एकीकृत समाजवादी कर्णाली प्रदेशको अध्यक्षमा अम्मर बहादुर थापा
सुर्खेत : नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश अध्यक्षको जिम्मा अम्मर बहादुर थापाले पाएका छन्। पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले थापालाई कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।
कर्णाली प्रदेश अध्यक्ष थापा मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री छन्।
अध्यक्ष थापाले नेकपा समाजवादीलाई कर्णालीमा बलियो बनाउन भूमिका खेल्ने बताए। ‘पार्टीको केन्द्रीय समितिले मलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको छ। यसलाई इमानदारितापूर्वक पार्टी सङ्गठनलाई बलियो बनाउनेमा म सदैव लागिरहने छु,’अध्यक्ष थापाले भने, ‘नेकपा समाजवादीलाई कर्णालीमा बलियो बनाउन सबै नेता कार्यकर्तासँग समन्वय सहकार्य गरेर अगाडि बढ्नेछु।’
दैलेखबाट प्रदेश सभा सदस्यमा निर्वाचित थापाले गएको वैशाखमा पार्टीको ह्विप उलङ्घन गर्दै फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि उनीसहित फ्लोर क्रस गरेका चार जना सांसदको पद गएको छ। उनीहरू चारै जना नेकपा समाजवादी पार्टीमा लागेका छन्। उनको मन्त्री पद भने कात्तिक १५ गते सकिँदै छ।
कात्तिक ६, २०७८ शनिबार १३:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।