सांसदले 'फ्लाेर क्रस' गर्ने सूचना चुहिएपछि संसद् बैठक स्थगित गर्न कांग्रेसको माग
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ काे बाढी तथा पहिराे प्रभावित क्षेत्रकाे अवलाेकनमा आएकोले प्रदेश सभा स्थगित गर्न कांग्रेसले संसद सचिवालयमा निवेदन बुझाएको हाे। देउवालाई प्रमुख कारण देखाएर स्थगित गर्न लागिएको संसद् बैठकका पछाडि कांग्रेसभित्रको आन्तरिक समस्या कारक रहेको स्राेतले बताएकाे छ।
स्राेतका अनुसार कांग्रेसका केही सांसदले फ्लोर क्रस गर्ने सूचना चुहिएपछि बैठक स्थगित गर्न निवेदन दिइएको हो। आचार्यलाई कांग्रेसका ६ सांसदले साथ दिए उनको मुख्यमन्त्री पद जोगिने देखिन्छ।
मुख्यमन्त्री आचार्यले आइतबार विश्वासको मत लिनकै लागि संसद्काे बैठक बस्ने कार्यसूची छ।
एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन्। उनलाई बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। तर विभाजनपछि एमालेका ४१ जना मात्रै सांसद छन्।
कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रधानमन्त्रीको भ्रमणले असर पारेका बताएका छन्। नेपाली कांग्रेस बलियो अवस्थामा हुँदा पनि मुख्यमन्त्री नपाउनु दु:खद् रहेको स्मरण गराउँदै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने बताए।
विपक्षी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार छन्। उता कांग्रेसका राजीव कोइरालाले पनि मुख्यमन्त्रीमा इच्छा व्यक्त गरेका छन्।
उता कांग्रेसकाे बैठक स्थगित गर्ने मागलाई जाेड दिँदै नेकपा एमालेले कार्तिक १५ गतेसम्म बैठक रोक्न माग गरेको छ। सभामुखलाई पत्र लेख्दै एमालेले पार्टीको महाधिवेशन र बैठकको कारण समय मिलाउन समस्या भएको भन्दै बैठक स्थगित गर्न माग गरेकाे हाे।
कात्तिक ७, २०७८ आइतबार १२:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।