एमालेकाे ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

एमालेकाे ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

काठमाडाैंः नेकपा (एमाले)ले आज देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ। बाढी पहिराे प्रभावित केही जिल्लाबाहेक अन्यत्र आजबाट एमालेकाे वडा कमिटीकाे अधिवेशन सुरु गरिएकाे एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

“करिब ६ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ”, उनले भने, “ हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ।”

एमालेकाे गाउँपालिका र नगरपालिकाका वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित हुने प्रावधान रहेकाे छ। उपमहानगरपालिकाकाे वडा कमिटीमा भने ४१ सदस्य र महानगरपालिकाकाे वडा कमिटीमा ५१ सदस्य रहने व्यवस्था रहेकाे छ। 

नेपालमा हाल ६ हजार सात सय ४७ वटा वडा रहेका छन्। त्यसमध्ये झण्डै ६ हजारमा अधिवेशन सकिएकाे तामाङले बताए।

एमालेले आफ्नाे १०औं राष्ट्रिय महाधिवेशनकाे तयारीस्वरूप आजबाट वडा कमिटीकाे अधिवेशन सुरु गरेकाे हाे। आगामी मङ्सिर १० गतेदेखि एमालेकाे १०औं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएकाे छ।

कात्तिक ६, २०७८ शनिबार २०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।