बझाङ पहिरो: बेपत्ता थप एक जनाको आधा शरीर भेटियो

बझाङ पहिरो: बेपत्ता थप एक जनाको आधा शरीर भेटियो

धनगढीः बझाङको थलारा गाउँपालिकामा पहिरोमा परी बेपत्ता २३ जनामध्ये ४ जनाको शव फेला परेको छ। शनिबार एक जनाको आधा शरीर फेला परेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए।

उनको सनाखत भने हुन सकेको छैन। बिहीबार आयुष पार्की, विकास सार्की र सीता सार्कीको शव फेला परेको थियो। 

अन्य बेपत्ताहरूको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। ‘घटना भएलगत्तै हामी उद्धार र खोजी कार्यमा छौं, ४ जनाको शव भेटिएको छ,अन्यको खोजी गरिरहेका छाैं’, उनले भने।

बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले कार्तिक ३ गतेदेखि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीले खोजतलास,उद्धार र राहतको काम गरिरहेको बताएका छन्।

पहिरोमा परी गगने सार्कीको एकै घरका १८ जना र नरे पार्कीको परिवारका ५ जना बेपत्ता भएका थिए। थलारामा करिब एक सय ७८ परिवारको बसोबास रहेको छ।

कात्तिक ६, २०७८ शनिबार १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।