‘काम नपाएरै यौनकर्मी बनेको थाहा हुँदाहुँदै पनि प्रहरीले दुर्व्यवहार गर्छ’ 

‘काम नपाएरै यौनकर्मी बनेको थाहा हुँदाहुँदै पनि प्रहरीले दुर्व्यवहार गर्छ’ 

बुटवलः साँझ छिप्पिदै थियाे। बुटवलको मिलनचोक छेउ ३/४ जनाको समूह साउती गर्दै थियो। उनीहरू बाटो हिँड्नेलाई रोक्न खोज्थे। कोही रोकिन्थे, कोही वास्तै नगरी हिँड्थे।

बाटो हिँड्नेहरूलाई रोक्नेमध्येमा चितवनकी अनुजा श्रेष्ठ (नाम परिर्वतन गरिएको) पनि थिइन्।

अनुजा तेश्रो लिङ्गी हुन्। उनी साँझ परेपछि बुटवलका सडकमा ग्राहक कुरेर बस्छिन्। उनी पेशाले यौनकर्मी हुन्। 

तर कोरोना महामारी सुरु भएपछि हो, उनी यौनकर्मी बनेकाे।

२४ वर्षकी भइन् अनुजा। छोराको रूपमा जन्मिएकी अनुजालाई तेस्रो लिङ्गी भएको थाहा भएपछि घरबाट निकालियो। ७ वर्ष भयो, त्यसयता उनी घर गएकी छैन।

घरबाट निकालिएपछि अनुजा बुटवल आइन्। बुटवलमा डान्सबारमा काम गर्न लागिन्। तर महामारी सुरु भयो। बार बन्द भयो। काम थिएन। तर भोक, प्यासले छोडेन। उनी बाध्य भएर यौनकर्मी बनिन्। 

त्यसो त अनुजा काम खोज्दै विभिन्न संस्थाहरूमा पनि धाइन्। तर काम पाइनन्। पाइन् त केवल अवहेलना र दुर्व्यवहार। 

‘डान्सबारमा नाचेर खानलाउन र कोठाभाडा तिर्न पुग्थ्यो। कोरोनाले सबै बन्द भएपछि आत्तिएँ। पेट पाल्न मसँग अरू विकल्प भएन। त्यही कारण यो पेशामा आएँ’, उनले भनिन्।

डिप्रेशन पनि
कोभिडपछि काम नपाउँदा अनुजा डिप्रेशनमा पनि पुगिन्। लागू औषध सेवन गर्न थालिन्। धन्न, तेस्रो लिङ्गीहरूकै संस्थाले उनलाई राहत दियो। अनि लागूऔषध छाडिन्। ‘राहत पाएपछि जीवन व्यर्थ फाल्नु हुँदैन भन्ने लाग्यो। बरू यौनकर्मी नै बनेर बाँच्छु भन्ने सोचें’, उनले भनिन्।

शरीरको मूल्य ५ सयदेखि ५ हजार
अनुजा गोलपार्क बस्छिन्। साँझ अबेरसम्म ग्राहकको खोजीमा लाग्छिन्। उनका ग्राहक क्याम्पस पढ्ने युवादेखि अधबैंसेसम्म हुन्छन्। पैदल हिँड्नेदेखि कारमा आउनेसम्मले अनुजाको शरीरको मोल लगाउँछन्।

मानिस अनुसार अनुजा ५ सयदेखि ५ हजारसम्म लिन्छिन्।

सडकमा यौनकर्मी बनेर ग्राहक खोज्न अनुजालाई सहज भने छैन्। रातमा प्रहरीले भेटाए लखेट्छ, गाली दिन्छ। 

अनुजा भन्छिन्– ‘काम नपाएरै यौनकर्मी बनेको थाहा हुँदाहुँदै पनि प्रहरीले दुर्व्यवहार गर्छ। हिजडा, छक्का अनेक भन्दै हेप्छ।’ 

कतिपयले ग्राहकले त पैसा तिरेर शरीर किनेको बहानामा राक्षसी व्यवहार पनि गर्छन्। शरीरका विभिन्न संवेदनशील अङ्गमा चुरोटले डामिदिन्छन्।

घरबाट बहिष्कृत भएकै कारण उनीसँग नागरिकता पनि छैन। 'काम खोज्न जाँदा नागरिकता अनिवार्य भन्छन्, नागरिकता नहुँदा काम पाउन पनि गाह्रो छ', उनी भन्छिन्।

यता नेपालगञ्जकी सोमित श्रेष्ठ (नाम परिर्वतन) पेशाले मेकअप आर्टिस्ट हुन्। लकडाउनअघिसम्म उनी आफ्नो समूहसँग विभिन्न जिल्लामा कार्यक्रम गर्थिन्। घटीमा मासिक २५ देखि ३० हजार कमाउँथिन्। 

तर लकडाउनपछि देशमा सांस्कृतिक कार्यक्रम खासै भएनन्। काम खोज्दा कहीँ नपाएपछि उनी पनि अनुजा जस्तै सडकसम्म आइपुगिन्।

‘रहर होइन, बाध्यता हो। हाम्रो जीवन चलाउन केही त गर्नुपर्यो। हामीले खुशीले यो पेशा अँगाल्यौं’, उनले भनिन्। 

नेपालगञ्जमा कक्षा ९ मा पढ्दै गर्दै उनले आफू तेस्रो लिङ्गी भएको महसुस गरेकी थिइन्। घरमा छोरो तेस्रो लिङ्गी भएको थाहा पाएपछि स्वीकार गरेनन्। 

उनी तेस्रो लिङ्गीहरूकै संस्था मार्फत ५ वर्षअघि बुटवल आइन्। ‘छोरा असल बनोस्। केही काम गरोस् भन्ने सबैका बुवा आमालाई लाग्नु स्वभाविक हो। तर जब तेस्रो लिङ्गी भएको खुल्यो, उहाँहरूलाई नराम्रो लाग्यो। गाली गर्नुभयो। त्यसपछि आमा बुवाको चित्त दुखाउनुभन्दा घर छाड्नै उचित लाग्यो’, उनले भनिन्।

कात्तिक १०, २०७८ बुधबार ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।