प्रदेश १: एमालेमा विवादै विवाद, मुख्यमन्त्री नै बिलखबन्दमा
मुख्यमन्त्री आचार्यले आइतबार विश्वासको मत लिने तयारी गरेका थिए। तर प्रधानमन्त्रीको भ्रमण देखाउँदै कांग्रेसले संसद बैठक सञ्चालन नगर्न माग गर्यो। कांग्रेसका केही सांसदले फ्लोर क्रस गर्ने सम्भावना भएकाले कांग्रेसले प्रधानमन्त्रीको भ्रमणको बहानामा बैठक सार्ने माग गरेको थियो।
यता एमालेलाई पनि सांसदहरूले फ्लोर क्रस नगरेसम्म विश्वासको मत प्राप्त नहुने थाहा थियो। एमालेले पनि पार्टीको आन्तरिक बैठक र आसन्न महाधिवेशनको बहानामा बैठक सार्न माग गरेको हो।
तर केही दिनको लागि मुख्यमन्त्री पद जोगाएका आचार्यलाई पार्टीभित्रको टीम जोगाउन भने हम्मेहम्मे पर्न थालेको छ।
माधव नेपाल निकट रहेका आचार्य एमाले विभाजन हुँदा मुख्यमन्त्री पद पाइने भएपछि एमालेमै बसेका थिए। अहिले आचार्यको आधार क्षेत्र मानिएको सुनसरी एमालेको विवाद उत्कर्षमा पुगेको छ। आचार्य पक्षका स्थानीय नेताहरू जसले उनलाई पहिल्यैदेखि साथ दिएका थिए, ती हाल संस्थापन पक्षको एकलौटी निर्णयले निरीह बनेका छन्।
संस्थापन पक्षको समर्थनमा मुख्यमन्त्री भएका आचार्य अहिले आफ्नो टीम जोगाउने कि संस्थापनकै समर्थनमा लाग्ने भनेर बिलखबन्दमा परेका छन्।
विवादको जड
एमाले र नेकपा (माओवादी केन्द्र)को पार्टी एकता हुनुअघि सुनसरी अध्यक्ष रहेका रमेश बस्नेतलाई हटाएर रेवतीरमण भण्डारी अध्यक्ष चयन भएपछि विवाद बढेको थियो। भण्डारी त्यसबेला आचार्यसँगको खटपटपछि ओली समूहमा लागेका थिए भने बस्नेत आचार्यलाई साथ दिएर बसे।
तर अहिले आचार्यलाई संस्थापन पक्षका भण्डारी र आफू निकट बस्नेतमध्ये कसको पक्षमा लाग्ने भन्ने सकस छ। भण्डारीको पक्षमा लागे आफ्नो टीम भाडिने र बस्नेतलाई समर्थन गरे संस्थापन समूहले बदला लिनसक्ने उनको बुझाइ छ।
उनले हाल मध्यमार्ग रोजेका छन्। अहिले मुख्यमन्त्री भएकाले उनी पार्टीको आन्तरिक विषयमा हस्तक्षेप नगर्ने रणनीतिमा छन्। ७ दिनपछि मुख्यमन्त्री पदबाट बिदा भए खुलेर एउटाको समर्थन वा तटस्थ रहने उनको तयारी छ।
यस्तो छ विवाद
हाल सुनसरी एमालेमा दुई वटा जिल्ला कमिटी छन्। १० बुँदे सहमतिअनुसार ०७४ जेठ २ अगाडि पार्टी फर्किएको अवस्थामा बस्नेत स्वतः पार्टी अध्यक्षको हैसियतमा हुनेछन्।
तर भण्डारीको कमिटीलाई पार्टी अध्यक्ष ओलीको समर्थन भएकाले एमाले एकताको लागि तयार पारिएको १० बुँदे कार्यान्वयन नभएको हो। गत भदौ २७ गते बिहीबार बसेको कार्यदलको बैठकले सुनसरी जिल्ला कमिटीको अध्यक्षमा रमेश बस्नेतलाई पुनर्स्थापना गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै भण्डारीले आपत्ति जनाएका थिए।
उनै आचार्यले भण्डारीलाई बर्खास्त गरेर बस्नेतलाई अध्यक्ष चयन गरेका हुन्। एमाले विवाद उत्कर्षमा भएको बेला ०७७ फागुन १ गते ओली समूहबाट भण्डारी अध्यक्ष चयन भएका थिए।
उता भण्डारीले जिल्ला कमिटी विधानको व्यवस्था बमोजिम समयमै अधिवेशन नगरेर अवैधानिक रूपमा बस्नेतले समानान्तर गतिविधि गरेको आरोप लगाउँदै आएका छन्।
उता बस्नेतले कम्युनिष्ट पार्टीमा जनवादी केन्द्रीयता लागू हुने भएकोले केन्द्रीय कमिटीले गरेको निर्णय कार्यान्वयन गर्न आफू प्रतिवद्ध भएको बताउँदै आएका छन्।
हाल दुवै पक्ष र तिनका समर्थक एकअर्काविरुद्ध विज्ञप्ति जारी गर्दै आफूलाई आधिकारिक र अर्को पक्ष अनाधिकृत भएको आरोप लगाउँदै आएका छन्।
आचार्यप्रति लचक हुँदै भण्डारी
कुनै समय आचार्यका विश्वास पात्र मानिन्थे भण्डारी। ०७४ को प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि आचार्यसँग टाढिएका भण्डारी लामो समय उनको विरोधी खेमामा बसे। भण्डारीले आचार्यको विरुद्धमा मोर्चाबन्दी नै गरे।
स्थानीय तहको निर्वाचनमा आचार्यले आफूसँग टिकटको लागि पैसा मागेको भन्दै भण्डारीले आरोप लगाए। तत्कालीन नेकपा एमाले केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठमार्फत भीम आचार्यले टिकटको लागी १५ लाख माग गरेको उनले बताएका थिए।
भण्डारीले प्रदेश १ नेकपा संसदीय दलको निर्वाचनमा समेत अचार्यलाई हराउन शेरधन राईको पक्षमा महोल बनाएका थिए।
मुख्यमन्त्री बन्ने तयारीमा रहेका आचार्य संसदीय दलमा एक मतले पराजित भएका थिए। त्यसमा भण्डारीको महत्त्वपूर्ण भूमिका रहेको थियो। हाल भने परिस्थिती बदलिएकाव छ।
भण्डारी अहिले आचार्यसँग सम्बन्ध सुधार गर्ने रणनीतिमा छन्। सुनसरी एमालेको मियो मानिएका आचार्यलाई चिड्याएर अगाडि बढ्न नसकिने बुझेका भण्डारीले सम्बन्ध सुधारको सेतु पहिल्याउँदै लगेका छन्।
एमाले विभाजनपछि एउटै समूहमा सामेल भएका दुवै नेता महाधिवेशनको विषयलाई लिएर निरन्तर संवाद र छलफलमा छन्। अचार्य पनि कार्यकर्तामाझ बलियो पकड बनाएका भण्डारीलाई आफ्नो पक्षमा पार्न सके फाइदा हुने बुझाइमा छन्।
कात्तिक ८, २०७८ सोमबार ११:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।