्रस्तावमा आज मतविभाजन हुने भएकाे छ। मुख्यमन्त्री शाक्यले गत कार्तिक ४ गते प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गरेकी थिइन्।

हाल नेकपा एमालेबाट मुख्यमन्त्रीमा नियुक्त शाक्य अल्पमतमा परिसकेकी छिन्। एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादीमा एमालेका १३ सांसद प्रवेश गरेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन्। 

एक सय ९ सदस्यीय बागमती प्रदेश सभामा विश्वासकाे मत प्राप्त गर्न ५५ सदस्यकाे मत आवश्यक हुन्छ। हाल एमालेसँग ४३ सदस्य मात्र छन्। नेपाली कांग्रेससँग २२, नेकपा माओवादी केन्द्रसँग २३ र एकीकृत समाजवादीसँग १३ सदस्य रहेका छन्।

सांसदले फ्लाेर क्रस नगरे संसदीय अंकगणितअनुसार बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज पदमुक्त हुनेछिन्। मुख्यमन्त्रीमा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डेकाे नाम पनि प्रस्ताव गरिसकिएकाे छ। 

प्रदेश सभा सचिवालयका अनुसार आज प्रदेश सभा बैठक दिउँसाे १ बजेका लागि बाेलाइएकाे छ।

कात्तिक १०, २०७८ बुधबार ०८:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।