विद्युत् प्राधिकरणको लापरबाहीले दुवै हात गुमाएकी रूपाको प्रेरणादायी रूपान्तरण

विद्युत् प्राधिकरणको लापरबाहीले दुवै हात गुमाएकी रूपाको प्रेरणादायी रूपान्तरण

देशमा उज्यालो छर्ने जिम्मा पाएको विद्युत् प्राधिकरणको लापरबाहीले झण्डै झण्डै रूपाको जीवन अन्धकार भइसकेको थियो। तर हिम्मतवाली रूपाले हार मानिनन्। अहिले उनी थुप्रैको प्रेरणा भएकी छिन्।

एकछिन रूपाकै कुरा गरौं। 

रूपा बुटवलको देवीनगरमा बस्दै आएकी छिन्। कपिलवस्तु वाणगंगा नगरपालिका–३, धनकौली स्थायी घर भएकी रूपाले ०७५ सालमै गीत रेकर्ड पनि गराइसकेकी छिन्। 

बगरमा फूल फुलाउँछु
वसन्तलाई यहीँ बोलाउँछु
मेरो दुई पाउ छन अजम्बरी 
म हिम्मत भा'की छोरी
गर्नुपर्छ मेहनत हुन सक्छ असजिलो
असम्भव केही छैन, सबै सजिलो
भोकै रहुँ नखाउँ दुई हात जोडी
म त हिम्मत भा'की छोरी


यो गीत उनको आफ्नै जीवनसँग मेल खान्छ। अहिले पनि यही गीतका प्रत्येक अक्षर उनको मार्गदर्शक बनिरहेको छ। 
....

०६२ साल। रूपाका बुवा विष्णु प्रसाद रोजगारीका लागि मलेसियामा थिए। मोबाइल फोन अहिले जस्तो सामान्य थिएन। सम्पर्कको माध्यम चिठीपत्र थियो। 

रूपा सानै थिइन्। चिठी लेख्न सक्थिनन्। आमा इन्द्रकला चिठी लेख्न जान्दिनथिन्। श्रीमान्सँग सम्पर्क गर्न उनलाई छिमेकीले सघाउँथे। त्यसदिन पनि इन्द्रकला रूपालाई लिएर श्रीमान्लाई चिठी लेखाउन छिमेकीको घर गइन्। 


रूपा राैतार। फाइल फोटो/विकाश पराजुली

भदौको महिना थियो। झरी परिरहेको थियो। इन्द्रकला छिमेकीसँग बात मार्दै चिठी लेखाउँदै थिइन्। यता रूपा निदाइन्। रूपालाई कोठाभित्र सुताएर ईन्द्रकला चिठी लेखाउने काममै जुटिन्। 'हुने हार, दैव नटार'। रूपा त एकैछिनमा बिउँझिइन्। 

उनी खेल्दै घरको छतमा पुगिन्। यता विद्युत् प्राधिकरणको लापरबाही कतिसम्म भने घरको छतमा बिजुलीको तार लत्रिरहेको थियो। ४ वर्षकी रूपालाई के थाहा, त्यहाँ छुन हुँदैन भनेर। उनले दुवै हातले तार छोइन्।

झर्याम्म। केही खसेको आवाज आयो। सबै जना के खस्यो भन्दै छततिर दगुरे। यताउता हेरे। त्यहाँ केही थिएन। टिनमा केही बजारिएको आवाज आएकाले टिनतिर हेर्दा पो देखियो- तलपट्टी दाउराको चाङमा रूपा लडिरहेकी थिइन्।

रूपा अचेत थिइन्। उनलाई हतार हतार लुम्बिनी प्रादेशिक अस्पताल ल्याइयो। तर उपचार सम्भव भएन। 

काठमाडौं लैजान डाक्टरले सुझाव दिए। उनलाई त्रिवि शिक्षण अस्पताल ल्याइयो। तर त्यहाँ पनि उपचार भएन। फेरि डाक्टरको सल्लाहबमोजिम उनलाई कान्ती बाल अस्पताल लगियो। त्यहाँ भने उपचार हुने भयो। 

‘देख्दा नै अत्यासलाग्दो थियो। दुवै हातमा आगो बलेका थिए’, रूपाकी आमा इन्द्रकलाले भनिन्, ‘छोरी बाँच्छे र देखुँला भन्ने सोचेकी नै थिइनँ।’ 

डाक्टरको प्रत्यक्ष निगरानीमा लगातार ६ दिनसम्म आईसीयूमा रूपाको उपचार गरियो। तर, करेन्टका कारण जलेको रूपाको हातको मासु विस्तारै कुहिन थाल्यो। 

करेन्टले रूपाको हातको हड्डी नै जलेको थियो। त्यहाँ फेरि मासु पलाउन सम्भव थिएन। त्यसैले सातौं दिनमा रूपाका दुवै हात काटिए। 
सग्लो अवस्थामा छतमा खेल्दै पुगेकी रूपा होसमा आउँदा उनका दुवै हात थिएनन्।

‘हात नकाटेको भए क्यान्सर हुने भएपछि हात काटिएको रहेछ। मलाई डाक्टरले पछि मात्र यो कुरा भन्नुभयो। त्यो बेला होसमा आउँदा हातमा पट्टी बाधिएको थियो’, रूपाले भनिन्।

कान्ती बाल अस्पतालमा ११ महिनासम्म उनको उपचार भयो। आमा ईन्द्रकला ११ महिनापछि छोरी लिएर घर फर्किइन्। 

विद्युत प्राधिकरणको लापरबाहीले घटना भएको हुँदा इन्द्रकलाले निवेदन दिइन्। घटनाको ७ दिनभित्र निवेदन दिनुपर्ने भए पनि छोरीको उपचारमा व्यस्त हुँदा त्यो समयमा निवेदन दिन पाएकी थिइनन्। ढिलो गरी निवेदन दिए पनि प्राधिकरणले उनलाई ९७ हजार रुपैयाँ राहत स्वरूप उपलब्ध गरायो। 

‘छोरीको उपचारमा ४ लाखभन्दा बढी खर्च भयो। राहत ९७ हजार पाइयो। तर अहिले लाग्छ, छोरीको ज्यान बच्यो, यसैमा खुशी मान्छु’, इन्द्रकलाले भनिन्।

दुर्घटनापछि विद्यालयले भर्ना लिनै मानेनन्
कपिलवस्तुकै होराईजन स्कुलमा रूपा ४ कक्षामा पढ्दै गर्दा उनको दुर्घटना भयो। उपचारपछि रूपाले पुनः पढ्ने इच्छा व्यक्त गरिन्। तर उनलाई कुनै पनि विद्यालयले भर्ना गर्न मानेन।

त्यसपछि रूपाको परिवार बुटवल आयो। बुटवलकी विष्णु श्रेष्ठको नेतृत्त्वमा बुटवल ल्याएर उनलाई दीप बोर्डिङ हाई स्कूलमा नर्सरीमा भर्ना गरियो। 

दीप बोर्डिङमा १० कक्षाासम्म निःशुल्क पढेकी रूपा हाल कालिका मानवज्ञान माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन्। ‘रूपा क्षमतावान विद्यार्थी हुन्। उनको लगनशीलता र परिश्रम अरूका लागि प्रेरणा बन्न सक्छ’, विद्यालयका प्राचार्य दिनेश थापाले भने।

गायनमा पनि आईडल
रूपा वागेश्वरी संगीतालयमा संगीत समेत सिक्दै आएकी छिन्। कोभिडअघि त उनी विभिन्न गायन प्रतिस्पर्धामा सहभागी पनि हुँदै आएकी थिइन्। केही वर्ष पहिले देवदहमा भएको प्रदर्शनीमा उनी आईडल समेत बनेकी थिइन्। 

बागेश्वरीमा पनि उनी पूर्ण छात्रवृत्तिमै संगीत सिकिरहेकी छिन्। 

खुट्टा नै साहारा
रूपा खुट्टाले नै आफ्नो दैनिक जीवन चलाउँछिन्। अपाङग भएर केही गर्न सकिँदैन भन्नेहरूका लागि प्रेरणा बनिरहेकी छिन् रूपा। 
रूपा खुट्टाकै साहराले पढ्ने, लेख्ने, खाने गर्छिन्।


खुट्टाले लेख्दै रूपा। फाइल फोटो/विकाश पराजुली

‘सुरु सुरुमा मैले मुखले पनि लेखेँ। तर नसकिँदो रहेछ। अहिले खुट्टाले सजिलै लेख्न सक्छु’, रूपाले भनिन्। 

त्यस बाहेक रूपाले खुट्टाकै माध्यमबाट चित्र समेत कोर्छिन्। ल्यापटप चलाउँछिन्। मोबाइलमा पनि खुट्टैले नम्बर डायल गरेर फोन गर्छिन्। 

कात्तिक ७, २०७८ आइतबार ११:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।