बेमौसमी वर्षातले सुर्खेतमा ३६ करोड रुपैयाँको धान नोक्सान 

बेमौसमी वर्षातले सुर्खेतमा ३६ करोड रुपैयाँको धान नोक्सान 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार सुर्खेतमा बेमौसमी वर्षातबाट ३६ करोड २८ लाख १६ हजार बराबरको धानबालीमा क्षति पुगेको हो।

वर्षभरि खान लगाइएको धान खेती चार दिनमै सखाप भएपछि सुर्खेतका किसान चिन्तित भएका छन्। 

जिल्लामा गरिएको खेतीमध्ये एक हजार ३७ जनाले लगाएको तीन हजार ९९ बिगाहा पाँच कट्ठाको धानमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।

उनकाअनुसार एक लाख ८५ हजार २७९ बोरा काटेको धान नष्ट भएको छ। किसानले काटेको धान वर्षातले खेतमै उम्रिएको र काट्ने तयारी अवस्थामा रहेको धान ढल्दा कुहिएको प्रहरी तथ्याङ्कमा समावेश छ। ‘प्रहरीको जिल्लाभर रहेको युनिटले तथ्याङ्क सङ्कलन गरेर जिल्ला प्रशासन कार्यालयमा विवरण पठाएका छन्,’ प्रवक्ता घर्तीले भने, ‘वर्षातले सबैभन्दा धेरै क्षति वीरेन्द्रनगर लाटीकोईली, सुब्बाकुना र मालारानी क्षेत्रमा पुगेको छ।’

वीरेन्द्रनगरको सुब्बाकुना क्षेत्रमा ३२५ बिगाहा जमिनमा ६८० जना किसानले लगाएको धान नोक्सान भएको छ। यो क्षेत्रमा तीन करोड १२ लाख बराबर अर्थात् एक लाख ९५ बोरा धान नष्ट भएको छ।

यस्तै लाटीकोइली क्षेत्रमा ३१६ किसानले एक हजार १६ बिगाहा जमिनमा लगाएको धानमा क्षति पुगेको छ। पूर्वी सुर्खेतको मालारानी क्षेत्रका २११ जना किसानले एक हजार ६६६ बिगाहामा लगाएको ९९ हजार ९९० बोरा धान वर्षातले क्षति पुगेको छ। यहाँ झन्डै एक करोड १९ लाख ९८ हजार मूल्य बराबरको क्षति भएको छ। जिल्लाको छिन्चु, बावियाचौर, लेकवेशी, राकम, बाँगेसिमल क्षेत्रमा पनि धान खेती नष्ट भएको छ।

यस्तै वीरेन्द्रनगर नगरपालिकाले नगर भित्रका किसानले लगाएको धानबालीको यकिन तथ्याङ्क पुनः सङ्कलन गरिरहेको नगरप्रमुख देवकुमार सुवेदीले बताए।

कात्तिक ५, २०७८ शुक्रबार २०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।