बम बिस्फोट हुँदा दुई जना घाइते

बम बिस्फोट हुँदा दुई जना घाइते

सुर्खेतः जंगलमा बेवारिसे अवस्थामा फालिएको बिस्फोटक पदार्थ पड्किँदा दुई जना घाइते भएका छन्। वीरेन्द्रनगर–७ कटकुवा सामुदायिक वनमा रहेको बिस्फोटक पदार्थ पड्किँदा दुई जना घाइते भएका हुन्। 

बम बिस्फोट हुँदा दैलेखको गुराँस गाउँपालिका वडा–६ का २१ वर्षीय लीला नेपाली र १४ वर्षीय नरेश परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीले जानकारी दिए। प्रवक्ता घर्तीका अनुसार उनीहरू घाँस दाउरा गर्न गएको समयमा बिस्फोट भएको हो।

घाइतेहरूको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको उनले बताए। बिहान करिब १०ः४५ मा बम बिस्फोट भएकोले घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयका एक प्रहरीका अनुसार घटनास्थलमा सडक विभागले सडक बनाउँदा बिस्फाेटक पदार्थ प्रयोग गरेको केही प्रमाणहरू फेला परेकाे छ। घटनास्थल नजिकै सेनाको गण र फायरिङ इलाका समेत रहेकाे छ।

बिस्फोटक पदार्थ के हो भन्ने विषयमा सेनाले समेत चासाे देखाएकाे स्राेतकाे भनाइ छ। हरेक शनिबार वन खुल्ने भएकोले स्थानीय नागरिकहरू कटकुवा जंगलमा घाँस दाउरा गर्न जान्छन्।

कात्तिक ६, २०७८ शनिबार १५:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।