विमलाको संघर्ष : जब लाज त्यागिन्, सफलतै-सफलता
६ कक्षा पढ्दापढ्दै गाँउबाट सहर पसेकी विमलाले चिया पसल सुरु गरेको १९ वर्ष भयो। यो १९ वर्षमा चिया पसलले विमलालाई निराश बनाएको छैन।
‘चिया बेच्न थालेदेखि मैले दुःख देख्नुपरेको छैन,’ विमलाले उकेरालाई सुनाइन्।
०००
भोजपुरको सामान्य किसान परिवारमा जन्मेकी विमलाले लेख-पढ गर्न सकिनन्। परिवारले स्कुल त पठाए तर उनलाई पढाइमा मन नै बसेन।
‘घरबाट खेत टाढा थियो। किसान परिवार काम नगरी हुँदैनथ्यो। कामको मारले पनि पढ्न उति सकिएन,’ उनी भन्छिन्, त्यसले तीन साथीसँग भागेर काठमाडौं आएँ।’
काठमाडौंमै थिए उनका दाजु टीका पराजुली। टीका त्यतिबेला सक्रिय राजनीतिमा थिए। विमला दाजुकै डेरामा पुगिन्।
उनी घर छोडेर हिँड्ने वित्तिकै गाउँमा हल्ला भयो। उनीसँग आएका दुई साथी गाउँ फर्काइए। उनीहरुको गाउँबाटै विवाह भयो। उनीहरु आज पनि उतै छन्। तर विमला भने गाउँ फर्कन मानिनन्।
दाजुलाई पकाउने, खुवाउने गरेर नै विमलाले दुई वर्ष सहरमा बिताइन्। उनी गाउँ नफर्कने कुरामा अडिग थिइन्। फलतः दाजु टीकाले विमलाको विवाह गराइदिने निधो गरे।
‘दाइसँग दुई वर्ष बसें। काम केही थिएन। दाजुले चिनेजानेको केटाको कुरा ल्याउनुभयो,’ विमला सुनाउँछिन्, ‘त्यतिबेला मेरो उमेर भर्खर १६ वर्ष लाग्न आँटेको थियो।’
०००
विमलाका श्रीमान् पुल्चोकका एक जना साहुको घरमा काम गर्थे। दाजुले टीकाटाला गरेर काठमाडौंबाटै बहिनीको विवाह गराइदिए।
विवाहपछि विमलाका श्रीमान् ध्रुव दाहाललाई साहुले मेलम्ची खानेपानी आयोजनामा जागिर लगाइदिए। ध्रुवले गरिरहेको काम विमलाले सम्हाल्न थालिन्।
‘विहेपछि मैले साहुको घरमा काम गरें। श्रीमान मेलम्चीमा खानेपानी आयोजनामा काम गर्न थाल्नुभयो,’ विमलाले भनिन्।
विवाह गरेको दुई वर्षपछि विमलाको छोरा जन्मियो। इता छोरा जन्मियो, उता श्रीमानको जागिर पनि स्थायी भयो। अहिले पनि विमलाका श्रीमान् त्यहीँ कार्यरत छन्।
छोरा जन्मिएपछि विमलालाई साहुकोमा बस्न असहज लाग्न थाल्यो। छोरा १० महिनाको भएपछि साहुसँग बिदा मागेर विमलादम्पती पाटनमा कोठा लिएर बस्न थाल्यो।
श्रीमान् काममा गएपछि बच्चालाई काखमा च्यापेर विमला कामका लागि थरीथरीका मान्छे भेट्न थालिन्। सडकका व्यापारीसँग सोधपुछ गर्न थालिन्। धेरैले धेरैथरी कुरा सुनाए। तर उनले के काम गर्दा पैसा कमाइन्छ भन्ने निधो गर्न नै सकिनन्।
संयोगले सडक मेटीमा मोजा बेचेर बस्ने इलामकी एक महिलासँग उनको चिना-परिचय भयो।
‘ती दिदीसँग तीन/चार दिन सँगै बसें। खासै व्यापार देखिनँ,’ विमला भन्छिन्, ‘ती दिदीले जुक्ति निकालिन्, तिमी चिया बेच। म चुरोट बेच्छु।’
दुवैको सल्लाह अनुसार बानेश्वरस्थित कान्तिपुर अस्पताल अघिल्तिर चिया बेच्न पाइन्छ कि भनेर ठाउँ खोज्न पुगे। तर ठाउँ मिलेन।
‘त्यसपछि राष्ट्रिय वाणिज्य बैंकको तीन नम्बर गेटछेउ नवदुर्गा नामको डिपार्टमेन्टल स्टोर थियो। त्यहाँ ठाउँ देखियो,’ विमला भन्छिन्, ‘त्यसपछि गार्डलाई सोधें, यहाँ चिया बेच्न पाइन्छ?’
गार्डले चिया बेच्न पाए पनि नगरपालिकाले दुःख दिने कुरा सुनाए।
अब विमलाले त्यही डिपार्टमेन्टल स्टोरसँगै चिया बेच्ने निधो गरिन्।
चिया बेच्ने त भइन् तर पाटनबाट बानेश्वर आउजाउमा समस्या हुन्छ भन्ने पिरलो थियो विमलाको मनमा।
‘शंखमुलको ओरालोको एउटा पसलछेउ बसेर छोरालाई दूध खुवाउँदै थिएँ। एउटी आमा आइन्। कुराकानी हुँदै जाँदा उनैको घरमा कोठा रहेछ। त्यहीँ बस्न थालें,’ विमलाले भनिन्।
चिया बेच्ने पक्का भए पनि विमलासँग पैसा थिएन। उनले श्रीमान्सँग पैसा मागिन्। श्रीमानले ‘तिमीले कमाउने, म खाने?’ भन्ने जवाफ दिए । तर जिद्दी गरेपछि श्रीमानले पाँच सय रुपैयाँ विमलालाई थमाइदिए। त्यही पैसाले उनले स्टोभ किनिन्। सिसाका ग्लास किनिन्। मट्टितेल किनिन्। चिनी-चियापत्ती किनिन्।
‘छोरालाई कोठामा बासँगै छाडेर शंखमुलबाट बिहान तीन बजे उठेर आएँ चिया बेच्न,’ विमला भन्छिन्, ‘पहिलो दिन लाज लाग्यो। तर २० पाउन्ड दूध ८ बजे नै सकियो।’
पहिलो दिन विमलाले एक सय रुपैयाँ नाफा कमाइन्। तर लाजले उनलाई छाडेन। कतिबेला कोठामा फर्किऊझैं भयो। यस्तो चार दिनसम्म रह्यो।
चिनेजानेका मान्छेले चिया बेचेर बसेको नदेखे हुन्थ्यो जस्तो लाग्थ्यो विमलालाई। तर जतिसुकै लाज लागे पनि आँट त थियो, काम चालु राखिन्।
चौथो दिन विमलाको चिया पसलमा डिपार्टमेन्टका साहु आइपुगे। त्यतिबेलासम्म साहुलाई विमलाले त्यहाँ चिया बसेर बसेको थाहा थिएन। उनलाई डर पनि लाग्यो।
विमला भन्छिन्, ‘साहुले बोलाए। घर, नाम, थर सबै सोधे।’
बस्न नदिने हुन् कि भनेर डराएकी विमला साहुको व्यवहारले खुसी भइन्। साहुले आत्मनिर्भर हुन खोजेकी महिलालाई प्रोत्साहन गरे। पानी स्टोरबाटै दिने भए। सामान बोकेर ल्याउने-लैजाने पनि गर्नुपरेन।
‘भर्याङमुनि सामान राख्न ठाउँ पनि दिए। पानी गार्डलाई भनेर दिनदिनै राख्दिन्थे,’ विमला भन्छिन्, ‘म डराएर गएको त झन् स्टोरका साहु (सरोज ढकाल)ले आँट दिए। आत्मनिर्भर हुन खोजेको भनेर तारिफ गरे। निर्धक्क भएर, नलजाई काम गर्न सुझाए।’
ढकालले आँट मात्र दिएनन्, विमलाले पकाएको चिया पनि चाखे। त्यसपछि गर्न मन लगुन्जेललाई स्थान दिए। विमलाले ११ वर्ष त्यही स्टोर अघिल्तिर चिया बेचिन्।
११ वर्ष सडकमा चिया बेच्दा कुनै दिन ग्राहकको नराम्रो बचन सुन्नु परेन विमलालाई। नगरपालिकाले दुःख दिन्छ भनेर अत्याउनेहरुले भनेजस्तो दुःख पनि दिएन नगरपालिकाले।
‘गरिखाने मान्छेलाई चिन्छन् नि मान्छेले। ११ वर्षमा जम्मा चार पटक उठायो मलाई नगरपालिकाले,’ उनी भन्छिन्, ‘ती पुराना कर्मचारी आज पनि बेलाबेला चिया खान आउँछन्। कतै देखे-भेटे काम त छाड्या छैन नि भन्छन्। मान्छे गुना हुनेरहेछ सबै कुरा।’
०००
विमलाले ११ वर्षपछि स्टोर अघिल्तिरबाट बिदा लिनुपर्यो। त्यसपछि उनले बानेश्वर लुम्बिनी होटल पछिल्तिर सानो सटर लिइन्। तर घरभेटीले धेरै मान्छे आएकोले डिस्टर्ड भयो भन्दै अन्तै सर्न भने।
सोही बखत मिनीमार्टको विकास हुँदै थियो। विमलाले आठ वर्षअघि तीन हजारमा थोरै ठाउँ पाइन्, मिनीमार्केटभित्र जस्ताको सानो छाप्रो।
विस्तारै मान्छेको चाप बढ्न थाल्यो। त्यही चापका कारण मिनीमार्केटमा ठाउँ बढाउँदै लगिन्। हाल करिब ३० फिट लम्बाई र ९ फिट चौडाइको क्षेत्र बनाएकी छिन्।
यहीँ चिया बेचेर उनले छोरालाई राम्रो स्कुलमा पढाएर अमेरिका पठाइन्। भक्तपुरमा जग्गा किनिन्।
चिया बेचेर तिमीले कमाउने र मैले खाने भनेर नपत्याएका विमलाका श्रीमान् अहिले फुर्सदका बेलामा उनलाई चिया पसलमा सघाउँछन्।
‘काखे छोरालाई सडकमा सुताएर बिहान तीन बजेबाट मैले चिया बेच्थें। निरन्तरता नै ठूलो कुरा रहेछ। निरन्तरता दिइरहयो भने धौर्यता र क्षमता आफैं विकास हुन्छ। आज त्यही चिया बेचेर कम्तीमा पनि गर्मीका साधारण दिनमा २ हजार, जाडोका महिनामा ३ हजारका दरले दैनिक मेरो कमाइ हुन्छ।’
लाज नत्यागेसम्म जीवनमा प्रगति गर्न सकिँदैन। विमलालाई यस्तै लाग्छ। उनी भन्छिन्, ‘लाज नत्यागेको भए आज यसरी आरामको जीवन बिताउन सक्दिनथें होला। मेरो जीवनको मन्त्र नै लाज त्याग्नु र धैर्यताले काम लिनु हो।’
थप भुईँ मान्छेको कथा
कात्तिक ८, २०७८ सोमबार १४:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।