वैशाखयता विपद्जन्य घटनाबाट तीन सय ५३ को मृत्यु, एक अर्बभन्दा बढीको क्षति

वैशाखयता विपद्जन्य घटनाबाट तीन सय ५३ को मृत्यु, एक अर्बभन्दा बढीको क्षति

काठमाडाैंः यस वर्ष वैशाखयता मात्रै विपद्जन्य घटनामा परेर तीन सय ५३ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखयता ८० जना बेपत्ता छन्।

८० मध्ये ४२ जना पहिराे र ३७ जना बाढीमा परी बेपत्ता भएका हुन्।

प्राधिकरणका अनुसार सबैभन्दा बढी मृत्यु पहिराेका कारण भएकाे छ। पहिराेमा परेर एक सय ६१ जनाको मृत्यु भएको छ। त्यस्तै बाढीबाट ५२ र चट्याङ लागेर ४९ जनाको मृत्यु भएको जनाइएकाे छ।

भीषण वर्षाका कारण १८, सर्पले टोकेर २०, आगलागीबाट १८, जनावरको आक्रमणबाट २८, डढेलो र हावाहुरीबाट सात जनाले ज्यान गुमाएका छन्।

यस अवधिमा दुई हजार ९० वटा विपद्का घटना भएका छन्। घटनामा कूल एक हजार दुई सय ८४ जना घाइते भएका छन्। कूल तीन हजार चार सय ४३ घर परिवार प्रभावित भएका छन् भने एक अर्बभन्दा बढीको क्षति भएको छ।

यस्तै केही दिनअघिकाे अविरल वर्षाका कारण मात्रै एक सय ११ जनाले ज्यान गुमाएका छन् भने ३५ जना बेपत्ता रहेका छन्। 

कात्तिक ६, २०७८ शनिबार १९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।