भाइरल हजुरआमा: जसले ४९ वर्षको उमेरमा पूरा गरिन् गायिका बन्ने सपना

भाइरल हजुरआमा: जसले ४९ वर्षको उमेरमा पूरा गरिन् गायिका बन्ने सपना

किन लुकीछिपी? उनी भन्छिन्- 'त्यसबेला गीत गाउने नाच्ने काम सानो जातिले मात्रै गर्छन् भन्ने मान्यता थियो।' 

चन्द्रा परिन् ब्राह्मणकी छोरी। उनलाई नाच्न गाउन नपाउँदा निकै सकस हुन्थ्यो। यता घरकी जेठी छोरी पनि थिइन् चन्द्रा। कामको बोझ धेरै नै हुने। विद्यालय गएर पढ्न पाउनु त परको कुरा। 

१६ वर्षको कलिलै उमेरमा ०४२ सालमा उनले गाउँकै तिलक प्रसाद सुवेदीसँग भागी विवाह गरिन्। विहेपछि उनीहरू सुर्खेत आए। 

विवाहपछि त नाचगानमा उनले श्रीमान्को पनि साथ पाइन्। माइतीपट्टीकाले जस्तो घरकाले रोकटोक गरेनन्। 

विभिन्न प्रतियोगितामा रचना गरिने गीतमा श्रीमान्-श्रीमती नै छलफल गरेर लेख्थे। 


चन्द्रा र उनका श्रीमान् तिलक

चन्द्रासँग औपचारिक शिक्षा त थिएन। तर ७ दिनको साक्षरता कक्षा भने लिएकी थिइन्। त्यसैले सामान्य लेखपढ गर्न सक्थिन्।

चन्द्रा हरेक प्रतियोगितामा भाग लिने गर्थिन्। कहिले पहिलो हुन्थिन्। कहिले दोश्रो कहिले तेस्रो। कुनै न कुनै पुरस्कार जीतेरै छाड्थिन्। तीज, नारी दिवस जस्ता विभिन्न कार्यक्रममा हुने सांगीतिक कार्यक्रममा उनलाई अन्य महिलाले आ–आफ्नो समूहमा राख्न खोज्थे।

‘सानैदेखि गायक बन्ने ठूलो धोको थियो, गाउँमा गाउनु हुँदैन भन्थे। लुकीछिपी मेलापातमा गाइन्थ्यो, विहे गरेपछि श्रीमान्ले साथ दिनुभयो, मलाई अलि सहज भयो', उनले भनिन्। 

उनले विभिन्न प्रतियोगिता र विवाहमा रत्यौली, भजन गाएकी छिन्। एक पटक त उनी एकाएक भाइरल भइन्।

चन्द्राले भनिन्, ‘भाइको विहेमा आशिष दिएको दुई टुक्का कसैले टिकटक र युट्युवमा हालेछन्। पछि एकाएक भाइरल भयो, अनि मेरो खोजी हुन थाल्यो।’ 

कसरी भाइरल भइन् चन्द्रा ?
एक वर्षअघि वीरेन्द्रनगर–२ मा चन्द्राको भाइको विहे थियो। विहेमा दिउँसो चन्द्राले रत्यौली गाइन्। पछि गीत गाइन्। गीत सुनेर त्यहाँ सहभागी युवादेखि वृद्धसम्म प्रभावित भए।

सिलसिला यत्तिमै रोकिएन। चन्द्राले भाइबुहारीलाई गीतबाटै आशिष दिइन्: 

हातमा जनै समाएर छोरी दिए बाले
बुढेसकालमा बाउआमालाई वचन नलाई पाले 
सासूससूरालाई पनि बाआमा सरी बनाएर पाले
जेठो जर्नेल माइलो कर्नेल कान्छो चौतारीमा 
घुन पुत्ला नलागोस् कहिल्यै तिम्रो दौंतरीमा


विहेमा सहभागी भएकाहरूले यो आशिषको भिडियो बनाएर युट्युव, फेसबुक र टिकटकमा पोष्ट गरिदिएछन्। अनि त चन्द्रा एकाएक भाइरल।

अनि भयो काठमाडौंको यात्रा
सबैतिरबाट चन्द्राको खोजी सुरु भयो। कालाकार वसन्त थापाले पनि उनीसँग सम्पर्क गरे। उनलाई काठमाडौं बोलाए। उनी काठमाडौं गइन्।

वसन्त र चन्द्रा मिलेर रत्यौली र तीजको गीत मिसाएर ‘हा बरै सानी माया लै’ बोलको गीत रेकर्ड गरे।

वसन्त थापाको आफ्नै युट्युव च्यानलमा अपलोड गरिएको उक्त गीत हालसम्म ४९ लाख ४५ हजारभन्दा बढीले हेरेका छन्।

त्यसपछि त आशिष जस्तै गीत पनि भाइरल। घरमा पनि सबै खुशी। 'नाम चलाइस्' भनेर सबैले आर्शीवाद दिए। 

उक्त गीतको भिडियोमा चन्द्राकी छोरी र बहिनीले पनि अभिनय गर्ने मौका पाए। त्यसपछि चन्द्रा गाउँमा आउँदा उनीसँग फोटो खिच्नेहरूको भीड लाग्न थाल्यो। 

‘सुरुमा काठमाडौंबाट मलाई वसन्त बाबुको फोन आउँदा पत्याउनै गाह्रो भयो, यो उमेरमा आएर कसैले गीत गाउने मौका दिन्छ भन्ने लागेकै थिएन’, चन्द्राले भनिन्, ‘मेरो कला आखिर स्टुडियोसम्म गएर सबैलाई देखाउन पाएँ।’

गाउँमा फाट्टफुट्ट भजन किर्तन, रत्यौली र तीजका भाका गाउने चन्द्राका लागि स्टुडियोमा गएर गाउने रहर पूरा गर्न ४९ वर्ष लाग्यो। 
नातिनतिनाको हजुरआमा भएपछि बल्ल उनले आफ्नो सपना साकार पारिन्। 

उनका तीन छोरी एक छोरा छन्। एउटा छोरा सानैमा बिते। छोरा र छोरीका गरी उनका पाँच नातिनतिना छन्।

आउँदा दिनहरूमा रत्यौली, भजन र पुराना गीतहरू रेकर्ड गरेर कला संस्कृतिको जगेर्ना गर्ने उनको लक्ष्य रहेको छ।

कात्तिक ८, २०७८ सोमबार ०८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।