माओवादी सांसदको रेडियोलाई ६५ लाख, पत्रकार महासंघ प्रदेश अध्यक्षको पत्रिकालाई २० लाख

माओवादी सांसदको रेडियोलाई ६५ लाख, पत्रकार महासंघ प्रदेश अध्यक्षको पत्रिकालाई २० लाख

बुटवलः लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सहयोगको नाममा निजी पत्रिका र रेडियोलाई मनलाग्दी बजेट छुट्याएका छन्। उनले आफ्नो पार्टीको सांसदको रेडियोलाई ६५ लाख बजेट छुट्याएका छन्। निजी पत्रिकालाई २० लाख दिएका छन्।

रोल्पाको जलजला रेडियोका सञ्चालक समितिका अध्यक्ष हुन्- माओवादी केन्द्रका प्रदेश सांसद दिपेन्द्र पुन। उनले आफ्नै रेडियोलाई दुई शीर्षकमा ६५ लाख बजेट विनियोजन गराएका छन्। 

भवन निर्माणका लागि ३५ लाख, एफएमको ट्रान्समिटर बनाउनका लागि २० लाख र मेसिनरी औजार सहयोग नाममा १० लाख गरी कूल ६५ लाख रुपैयाँ एउटै रेडियोलाई छुट्याइएको हो।

शंकर पोखरेल नेतृत्त्वको सरकारले अध्यादेशबाट ल्याएको बजेटमा सांसद विकास कोषलाई घुमाउरो बजेटमा छिराएका थिए। तर यसपटक भने योजना माग गरी सांसदलाई रकम दिइएको स्रोतले बतायो। निर्वाचनमा आफूलाई आवश्यक पर्ने मिडिया परिचालनका लागि सांसदकै रोजाइमा कतिपय सञ्चार संस्थालाई बजेट पारिएको छ।

प्रदेश पत्रकार महासंघका अध्यक्ष वसन्त गिरी नै कल्याणकारी कोष काटेर बजेट आफ्नो मिडियामा ल्याउन सक्रिय भएका छन्। उनी प्रधान सम्पादक रहेको कपिलवस्तुको 'बुद्ध दर्पण' पत्रिकालाई २० लाख बजेट विनियोजन गरिएको छ। 

यो गिरीको निजी कम्पनी हो। यो पत्रिकाको भवन निर्माणका लागि सरकारले २० लाख बजेट दिएको हो। पत्रकारहरूको साझा संस्था कपिलवस्तु पत्रकार महासंघको भवन निर्माणका लागि भने जम्मा ५ लाख बजेट विनियोजन भएको छ।

पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले कल्याणकारी कोषको रकम काटेर निजी मिडियालाई बजेट बाँढ्नु गलत भएको बताए। ‘यो सरासर गलत हो, पत्रकार महासंघ प्रदेश समिति यसको खिलाफमा उभिन्छ', उनले भने, ‘व्यक्ति र निजी संस्थालाई बजेट दिने काम नै गलत छ। यो आपत्तिजनक कुरा हो।’ 

उनले सरकारलाई बजेट सच्याउन समेत सुझाव दिए।

यता प्रदेश सरकारले ल्याएको बजेटमा मुख्यमन्त्रीका प्रेस संयोजक मानसिङ विश्वकर्माले २० लाख हात पारेका छन्। उनको 'रोल्पा समाचार' पत्रिका र अफसेट प्रेसलाई सरकारले बजेट दिएको हो। 

जनताको करबाट संकलन भएको बजेटलाई सरकारले सोझै कार्यकर्तालाई बाँढेपछि त्यसको कडा आलोचना हुँदै आएको छ।

कात्तिक ६, २०७८ शनिबार १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।