भैरहवा ल्याई नगर परिक्रमा गराइयो दुई अर्बमा बनेको बुद्ध मूर्तिलाई

भैरहवा ल्याई नगर परिक्रमा गराइयो दुई अर्बमा बनेको बुद्ध मूर्तिलाई

बुटवलः म्यान्मारमा निर्माण गरिएको बुद्धमूर्ति भैरहवा आइपुगेको छ। हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा ल्याइएको मूर्तिको आज भैरहवामा स्वागत गरिएको छ।

यहाँका विभिन्न संस्थाहरूको पहलमा मूर्तिलाई भैरहवाबाट लुम्बिनीसम्म परिक्रमा गराइएको थियो।

मूर्ति करिब २ अर्ब ५० करोड रुपैयाँ लागतमा तयार भएको हो। मूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले तयार पारी स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई दिएको थियो। फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापनाका लागि नेपाल सरकारलाई मूर्ति प्रदान गरेकाे हाे।

आज मूर्तिको झाँकीसहित विशेष स्वागत गरिएको थियो। लुम्बिनीस्थित म्यान्मार बिहारका भिक्षुहरूले मूर्तिको विशेष पुजा गरेका थिए।

भैरहवास्थित भन्सार परिसरमा विशेष पुजा गरी त्यहाँबाट भैरहवा बुद्धचोकसम्म बाजागाजा, झाँकीसहित मूर्तिलाई बजार परिक्रमा गराइएको थियो।

त्यसपछि लुम्बिनीस्थित पाँच नम्बर गेट अगाडि राखेर लामा तथा भिक्षुले विशेष पुजा गरेका थिए। त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकले पनि फूलमाला चढाएर स्वागत गरेका थिए।

यसअघि भैरहवा क्षेत्रका ठाउँ ठाउँमा स्थानीयले फूलमालाले मूर्तिको स्वागत गरेका थिए।

लुम्बिनी गार्डेन फाउण्डेसन, नेपालका सचिव तुलसीराम लामिछानेले बुद्ध मूर्ति बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको बताए। करिब ६ महिना लगाएर म्यान्मारका भिक्षुहरूले मूर्ति कुँदेका थिए।

यही कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्ध विमानस्थलमा मूर्तिको अनावरण गर्ने कार्यक्रम तय गरिएको छ।

कात्तिक ६, २०७८ शनिबार १८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।