एमालेमा १० बुँदेको रडाको
अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे कार्यान्वयन नगर्ने र औचित्य नरहेको कुरा गरेपछि संयोजकबाट राजीनामा दिएको रावलले बताए।
१० बुँदे कार्यान्वयन गर्ने विषय विपरीत ओलीले कुरा गरेपछि आफूले राजीनामा दिएको रावलले बताए।
पार्टीको अन्तर्विरोध हल गर्न एमालेका दुई पक्षबीच गत असार २७ गते भएको सहमति कार्यान्वयनका लागि रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन भएको थियो।
रावलले आफ्नै हकमा समेत सहमति कार्यान्वयन गराउन नसकेपछि संयोजकबाट राजीनामा दिएका हुन्। दश बुँदेमा पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने उल्लेख छ।
त्यसअनुसार उनी सुदूरपश्चिम प्रदेशको इन्चार्ज हुनुपर्ने भए पनि लेखराज भट्टलाई अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी दिएका छन्।
शुक्रबारको स्थायी कमिटी बैठकमा रावलले राजीनामा दिने घोषणा गरेका हुन्। बैठकपछि उनले भने, ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि कार्यदलमा बसिरहनुको कुनै औचित्य छैन। मैले राजीनामा दिएको छु।’
अध्यक्ष ओलीले बुधबार मात्रै अब दश बुँदेको औचित्य सकिएको बताएका थिए। त्यसलाई गीतको संज्ञा दिँदै उनले त्यो बजाइरहन आवश्यक नभएको टिप्पणी गरेका थिए।
अन्तिम समयमा माधव नेपाललाई छाडेर ओलीतिर लागेका नेताहरूले बिहीबार र शुक्रबारको बैठकमा आपत्ति जनाएका छन्। प्रवक्ता प्रदीप ज्ञवालीले भने आउँदो केन्द्रीय कमिटीको बैठक अघिसम्म दश बुँदे कार्यान्वयन भइसक्ने दाबी गरे।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने
एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन(इबिएम) प्रयोग गर्ने भएको छ। शुक्रबार बसेको स्थायी कमिटी बैठकले आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा मतदानका लागि विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
त्यस्तै एमालेले गत चैत मसान्तसम्म पार्टीको सदस्य भएका व्यक्तिहरूले महाधिवेशन प्रतिनिधि छनोटमा भाग लिन पाउने निर्णय पनि गरेको छ।
कति सङ्गठित सदस्य बराबर एक महाधिवेशन प्रतिनिधि हुने भन्नेबारे एमालेले निर्णय गरेको छैन।
बैठकले महाधिवेशन आयोजक कमिटीको सहसंयोजकमा सुरेन्द्र पाण्डेलाई नियुक्त गरेका छ। त्यस्तै सचिवको जिम्मेवारी विष्णु रिमाललाई दिइएको ज्ञवालीले जानकारी दिए।
उनका अनुसार आउँदो केन्द्रीय कमिटी बैठकसम्म दश बुँदे कार्यान्वयन गरिसक्ने निर्णय पनि भएको छ। एमालेले महाधिवेशनबारे थप छलफल र निर्णय लिन यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको ज्ञवालीले जानकारी दिए।
कात्तिक ५, २०७८ शुक्रबार १९:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।